जमुनाह हेल्थ डेस्कमा एम्बुलेन्स, सङ्ख्याको विवरण राख्न लापरवाही
रासस,
प्रकाशित २०७६ चैत २ आइतबार
482
Shares
नेपालगञ्ज। बाँकेको नेपाल–भारत मुख्य सिमानाका जमुनाहमा सञ्चालित कोरोना हेल्थ डेस्कमा यात्रुको स्वास्थ्य परीक्षणको नाम र सङ्ख्याको विवरण राख्न लापरवाही भएको पाइएको छ।
यहाँका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का नेतृत्वको टोलीले शनिबार गरेको अनुगमनमा त्यस्तो भएको पाइएको हो। नेपालगञ्ज उपमहानगरपालिकाले दुई स्वास्थ्य कर्मचारीसहित स्थापना गरेको सो डेस्क व्यवस्थित नभएको देखिएपछि अनुगमन टोलीका सदस्य उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले स्वास्थ्यकर्मीलाई जाँच गरिएका सबैको विवरण राख्न निर्देशन दिए।
प्रमुख जिल्ला अधिकारी खड्काले शङ्कास्पद व्यक्ति पाइएमा भेरी अस्पतालमा तत्काल पठाउन निर्देशन दिँदै हेल्थ डेस्कमा एम्बुलेन्सको व्यवस्थासमेत गरेको जानकारी दिए।
यसैबीच कोरोना भाइरसका कारण हुनसक्ने असहजता तथा सीमाक्षेत्रको समस्याका बारेमा छलफल गर्न बर्दियाको ठाकुरद्वारामा नेपाल–भारत संयुक्त बैठक बस्ने भएको छ। बैठकमा नेपालको बाँके, बर्दिया र दाङका प्रमुख जिल्ला अधिकारी तथा भारतको बहराइच, श्रावस्तीलगायतका जिल्लाका अधिकारीको सहभागिता रहने प्रजिअ खड्काले जानकारी दिए।