arrow

गुमनाम मन्त्री घनश्याम भुषालले दिए पूर्व एमालेका कार्यकर्तालाई छानि छानि नियुक्ती

logo
राजु रिमाल,
प्रकाशित २०७६ फागुन ३० शुक्रबार
ghanasyam_bhusal.jpg

काठमाडौं। कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले मन्त्रालय मातहतका निकायहरुमा छानि छानि पूर्व एमालेका कार्यकर्ताहरुलाई मात्र पदाधिकारीमा नियुक्त गरेका छन्। उनी मन्त्री भएको लामो समय भए पनि गुमनाम रहेको भन्दै आलोचित हुँदै आएका छन्।

नियुक्त गर्न अघि उनले खुला आवेबदन माग गरेका थिए। एक पदकोलागि ३ जनाको अन्तर्वाता पनि लिइएको थियो। तर नियुक्त भने छानी छानी पूर्व एमाले निकट व्यक्तिहरुलाई मात्र दिइयो,–मन्त्रालयका एक उच्च कर्मचारी भन्छन्। यतिसम्म कि, कृषिमा पूर्व माओवादी निकट व्यक्तिलाई समेत पन्छाएर पूर्व एमालेलाई मात्र अवसर दिइएकोले पूर्व माओवादी निकटहरुले समेत मन्त्रीको कामको बिरोध गरेका छन।

भुषालले केही दिन अघि मात्र दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, कृषि सामग्री कम्पनी लिमिटेड र कपास विकास समितिमा अध्यक्ष, उपाध्यक्ष लगाययत अन्य पदाधिकारी नियुक्त गरेका छन्। सहसचिवबाट एक महिना अघि मात्र रिटाएर भएका रुद्रप्रसाद पौडेललाई उनले दुग्ध विकास संस्थानको महाप्रवन्धकमा नियुक्त गरेका छन्। पौडेल यसअघि पशुसेवा विभागमा कार्यरत थिए। उनी पूर्व एमाले निकट मानिन्छन्। उनी पशुसेवा (लाइभस्टक) सेवाबाट सहसचिव भएका थिए।

उक्त पदकोलागि पूर्व माओवादी नेता नारायणकाजी श्रेष्ठका भतिजा डा.शितलकाजी श्रेष्ठ सहित ३  जनाले  आबेदन दिएका थिए। श्रेष्ठ नेपाल भेटेनेररी एशोसियसनका अध्यक्ष समेत हुन्। स्रोत भन्छ, श्रेष्ठलाई महाप्रवन्धक बनाउन नारायण काजी आफैले भुषाललाई दबाब दिएका थिए तर भुषालले उक्त पदमा पूर्व माओवादीलाई पन्छाएर पूर्व एमालेलाई अवसर दिएका छन्।

यसैगरी भुषालले राष्ट्रिय दुग्ध विकास बोर्डको कार्यकारी निर्देशकमा डा. राजेन्द्रप्रसाद यादवललाई नियुक्त गरेका छन्। यादव राष्ट्रपति विद्या भण्डारीसँग निकट मानिन्छन्। सर्लाही स्थायी घर भएका यादव नेपाल कम्युनिस्ट पार्टीसँग प्रतिबद्ध छन्। यसअघि उनी एमालेसँग निकट थिए। बोर्डका बहालवाल कार्यकारी उपनिर्देशक बाबुकाजी पन्तले पनि कार्यकारी निर्देशककमा अवसर पाउन आवेदन फाराम भरेका थिए।

बहालवाला उपनिर्देशक भएको हैसियतले निर्देशक पदमा अवसर पाउन खोज्नु स्वाभाविक पनि थियो । तर अवसर पूर्व एमालेले पाए । स्रोतले भन्यो,‘पन्त पूर्व एमाले नभएकोले यो अवसर पाएनन’ 

भुषालले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशकमा डा. विष्णुप्रसाद भट्टराईलाई नियुक्त गरेका छन् । यसैगरी बोर्डको उपाध्यक्षमा गोपालप्रसाद पोखरेललाई नियुक्त गरेका छन् । भट्टराइ र पोखरेल दुवै पूर्व एमाले निकट मानिन्छन्। यसैगरी भुषालले कृषि सामग्री कम्पनी लिमिटेडको महाप्रबन्धकमा नेत्रबहादुर भण्डारी र अध्यक्षमा शशीराज तुलाधरलाई नियुक्त गरेका छन ।  कपास विकास समितिको अध्यक्ष पदमा भुषालले रुद्रहरि ज्ञवालीलाई नियुक्त गरेका छन्। भण्डारी र ज्ञवाली दुवै पूर्व एमाले निक हुन् ।  

भुषालले आफू मातहतका निकायहरूमा नियुक्त गर्नु अघि सार्वजनिक सूचना गरी बायोडाटा माग गरेका थिए । बायोडाटा हेरेर एउटा पदमा ३ जना व्यक्तिलाई अन्तर्वातामा बोलाइएको थियो । तर अन्तर्वाता लिन् अघि नै काँहा कसलाई नियुक्त गर्ने भन्नेबारेमा एक किसिमको सोच बनाइसकिएको थियो–स्रोतले भन्यो । मन्त्रालयका एक उच्च कर्मचारी भन्छन,यो भनेको कृषि मन्त्रालयलाई एक किसिमबाट एमालेकरण गर्नु हो ।’प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनगर्ठन गर्दा पूर्व माओवादी मन्त्री चक्रपानी खनाललाई बिदाइ गरी पूर्व एमाले भुषाललाई कृषि मन्त्रीमा नियुक्त गरेका छन्। तर यो छोटो अवधिमा भुषालको कार्यशैलीदेखि मन्त्रालयकै कर्मचारीहरु दिक्क हुन थालेको एक कर्मचारी बताउछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ