अपहरित करिनालाई उद्दार गर्दा हतियारसहित १४ विप्लवका कार्यकर्ता पक्राउ
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
715
Shares
उदयपुर । प्रहरीले उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबासको जङ्गलबाट ठूलो परिमाणको हातहतियारसहित नेक्रविक्रम चन्द समूहका १४ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी उदयपुर, सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय कटारीको संयुक्त टोलीले बिहिबार उनीहरुलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरका अनुसार बुधबार नै धनुषाको गणेमानचारनाथ नगरपालिका–४ गौरीनाथको १४ वर्षीय बालिका करिना मोक्तानलाई अपरहण गरेर उदयपुर ल्याएको सूचनाको आधारमा प्रहरीले सो जंगलमा खोजी गर्दा ती १४ जनालाई हातहतियारसहित पक्राउ गरी अपरहणमा परेकी मोक्तानलाई उद्धार गरिएको हो ।
पक्राउ पर्नेमा २० वर्षीय मुस्कान राई, २८ वर्षीय विवेश खड्का, १६ वर्षीय रिता कार्की, २० वर्षीय विकास राई, १७ वर्षीय आयुष मगर र १८ वर्षीय अविमान तामाङ छन् । यसैगरी २० वर्षीय आशिष लामा, १६ वर्षीय रञ्जना राई, १९ वर्षीय अनिता राई, १९ वर्षीय अनुश्का राउत, १७ वर्षीय सपना राई, ४६ वर्षीय मणीराज राई र १५ वर्षीय आशिष श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख बुढामगरले बताए ।
पक्राउ परेका चन्द समूहका कार्यकर्ताबाट तीन थान पेस्तोल, एक थान म्यागेजेन, ११ थान प्रेसरकुकर बम, ११ थान सकेट बम, तीन थान डेटोनेटर, तीन थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका १४ जनासहित उद्धार गरिएकी बालिकालाई प्रदेश नं २ का प्रहरी प्रमुख प्रधुम्न कार्कीको उपस्थितिमा उदयपुरबाट धनुषालाई बुझाइएको छ । बरामद गरिएका सबै हतियार नेपाली सेनाको टोलीले निष्कृय गरेको प्रहरीले जनाएको छ ।