काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो काठमाडौं उपत्यकामा आइसोलेटेड वर्षा हुनेछ ।
वरिष्ठ मौसमविद् शान्ति कँडेलले उपत्यकामा आइसोलेटेड (अलग प्रकार) को वर्षा हुने बताएकी हुन् । उनले भनिन् –क्षणिक बर्षा हुनेछ ।
उपत्यकामा बिहानको तापक्रम १३ डिग्री सेल्सियस रहेको छ भने दिउँसो १९ देखि २१ डिग्रीसम्म पुग्नेछ ।
हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ। हाल देशको केहि पश्चिमी भूभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ।
मंगलबार देशभर आंशिक बदली रहने छ। अपरान्हपछि पूर्वी तथा मध्य पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति पनि देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित वर्षाको संभावाना छ।
महाशाखाले पूर्वी तथा मध्य पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ ।