मिर्गौला प्रत्यारोपणपछि पत्नी राधिकाले भेटिन् पहिलो पटक
प्रकाशित २०७६ फागुन २९ बिहिबार
284
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपणको नवौँ दिन बिहिबार उनको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख छ । त्रिवि शिक्षण अस्पतालमा उनको प्रत्यारोपणपछि गरिने नियमित परीक्षणलाई निरन्तरता दिइएको छ ।
उनको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको र नियमित आहार लिइरहेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्गाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मिर्गौलादाता प्रधानमन्त्री ओलीकी भाञ्जी समीक्षा सङ्ग्रौला भने स्वास्थ्यलाभ गरी बुधबार घर फर्किसकेकी छन् । सङ्ग्रौलाले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे चासो दिदै स्वास्थ्यबारे जानकारी लिएर उनी घर फर्किएकी थिइन् । उनको प्रत्यारोपणको शल्यचिकित्सा टोलीमा प्रा डा उत्तम कमार शर्मा, प्रा डा प्रेम ज्ञवाली, प्रा डा अनन्त कुमार लगायतको टोलीको सहभागिता थियो ।
प्रधानमन्त्री ओलीलाई चिकित्सक र परिवारको परामर्शमा चाडै निवास फर्काइने तयारी छ । प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको छ । अस्पतालका बिशेषज्ञ डाक्टरहरुले उनको स्वास्थ्यमा क्रमिक सुधारका भइरहेको बताएका छन् । प्रधानमन्त्रीलाई नियमित हिँडडुल, व्यायाम र खानपान गरिरहेका छन् । केहि दिनपछि प्रधानमन्त्री निवास वा सचिवालयमा बसेर प्रधानमन्त्री ओलीले काम गर्न सक्नेछन् । सक्रिय रुपमा काम गर्न भने ६ महिनादेखि एक बर्षसम्म लाग्नेछ ।
मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले शुक्रबार उनलाई पहिलो पटक भेटेकी छन् । यसअघि बुधबार घर फर्किएकी भाञ्जी सङ्ग्रौलाले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् ।
यही फागुन २१ गते प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ को साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपण चिकित्सा टोलीमा प्रा डा दिव्या सिंह शाह, डा महेश सिग्देल, डा.मकन्द काफले र डा रविन नेपाली लगायतको टोली सहभागी थियो ।