धुलिखेल। काठमाडौँ बाटपूर्व लागे बनेपा। र, नजिकै आइपुग्छ धुलिखेल। धुलिखेलबाट ४३ किलो मिटर दक्षिणतिर पर्छ नमोबुद्ध। जसलाई चैते गुम्बा भनेर समेत चिनिन्छ। किम्बदन्ती अनुसार आज भन्दा करिब ६ हजार वर्ष पहिले यहाँ सिंघत छेन्पो नाम गरेका राजाले राज्य गर्थे। उनका ३ भाई छोरा थिए । ति मध्ये कान्छा छोरा सुशील, दयालु र सहनशील स्वभावका थिए । कान्छा छोरा वन विहार जाँदा राज कुमारले भोकाएकी बघिनीलाई आफ्नो तीघ्राको मासु काटेर खुवाएको र पछि गएर उनी नै नमोबुद्ध बनेको कथन छ।
यो गुम्बा बुद्धले दर्शन गरेको ठाउँको रुपमा परिचित छ। दर्शन गर्दा गौतम बुद्धले, ‘ओम नमो बुद्धाय, ओम नमो धमाय ओम नमो संगाय’ भन्दै तीन पल्ट ढोगेका कारण यो गुम्बाको नाम नमोबुद्ध रहन गएको स्थानीय बज्र लामाले बताए।
उनका अनुसार यो गुम्बाको अर्को विशेषता–यहाँबाट स्वर्ग देख्न सकिने ! पूजा गर्ने तथा बत्ति बाल्ने मूल गुम्बामै एउटा ‘होल’ छ । जहाँबाट स्वर्ग देखिने विश्वासमा मान्छेहरु हेर्छन्। ब्रज लामाका अनुसार त्यहाँबाट चिहाउने सबैले स्वर्ग भने देख्न सक्दैनन् । सबै गुणले युक्त एवं सत्कर्म गर्नेहरुले स्वर्ग देख्छन्, भन्ने भनाई छ। पहिले तपस्या गरेका गुरु माहत्माहरुले यहाँबाट स्वर्ग देख्थे भन्छन्, लामा । गुम्बा बाघले खाएको हड्डी, बुद्धको अस्तु राखेर बनाइएको बताइन्छ।
गुम्बा पानीको तलाउमाथि बताइएपनि ताल भने देख्न सकिँदैन । पहिले–पहिले यो तालको पानी जंगलमा खस्थ्यो । र, दर्शन गर्न आउने मान्छेले पानी थापेर लैजाने गर्थे । लामाका अनुसार यो भन्दामाथि अर्को बत्ति बाल्ने गुम्बा पनि छ ।