जवरजस्ती करणी आरोपी सांसदसँग प्रहरी कार्यालयमा नेकपा नेतृको होली
प्रकाशित २०७६ फागुन २९ बिहिबार
366
Shares
कैलाली। जवरजस्ती करणी प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा नेकपाका सचेतक अक्कलबहादुर रावललाई प्रहरीले कार्यालयमै होली खेल्ने वातावरण मिलाइदिएपछि उनको होली खेलेको तस्विर सामाजिक सञ्जालमा छाएको छ।
जवरजस्ती करणी प्रयासको आरोपमा प्रहरी हिरासतमा रहेका रावलले जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरिक्षकको कार्यकक्षमा होली खेलेका हुन्। नेकपाकी महिला नेतृ गिता सोडारीले रावलसंग होली खेलेको तस्बिर फेसबुकमा रहेको छ। जुुन तस्विरमा सोडारीलाई टयाग गरिएको छ।
जवरजस्ती करणी आरोपीकहाँ नेकपाकी महिला नेतृ सोडारी हुल बाधेर होली खेल्न गएकोमा समेत धेरैले बिरोध गरेका छन्। पिडित महिलालाई न्याय दिलाउन पहल गर्नु भन्दा पिडक भनिएका व्यक्तिसँग होली खेलेर तस्विर सार्वजनिक गर्ने सोडारीको कार्यबाट नेकपाका महिला नेतृहरुको महिलाप्रतिकै संवेदनामाथी व्यंग्य भएको समेत टिप्पणी भएको छ।
रावलविरुद्ध धनगढी उपमहानगरपालिका वडा नम्वर ४ की २५ वर्षीय विवाहित महिलाले बलात्कारको प्रयास गरेको भन्दै उजुरी दिएकी थिइन्। महिलाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय कैलालीले जिल्ला अदालत कैलालीबाट फागुन १५ गते पक्राउका लागि अनुमती पाएपछि फागुन २१ गते पक्राउ गरेको थियो।
रावललाई जिल्ला अदालत कैलालीले शुरुमा चार दिन थुनामा राख्न अनुमति दिएको थियो भने दोस्रो पटक थप सात दिन थुनामा राख्न अनुमति दिएको छ।
रावलमाथि जवरजस्तीकरणी उद्योगमा मुद्धा दर्ता भएको छ। उक्त मुद्धामा आरोप पुष्टि भए ५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले बताएका छन्। उक्त मुद्धामा साढे तीन वर्षदेखि ५ वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ।