arrow

बाँस्कोटाको घर विस्फोटपछि भेटिएको पर्चामा के छ ?

प्रचण्डद्वारा कडा कारबाहीको माग, ‘विप्लव’ नेता देव गुरुङ पक्राउ

logo
प्रकाशित २०७६ फागुन २८ बुधबार
gokul-baskota-ghar3.jpg

काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ घुस मागेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिएका पूर्व संचारमन्त्री गोकुल बाँस्कोटाको घरमा विष्फोट गराएको आरोपमा देव गुरुङ पक्राउ परेका छन् । पक्राउ परेका गुरुङ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी भक्तपुरका जिल्ला सदस्य हुन् ।  

भक्तपुरको लोकन्थीलीस्थित मध्यपुरठिमी नगरपालिका–१ मनोहरामा रहेको बाँस्कोटाको निर्माणाधीन घरमा बुधबार बिहान विष्फोट भएको थियो ।  निर्माणाधीन घरमा विष्फोट हुँदा दक्षिण पूर्वपट्टीको गेटमा क्षति पुगेको छ भने थपिएका दुई तल्लामा शीशा नभएकाले खासै क्षति भएको छैन । बिहान ८ बजेको बम विष्फोट भएको भक्तपुर प्रहरी प्रवक्ता दीपक गिरीले हाम्राकुरालाई बताए । बाँस्कोटाको घरमा भएको बम विष्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको थियो।

साथै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरी क्षति पुर्‍याएको बताएका छन्। प्रचण्डले बुधबार जारी गरेको  प्रेस विज्ञप्तिमा भनिएको छ, ‘बाँस्कोटाको निजी निवासमा आतंककारी समूहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्‍याएको छ। म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु । घटनामा संलग्न अपराधीहरूलाई नियन्त्रणमा लिन र कडा कानुनी कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउँछु।’

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ घुस मागेको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको बालकोटस्थित घरमा बस्दै आएका छन् ।

घटनास्थलमा भेटिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चामा बाँस्कोटालाई किन कारबाही भनेर १० बुँदा लेखिएको छ।  इरातोखबर अनलाइनमा छापिएको पर्चाको विवरणमा यस्तो छ।

भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?

१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ