प्रधानमन्त्रीलाई मिर्गौला दिएकी भाञ्जी फर्किइन् घर
उपचारका लागि विदेश लैजान नपर्ने
प्रकाशित २०७६ फागुन २८ बुधबार
518
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलाको प्रत्यारोपणका लागि मिर्गौला अङ्गदाता उनकी भाञ्जी समीक्षा सङ्ग्रौला स्वास्थ्यलाभ गरी बुधबार घर फर्किएकी छन् । सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिदै स्वास्थ्यबारे जानकारी लिएर उनी घर फर्किएकी थिइन् । उनको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा डा उत्तम कमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको आठौँ दिन उनको स्वास्थ्यमा सुधारको क्रम भने जारी छ । उनलाई केही दिनमा निवास फर्काइने त्रिवि शिक्षण अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीले बुधबार आफैँ आफ्नो दाह्री काटेको बताए । उनको स्वास्थ्यमा थप समस्या आएकाले उपचारका लागि विदेश लैजाने भनेर कतिपय सञ्चारमाध्यमले झुटो समाचार दिएको उल्लेख गरे ।
म्ऊलबार प्रधानमन्त्री ओलीका परिवारले केहि समय अस्पतालमै राख्न अनुरोध गरेको प्रधानमन्त्री ओलीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहले बताएकी थिइन् । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ । अस्पतालका बिशेषज्ञ डाक्टरहरुले उनको स्वास्थ्यमा क्रमिक सुधारका भइरहेको बताएका छन् । प्रधानमन्त्रीलाई नियमित हिँडडुल, व्यायाम र खानपान गरिरहेका छन् । केहि दिनपछि प्रधानमन्त्री निवास वा सचिवालयमा बसेर प्रधानमन्त्री ओलीले काम गर्न सक्नेछन् । सक्रिय रुपमा काम गर्न भने ६ महिनादेखि एक बर्षसम्म लाग्नेछ ।
यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । पाँच घण्टा लगाएर उनको शल्यक्रिया भएको थियो । दोस्रो पटक मृगौला प्रत्यारोपण गर्ने प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका नवौं नेपाली बिरामी हुन् । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा डा दिव्या सिंह शाह, डा महेश सिग्देल, डा.मकन्द काफले र डा रविन नेपाली लगायतको टोली सहभागी थियो ।