पाँचथर । पूर्व स्थानीय विकासमन्त्री तथा नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य पूर्ण कुमार शेर्माको बुधबार निधन भएको छ । ललितपुरको निदान अस्पताल पुल्चोकमा उपचारको क्रममा मन्त्री शेर्माको अपरान्ह चार बजे निधन भएको हो ।
दुईवटै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि शेर्मा उपचाररत थिए । २००० साल असोज १२ गते पाँचथरको मिल्लाजुङ गाउँपालिका २ सराङडाँडामा जन्मिएका शेर्मा २०६६ सालमा स्थानीय विकासमन्त्री भएका थिए । उनले नेपाली कांग्रेस पाँचथरको दुई पटक सभापति भएर पार्टीको नेतृत्व गरेका थिए ।
२०५७ सालमा भएको १० औँ र २०६१ सालमा भएको ११औँ अधिवेशनले शेर्मालाई सभापतिमा चुनेको थियो । यस्तै कांग्रेसको १० औँ र ११ औँ महाधिबेशनबाट शेर्मा दुई पटक केन्द्रीय सदस्यमा निर्वाचित समेत भईसकेका थिए ।
शेर्मा २०२१ सालमा निगाले गाउँ पञ्चायतको प्रधानपञ्चसमेत भएका थिए। दुई श्रीमतीमध्ये कान्छी जनिमाया मगरको साथमा उनी काठमाडौं बस्दै आएका थिए । उनका दुई छोरा र पाँच छोरी छन् ।