पूर्व मन्त्री शेर्माको शोक प्रस्ताव पारित, यस्ता छन् निर्णय
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
687
Shares
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको आकस्मिक बैठकले पार्टीका पूर्वकेन्द्रीय सदस्य एवं पूर्वस्थानीय विकासमन्त्री पूर्णकुमार शेर्मा (लिम्वू)को निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकले स्व शेर्माका शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दै उनको सम्मानमा शुक्रबार, शनिबार र आइतबार पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
त्यसैगरी चैत २ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने र उनको स्वर्गारोहण भएको तेह्रौँ दिनमा केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिने भएको छ ।
शेर्मा (लिम्वू) को बुधबार ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । स्वर्गीय शेर्माले नेपालको लोकतान्त्रिक आन्दोलनहरु र नेपाली कांग्रेसको संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । स्वर्गीय शेर्मा नेपाली कांग्रेस पाँचथरका एक अग्रज, निष्ठावान नेता एवं एक सच्चा अभिभावक थिए ।
स्वर्गीय शेर्मा वि.सं. २०३६ को जनमत संग्रहमा बहुदल प्रचार प्रसार समिति पाँचथरको अध्यक्ष र भू.पू.सांसद गणेशप्रसाद रिजालको सभापतित्वमा रहेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको उपसभापति थिए। २०४८ अषाढ १२ गते राष्ट्रिय सभाको सांसद भएका स्वर्गीय शेर्मा २०५१ कात्र्तिक २९ गते भएको मध्यावधि निर्वाचनमा राष्ट्रिय सभा सांसद पदबाट राजीनामा गरी पाँचथर जिल्ला निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार, २०५५ मा पार्टीको केन्द्रीय समन्वय विभागको सदस्य, पार्टीको दशौँ (२०५७) र एघारौँ महाधिवेशन (२०६२) मा नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको सभापति थिए।
वि.सं. २०५८ आश्विन ९ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनित र पार्टीको एघारौँ महाधिवेशनपछि २०६२ कात्र्तिक १ गते नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा पुनः मनोनित भएका थिए ।
वि.सं. २०४२ को सत्याग्रहमा काठमाडौँमा पक्राउ परी झापा चन्द्रगढी जेलमा ६ महिना जेल जीवन बिताएका स्वर्गीय शेर्मा २०४६ मा प्रजातन्त्र वहालीका लागि भएको ऐतिहासिक आन्दोलन अघि र त्यसपछिका आन्दोलनका क्रममा पटकपटक प्रहरी हिरासत र जेल जीवन विताएका थिए । पाँचथरको साराङडाँडा—७ निगालेमा वि.सं. २००० असोज १२ गते जन्मिएका स्वर्गीय शेर्माको पत्नी, दुई छोरा र पाँच छोरी छन्।
शोक प्रस्ताव र निर्णयहरू
१. नेपाली कांग्रेसका नेता, पूर्व केन्द्रीय सदस्य, पूर्व सांसद एवं पूर्व स्थानीय विकास मन्त्री श्री पूर्णकुमार शेर्मा (लिम्वू) को २०७६ फागुन २८ गते ललितपुरको निदान अस्पतालमा उपचारका क्रममा निधन भएको छ । वि.सं. २००० असोज १२ गते जन्मनु भएका श्री शेर्माको असामयिक निधनले हामी स्तब्ध भएका छौँ । उहाँले पार्टीको विभिन्न तहको विभिन्न पदमा रही सक्रिय भूमिका निर्वाह गर्नुका साथै नेपाली कांग्रेसको संगठन विस्तार र नेपालको लोकतान्त्रिक आन्दोलनहरु तथा समुदायको उत्थान, सामाजिक सेवा र ग्रामिण विकासमा पु¥याउनु भएको योगदान पार्टी र देशको इतिहासमा सदा स्मरणीय रहिरहनेछ । नेता शेर्माको राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रतिको निष्ठा, अटल आस्था र समर्पणप्रति नेपाली कांग्रेस उच्च सम्मान प्रकट गर्दछ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यो आकस्मिक बैठक स्वर्गीय शेर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछ । साथै, उहाँका शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।
२. पूर्व केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शेर्माप्रति सम्मान प्रकट गर्दै शोकका देहाय बमोजिमका कार्यक्रमहरु निर्धारण गरिएको छ—
(क) २०७६ फागुन ३०, चैत्र १ र २ गते तीनदिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालहरुमा पार्टीको झण्डा आधा झुकाउने ।
(ख) २०७६ चैत्र २ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने ।
(ग) उहाँको स्वर्गारोहणको १३ औं दिन केन्द्र र सबै जिल्लामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने ।