arrow

'महिला प्रधानमन्त्री बन्न किन नसक्नु ?'

पुष्पा भुषालको प्रश्न : नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ?

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
padma_aryal.JPG

काठमाडौं। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्यमा अर्यालले नेपालका महिलाहरु देशको नेतृत्व गर्न सक्षम रहेकोले प्रधानमन्त्री बन्नपनि धेरै महिला योग्य र सक्षम रहेको स्पष्ट पारेकी छिन् ।  ११०औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

विश्वव्यापी महिला आन्दोलनको प्रभाव नेपालमा पनि परेको दिनदेखि आजसम्म नेपालमा पनि थुप्रै महिला अधिकारी प्राप्ति र अधिकारको लागि संघर्ष तथा आन्दोलन भएका ईतिहास सुनाउँदै उनले प्राप्त अधिकारको रक्षा गर्दै र पाएको अवसरलाई सही सदुपयोग गर्दै अघि बढ्नुपर्ने आजको आवश्यकत्ता सुनाईन् ।

उनले महिला आन्दोलन र संघर्षका कारण अहिले महिलाले संविधानमा अवसर पारेकोपनि स्पष्ट पारिन् । उनले भने,‘हिजोको दिनमा भएका महिला आन्दोलन र संघर्ष अधिकार प्राप्तिको लागि मात्रै थिएनन् । त्यही बलमा शासन व्यवस्था परिवर्तनमा समेत महिला आन्दोलनले अहम भूमिका खेलेको छ ।’ बहुदल आउनुभन्दा अघि नेपालमा महिला आन्दोलन र अधिकार प्राप्तिको लडाई बेग्लाबेग्लै रुपमा भएपनि बहुदल आएपछि भने उक्त आन्दोलनले एकरुपता पाएको उनले सुनाईन् ।

उनले विगतको ईतिहासलाई सम्मान गर्दै आगामी दिनमा फरक ढंगले अघि बढ्नुपर्ने धारणा राखिन् । ‘संविधानमै ३३ प्रतिशत महिलाहरुको हरेक निकायमा सुनिश्चितताको व्यवस्था भैसकेको छ’–उनले भनिन्,‘समानताको ढोका खोलिएको छ ।’ हरेक क्षेत्रमा रहेका महिलाहरुले आफ्नो वृद्धिविकास  र क्षमताको विकास भएको कुरा व्यवहारमै सावित भैसकेको पनि उनको दाबी छ । उनले भनिन्,‘जो जो महिलाहरुले अहिलेम्म महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएको छ, उहाँहरुले बढो कुशलतापूर्वक निर्वाह गर्नुभएको छ । अब महिलाहरुलाई आर्थिक उत्पादनसँग जोड्नुपर्छ ।’

उनले महिलाहरुमा आर्थिक परनिर्भरता रहुञ्जेलसम्म उत्पीडन यथावत रहने तर्क गरिन् । उनले थपिन्,‘अब आम महिलाहरुलाई आर्थिक उत्पादनसँग जोड्नुपर्छ । त्यहीअनुसारको सीप प्रदान गर्नुपर्छ । यसो गर्न सकियो भने महिलाहरु स्वतन्त्र र सवल हुनसक्छन् ।’ सन् २०३० सम्म महिलाहरुलाई समान अधिकारको सुनिश्चित्ता गर्ने कुरा योजना आयोगको १५औं योजनामा समेत राखिसकिएको उनले बताईन् । मन्त्री अर्यालले सरकार महिलाहरुको उत्थानको लागि सकारात्मक कदम चालेको पनि सुनाईन् । अहिलेको समाज र राज्य महिलामत्रै भएको पनि उनको दाबी छ ।

मन्त्री अर्यालले महिलाले प्राप्त अवसरलाई चम्नुपर्ने बताउँदै हरेक परीक्षामा पास हुनुपर्ने बताईनु । उनले भनिन्,‘महिलामा प्रतिष्पर्धी षमता अभिवृद्धि भैरहेको छ । राष्ट्रि निर्माणको दायित्व पूरा गर्ने सवालमा पनि महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरेको कुरा जगजाहेर छ ।’ राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला भैसकेको र उनीहरुले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरिसकेकोले महिला सक्षमताको पुष्टि भएको उनको भनाई छ । उनले भनिन्,‘आजसम्म जो जो महिला महत्वपूर्ण जिम्मेवारीमा पुग्नुभयो, कसैमाथि पन िकाम गर्न नसकेको भनेर प्रश्न उठेको छैन् । बरु, कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह भएको भनेर चर्चा तथा परिचर्चा भएका छन् ।’

त्यतिमात्रै नभएर देशको हरेक निकायमा जो जो महत्वपूर्ण पदमा पुगेका महिलाहरु छन्, उनीहरुले कुशलतापूर्वक आफ्नो भूमिका निर्वाह गरेकोपनि उनले दाबी गरिन् । देशको नेतृत्व लिनेगरि महिला प्रधानमन्त्री बन्ने कुरा पनि सम्भव रहेको उनले सुनाईन् । उनले भनिन्,‘किन नसक्नु ? कांग्रेस सचेतक पुष्पाजी यहीँ हुनुहुन्छ, उहाँपनि योग्य हुनुहुन्छ ? परिस्थिति बन्दा र महिलामाथि विश्वास प्रकट हुँदा महिला प्रधानमन्त्री बन्नसक्ने कुरा स्वभाविक हो ।’

उनले अहिलेसम्म जुन जुन मोर्चा र जिम्मेवारीमा भएपनि महिला अधिकार र महिलाको मुद्दामा सबैबीच एकरुपता र कोहीबीचपनि विमति नरहेको स्पष्ट पारिन् । उनले भनिन्,‘एकताबद्ध भएर अघि बढ्दा नै अधिकार प्राप्त भएका हुन् । अब पनि एकताबद्ध भएर अघि बढ्नु्पर्छ । यसमै हाम्रो जित छ ।’

कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी संसदीय दलकी सचेतक पुष्पा भुषालले महिलामाथि हुने विभेदको अन्त्य गर्न समाज रुपान्तरण गर्न आवश्यक रहेको औंल्याईन् । उनले महिलापनि यो देशको प्रधानमन्त्री बन्न योग्य रहेको स्पष्ट पारिन् । आफूहरुले ठूलो संघर्ष र आन्दोलनबाट अहिलेको अधिकार र अवसर प्राप्त गरेको सुनाउँदै अझैपनि संघर्षको यात्रामा विश्राम नलागेको उनको भनाई छ । भुषालले भनिन्,‘हामीले सडक र सदनमा संघर्ष गरेका छौं । हिजोको परम्परागत भूमिकासँगै अब आधुनिक भूमिका निर्वाह गर्नुपर्छ । हामीले राजनीतिक अधिकार नयाँ पुस्तालाई हस्तान्तरण गर्नुपर्छ ।’

उनले संविधानमै लेखेको महिला अधिकारको कुरा पालना गर्ने सवालमा सरकार किन उदासिन भएको भन्दै प्रश्न गरिन् । उनले भनिन्,‘उपसभामुख पनि पुरुष हुनुपर्छ भनेर संविधानमा व्यवस्था गरेको भए अहिले यो पद खाली नै हुँदैनथियो । तर, महिला हुनुपर्ने व्यवस्था गरेकोले अहिलेसम्म विलम्ब भएको छ । पुरुष नभएर महिला हुनुपर्ने व्यवस्था भएको कारण उपसभामुखको पदमुपुर्तीमा विलम्ब भएको हो । पुरुष हुने व्यवस्था भएको भए अहिलेसम्म उपसभामुख पदासिन भैसक्नुहुन्थ्यो ।’

उनले महिलाहरुको लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसो गरिए महिलाहरुले आरामदायी मत हाँसिल गर्नसक्नेपनि तर्क गरिन् । उनले संघीय संसदमा पनि कुनैपनि पुरुष सांसदभन्दा महिला सांसदहरुको भूमिका कम नभएको जिकिर गरिन् । उनले समानुपातिक सांसदहरुको लागि बजेटमै विभेद गरिएको पनि गुनासो पोखिन् । उनले महिलाहरु पनि चुनाव जितेर आएको सुनाउँदै भोलिका दिनमा पनि चुनाव जित्न सक्षम रहेको बताईन् । तर, नेपालको निर्वाचन प्रणाली महिलामैत्री छ त ? भनेर पनि उनले प्रश्न तेसाईन् । महिलाहरुको लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था गरिए आफूहरुले प्रत्यक्ष निर्वाचनमा भाग लिनेपनि उनले स्पष्ट पारिन् ।

उनले नेपालमा महिलाहरु पनि प्रधानमन्त्री बन्न योग्य रहेको सुनाईन् । उनले भनिन्,‘प्रधानमन्त्री हुनको लागि हामीसँग योग्यता, क्षमता छ । हामीले उत्साहपूर्ण भूमिका निर्वाह गरिरहेका छौं ।’ उनले अहिले राज्यको हरेक निकायमा महिलाहरुको ३३ प्रतिशत सहभागिता संविधानमै सुनिश्चितता भएको उल्लेख गर्दै आगामी दिनमा पनि महिलाहरु एक भएर जानुपर्नेमा जोड दिईन् ।

त्यस्तै, उनले धेरै कानून तथा ऐन बन्दापनि महिला हिंसा र अपराधका घट्ना नघटेकोमा दुःख व्यक्त गर्दै आगामी दिनमा सरकारले कानून कार्यान्वयनमा ध्यान दिनुपर्ने बताईन् । उनले भनिन्,‘राज्यले अपराधीलाई फाष्ट ट्रयाकबाट सजाय दिनुपर्छ । यस्तो गर्न सकियो भनेमात्रै अपराधका घट्ना घट्छन् । अहिलेपनि महिलाहरुमाथि शारिरिक तथा मानसिक यातनाका घट्ना बढेकोमा उनको चिन्ता छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा राष्ट्रिय सभा सदस्य कोमल वलीले महिलाहरुले आफ्नो अधिकारलाई अनुभुत गर्नुपर्नेमा जोड दिईन् । उनले भनिन्,‘त्यही भएर संयुक्त राष्ट्रसंघले पनि महिला अधिकारलाई अनुभुत गर्नसक्ने पुस्ता भनेर नारा दिएको छ । नेपालमा मात्रै होईन, विश्वव्यापी रुपमा पनि यही कुरा लागु हुने हो ।’ उनले महिलालाई अधिकार दिईए कहीँ कतैपनि पछि पर्दैनन् भन्ने कुरा पुष्टि भैसकेको पनि बताईन् । उनले भनिन्,‘नेपालको हकमा त यो कुरा प्रमाणित भैसकेको छ । त्रिुभवन विश्वविद्यालयका हरेक संकायमा बहुसंख्यक महिलाले टप गरिरहेका छन् । वर्षेनि दशौं हजार दिक्षित भएका छन् । तर, अवसर लिने ठाउँमा उनीहरु त्यति देखिँदैनन् ।’ उनले समानताको हक र अधिकारमात्रै नभएर अवसर पनि प्राप्त गर्न महिला अग्रसर हुनुपर्ने पनि बताईन् ।

कानूनमा बनेका कुराहरु व्यवहारमा लागु हुनुपर्ने पनि उनको भनाई छ । उनले भनिन्,‘हामीले आफूलाई पुरुषसँग दाज्नुहुँदैन् । यो पुरुष पछार्ने कुरा पन िहोईन् । हामीले आफूले आफैंलाई जित्नुपर्छ । नारीसँग त कसैको तुलना नै हुँदैन् । नारी यो धर्तीको सुन्दर सृष्टिकर्ता हो । जो अरुले गर्न सक्दैन् । नारी तुलनात्मक रुपमा पनि शक्तिशाली हो ।’उनले अवसर पाउने महिलाहरुले अरुको लागि काम गर्नुपर्ने बताउँदै आफ्नो भूमिकाको बारेमा पनि समिक्षा गर्नुपर्ने बताईन् । उनले भनिन्,‘त्यो अहम भूमिका हो । हामी जो जसले भूमिका र अवसर पाएका छौं । सबैले ईमानदारीपूवर्क काम गर्नुपर्छ । महिलाहरुको लागि महत्वपूर्ण अवसर सिर्जना गर्नुपर्छ । उनीहरुको लागि प्लेटफर्म बनाउनुपर्छ ।’उनले केन्द्रदेखि स्थानीय तहसम्म र विभिन्न सामाजिक संघ तथा संस्थाहरुमापनि महिलाहरुको प्रतिनिधित्व र सहभागिता गराउनुपर्नेमा जोड दिईन। ‘महिलालाई अधिकार दिनुपर्छ । वर्तमान सरकार यो कुरामा गम्भिर छ ।’–उनले भनिन् ।

त्यस्तै प्रायः अवसर लिने कुरामा काठमाडौं केन्द्रित महिलाहरुलाई मात्रै नभएर काठमाडौं बाहिरकालाई पनि अवसर दिनुपर्ने उनको भनाई छ । उनले भनिन्,‘काठमाडौंबाहिर बस्ने महिलाहरु उहाँहरु पनि विद्धान हुनुहुन्छ । प्राज्ञिक काममा लाग्नुभएको छ । उहाँहरुलाई अवसर दिनुपर्छ । काठमाडौंकेन्द्रितलाई अधिकार र अवसर दिने प्रथाको अन्त्य गर्नुपर्छ ।’उनले नेपालको संघीय संसदको संरचना र महिला सहभागिताको विषय उल्लेख गर्दै दक्षिण एशियामै नेपाल पहिलो स्थानमा र विश्वमा ४८औं स्थानमा रहेको दाबी गरिन् । नेपालको सामाजिक, सांस्कृतिक परम्परापनि नारीलाई सम्मान गर्ने खालको भएको सुनाउँदै आफ्नो पार्टीमा महिला सांसद तथा नेतृहरुलाई अत्यन्तै आदर गर्ने गरिएको दृष्टान्त पनि सांसद वलीले सुनाईन् ।

संसदमा पनि महिला सांसदहरुले आफ्नो कुरा स्पष्टसँग राख्ने गरेको सुनाउँदै त्यो महिला सांसदहरुले डिजर्भ गर्ने कुरा भएको उनको भनाई छ । उनले भनिन्,‘पुष्पा भुसाालले संसदमा टु दि पोईन्ट आफ्नो कुरा राख्नुहुन्छ । मलाई लाग्छ, उहाँले बोल्नको लागि समय माग्नुपर्छजस्तो मलाई लाग्दैन् । स्वतः बोल्नको लागि डिर्जभ गर्नुहुन्छ ।’ नेपालका महिलाहरु उत्पादनको क्षेत्रमा कम तर सेवाको क्षेत्रमा अलिक बढि सहभागिता रहेको पनि उनले सुनाईन् । त्यस्तै, उनले महिला आयोगको पदाधिकारीमा पनि महिला नै नियुक्ती गरिने पनि सुनाईन् ।

कार्यक्रममा राजपा नेपालकी महामन्त्री चन्दा चौधरीले आफूहरुले थुप्रै आन्दोलन र संघर्ष गरेर अहिलेको अधिकार प्राप्त गरेको स्पष्ट पारिन् । ‘३३ प्रतिशत अधिकार पनि त्यतिकै दिईएको होईन, हामीले लडेर ल्याएका हौं’–उनले भनिन् । उनले पत्रकार ऋषि धमलाले अब यो देशको महिला प्रधानमन्त्री कहिले बन्नुहुन्छ ? भनेर आफुहरुलाई सोधेको प्रश्नमा जवाफ दिँदै भनिन्,‘ऋषिजीले सायद, यो प्रश्न जो निर्णायक तहमा बस्नुभएको छ, ती नेताहरुलाई सोध्नुभएको भए राम्रो हुनेथियो ।’

चौधरीले नेपालका महिलाहरु पनि प्रधानमन्त्री बन्न योग्य र सक्षम रहेको सुनाईन् । उनले महिलाहरुले पनि आफ्नो दायरालाई फराकिलो बनाउनुपर्नेमा जोड दिईन् । आफू महिला मुक्ति र अधिकारको लागि विगत १६ वर्षदेखि राष्ट्रिय राजनीतिमा सक्रिय भएयको पनि उनले सुनाईन् । उनले भनिन्,‘पहिले र अहिलेको अवस्थामा धेरै फरक छ । महिलाहरु अहिले जागरुक भएका छन् । आफ्नो हकअधिकारकोलागि आफैं लड्न सक्ने भएका छन् । अहिले तराई मधेशमा हेर्नुहोस महिलाहरु स्कुटर चलाएर सक्रिय रुपमा सामाजिक तथा राष्ट्रिय अभियानमा नेतृत्वदायी भूमिका निर्र्वाह गर्दै हिँडिरहेका छन् ।’

उनले परिवर्तन हुनुमात्रै ठूलो कुरा नभएको सुनाउँदै महिलाहरुले अझै अवसर नपाएको पनि गुनासो पोखिन् । नेपालको सामाजिक बनोट नै पितृसत्तात्मक रहेको सुनाउँदै सांसदहरुलाई विकास बजेट दिने कुरामापनि विभेद गरिएको चौधरीको गुनासो छ । उनले महिलाको अधिकार र अवसरको लागि सबै पार्टीका महिलाहरु एक हुनुपर्ने र पार्टीको ह्विपभन्दापनि माथि उठ्नुपर्नेमा जोड दिईन् । उनले अधिकारको कुरा ठूलो ठूलो गरेपनि व्यवहारमा लागु हुनु नै ठूलो हुने पनि तर्क गरिन् । उनले आगामी बजेटमा सांसदहरुलाई सामान बजेट हुनुपर्छ र यसको लागि सबै पार्टीका महिलाहरुले संकल्प गर्नुपर्ने पनि सुझाव दिए ।

उनले नेपालको निर्वाचन प्रणाली नै महँगो रहेको सुनाउँदै चुनाव जित्न मनी र मसलको प्रयोग हुने गरेको दुःखद अवस्था चित्रण गरिन् । महिलाहरुको लागि विशेष निर्वाचन क्षेत्रको व्यवस्था गर्नुपर्ने पनि उनको माग छ । उनले भनिन्,‘कुनैपनि नेताले हामीलाई त्यतिकै आफ्नो मनले ३३ प्रतिशत अधिकार दिएको होईन् । हामीले लडेर ल्याएका हौं । महिलाहरुलाई अवसर दिने कुरामा पहिले पार्टीले आफ्नो मानसिकता परिवर्तन गर्नुपर्छ ।’

उनले महिलाहरु नेतृत्वमा आए भ्रष्टाचार नहुनेपनि जिकिर गरिन् । उनले भनिन्,‘नारीले जसरी घर सजाएर राख्छे, त्यसैगरि यो देशलाई पनि सजाएर राख्ने काम गर्छिन् । म दाबाका साथ भन्छु देशमा महिला नेतृत्व आए भ्रष्टाचार र अनियमितता हुँदैन् ।’ उनले सबै पार्टीका महिला नेतृ, सामाजिक अभियन्ता, कलाकार एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिईन् । बाल विवाह, दाईजोलगायतका सामाजिक कुरित र कुसंस्कारविरुद्ध अझै लड्नुपर्ने पनि उनले आवश्यकत्ता औंल्याईन् । उनले भनिन्,‘मैले त आफ्नै देवरको विवाह पनि बहिष्कार गरेको छु । दाईजोकै कारण मैले यो गरेको हुँ ।’ अहिलेपनि धेरै सांसदहरुको सम्पत्ति विवरणमा दाईजो भनेर उल्लेख गरिएको उनको भनाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ