arrow

तस्वीर सच्याइएकोः बाँस्कोटाको घर अर्कै पर्‍यो

logo
रासस,
प्रकाशित २०७६ फागुन २८ बुधबार
banskota-home.jpg

(आज बिहानको बुलेटिनमा असावधानीवश पूर्वसूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट भएको सम्बन्धी तस्वीर गलत गएकामा श्री बाँस्कोटा र ग्राहकसँग क्षमा चाहन्छौँ । पूर्वमन्त्री बाँस्कोटाको क्षतिग्रस्त घरको तस्वीर यहाँ दिइएको छ ) रासस

 पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएको छ । मध्यपुरथिमि नगरपालिका–१ लोकन्थलीस्थित मनोहरा फाँटस्थित बाँस्कोटाको घरमा आज बिहान करीब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको हो ।

बम विस्फोटबाट पूर्वमन्त्री बाँस्कोटाको घरको पर्खाल र घरको सिसामा क्षति पुगेको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । बम विस्फोटबाट बा १९ च ४७८१ नम्बरको निजी भ्यानको सिसामा पनि क्षति पुगेको उनले जानकारी दिए । पूर्वमन्त्री बाँस्कोटाको घरसँगै रहेको कुबेर केसी र कपिल घिमिरेको घरमा सिसासमेत फुटेको छ । घटना कसले गरायो भन्नेबारेमा घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान गरिरहेको प्रनाउ कोइरालाले जानकारी दिए ।

बाँस्कोटाको घर क्षेत्रमा मङ्गलबार दिनभर प्रहरीले गस्ती गरेको तर आज भने बिहानैदेखि प्रहरीको गस्ती नभएको मौका पारेर बम विस्फोट गराइएको स्थानीयवासीको भनाइ छ । बम विस्फोट गराउने समूहबारे अहिलेसम्म केही खुल्न सकेको छैन । ठूलो आवाज निस्किएर बम विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

सेक्युरिटी प्रिन्टर प्रेस खरिदका लागि सरकारले प्रक्रिया अघि बढाइरहेका बेला तत्कालीन सञ्चारमन्त्री बाँस्कोटा स्वीस कम्पनीका एजेन्ट भनिने विजयप्रकाश मिश्रसँग रु ७० करोड कमिशन काण्डमा मुछिएपछि उनले राजीनामा दिएका थिए । पूर्वमन्त्री बाँस्कोटा मन्त्री भएदेखि नै भक्तपुरको बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निजी निवासमा बस्दै आएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ