arrow

कञ्चनपुर सीमा बिवाद:  नेपाली भुमिमा गाडिएका पिलर ढलाइयो, काँग्रेसद्वारा सीमाको अनुगमन

सीमामा सरकारको वेवास्ता पछि जागे जनता

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ चैत २ आइतबार
border-piller-nepal-india.jpg

भुडा बेलौरी। नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले दुई देशबीचको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने नाममा लालपुर्जा प्राप्त नेपाली भुमिमा धमाधम गाडिएका र पिलर राख्न खनिएका खाडल भत्काएका छन्। 

सीमा क्षेत्रमा विगतदेखि यथावत रहेका विवादहरुको अझै समाधान हुन नसकिरहेका बेला बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाको झन्डै ७० बिगाहा भन्दा बढी नेपाली भुभाग भारततर्फ पर्ने गरि धामाधम पिलर गाड्न थालिए पछि स्थानीय जनता आक्रोशित बनेका छन्।

सीमा सर्वेका नाममा ब्रिटिस-नेपालका पालामा स्थापित जंगे पिलरहरुको आधारमा नगरी २०६०/०६१ सालमा गाडिएका स्तम्भका आधारमा अहिले नक्सांकन गर्न थालिए पछि थप नयाँ स्थानमा समेत सीमाको विवाद बढ्दै गएको छ। 

कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतसंग सीमा जोडिएका स्थानमा पनि सीमा स्तम्भहरुको जाँचबुझ गर्ने र सच्च्याउने काम भइरहँदा टोलिले गरेको कामबाट समाधान होइन विवाद चर्कने अबस्था देखिएको छ। कञ्चनपुरको बेलौरी -बेल्डाँडीमा  नेपाली भुभागमानै अधिकांश पिलर गाडिन थालिए पछि स्थानीय जनताले बिरोध गर्दा अहिले सीमा सर्भे टोलीले उक्त क्षेत्रको काम स्थगित गरेको छ।

यसअघि विगतमा कुनैपनि विवाद नदेखिएका क्षेत्रहरुमा सर्भे टोलीले काम गर्ने क्रममा विवाद देखिन थालेको हो। नेपाल सरकारले उपलब्ध गराएको दर्ता जग्गा समेत भारतमा पर्ने गरी सीमा सर्भे टोलीले सीमा स्तम्भ राख्न थालेपछि सीमा क्षेत्रका नागरिक चिन्तित र आक्रोशित बनेका छन्।

सीमा ब्यबस्थापनका नाममा गरिएको नक्सांकन र पिलर गाड्ने कार्यबाट विवादित बनेको बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकास्थित सीमा क्षेत्रमा शनिबार नेपाली कांग्रेस कञ्चनपुरले पनि स्थलगत अनुगमन गरेको छ। 

कांग्रेसका नेता एवं पूर्वसांसदद्वय दिवान सिंह बिष्ट र बहादुर सिंह थापा, नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहरा सहितका नेताकार्यकर्ता सम्मिलित टोलिले उक्त क्षेत्रको अनुगमन गरेको छ।

नेपाली काँग्रेसको टोलिद्वारा गरिएको अनुगमनका क्रममा कांग्रेसका स्थानीय कार्यकर्ता र  सर्वसाधारण नागरिकले हालै निर्माण गरिएका सीमा स्तम्भ तोडफोड गरेका छन्।

कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर ३ वैवाहामा नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले हालै निर्माण गरेको ७८३/४ नम्बरको सीमा स्तम्भ उनीहरुले हतौडा र ढुङ्गा प्रहार गरी तोडफोड गरेका हुन।

सीमा स्तम्भ तोडफोड गरिएपछि उक्त क्षेत्रको सुरक्षा सतर्कता बढाइएको छ। त्यस्तै, बेलौरी नगरपालिका वडा नम्बर १० भुडामा सीमा स्तम्भ राख्न नेपाली भूमिमा २०५२ सालमा निर्माण सम्पन्न भएको महाकाली सिंचाइ परियोजनाको नहर किनारमै खनिएका खाल्डा समेत उनीहरुले पुरिदिएका छन्।

सीमा स्तम्भ तोडफोड गरिएपछि प्रतिकृया दिँदै नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्टले वर्तमान कम्युनिष्ट सरकारले सीमा विवादप्रति चाँसो नदिएकोले सीमा स्तम्भ भत्काइएको बताए। उनले सीमा स्तम्भ भत्काउने कार्य नेपाली कांग्रेसले नभई सोही स्थानका नागरिकले स्वतस्फुर्त रुपमा गरेको उल्लेख गर्दै उक्त कार्यप्रति समर्थन जनाए। उनले सीमाको रक्षा गर्ने जिम्मेवारी सरकारको भएपनि सत्तारुढ दलका नेताकार्यकर्ताले सीमा सर्भे टोलीलाई काम गर्न अवरोध गर्ने र त्रसित पार्ने काम गरेको आरोप पनि लगाए। नेता बिष्टले सीमा विवादका विषयमा कांग्रेसले संघर्षका कार्यक्रम गर्ने चेतावनी पनि दिएका छन्।

त्यस्तै, नेपाली कांग्रेस कञ्चनपुरका सभापति हरि प्रसाद बोहराले पचासौँ वर्षदेखि नेपाली नागरिकले भोगचलन गर्दै आएको जमिन भारतमा पार्न खोजिएको सरकारको गैरजिम्मेवारीपूर्ण काम भएको आरोप लगाए। नेपाली जनतासंग उक्त जमिनको लालपूर्जा समेत रहेको उल्लेख गर्दै सीमा क्षेत्रका नागरिकको आक्रोश स्वभाविक रहेको बताए। उनले सीमा रक्षाका लागि कांग्रेस जहिलेपनि लागिरहने बताए।

नेपाली कांग्रेसको उक्त टोलीले बेलडाँडीको झिलमिला र वैवाहा तथा बेलौरीको भुडा र पचुँईमा सीमा स्तम्भको स्थलगत अनुगमन गरेको हो। एक साता अघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरु उर्वादत्त पन्त, ईश्वरी प्रसाद खरेल सहितको टोलीले पनि सीमा क्षेत्रको स्थलगत अनुगमन गरेको थियो।

यस्तै सोही छलफलका क्रममा पुर्वसांसद तथा संविधान सभा सदस्य दिवान सिंह बिष्टले नापीका कर्मचारीहरुले सरकारको निर्देशन अनुसार काम गर्ने हुँदा सर्भे टोलीका कर्मचारीले सीमा स्तम्भको आधार र तथ्य दिन नसके त्यसको जिम्मेवारी सरकारमा रहेका व्यक्तिको र पार्टीको भएकोले अहिले सत्तामा रहेका पार्टीका जनप्रतिनिधिहरुले अग्रसरता देखाउनु पर्ने सुझाव दिए।

यस विषयमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले समस्याको समाधानका लागि सम्बन्धित क्षेत्रमै पुगेर समस्या पहिचान गर्ने गरी आफु केन्द्रित रहेको बताएका छन्। उनले वास्तविक समस्यालाई टिपोट गरेर दुई देशका अधिकारीहरु बीचको बैठकमा पेश गर्ने र छिट्टै समाधान खोज्ने आश्वासन समेत दिए।

सोही छलफलका क्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य कुलबीर चौधरीले आफुले यस विषयमा प्रदेश सभामा कुरा उठाउने र प्रदेश सरकारलाई समेत जानकारी गराउने बताए।

त्यस्तै, बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले राष्ट्रियताका सवालमा सबै एक हुनु पर्ने बताएका छन। नगर प्रमुख चौधरीले भारतसंग खुला सीमा जोडिएका क्षेत्रमा बेलाबेलामा विवाद आउने गरेको र भारतीय पक्षले नेपालको सिमा क्षेत्रमा कब्जा जमाउन खोजिरहेकोले तत्काल यसको समाधान गरिनु पर्ने बताए।

यसैबीच, बेलौरी नगरपालिका वडा नम्बर ८ मा पर्ने खप्टि पुलदेखि हुलाकी सडकहुँदै पुरानो ३८ नम्बर सीमा स्तम्भ सम्मको भुभाग भारतले आफ्नो भएको दाबी गर्दै आएको छ। भारतीय पक्षले बेलाबेलामा हुलाकी सडकखण्ड निर्माणको काममा समेत अवरोध सृजना गर्दै आएको छ।

ईँटा उद्योगी हरि चन्द ठकुरीका अनुसार तत्कालिन ३८ नम्बर पिलरको आधार स्तम्भलाई नेपाल सरकारका तर्फबाट सुदर्शन धामीको नेतृत्वमा खटिएको सीमा सर्भे टोलीले सिमा स्तम्भ नै ठोकुवा गरेपछि विवाद झन चुलिएको हो। विगतमा सीमा स्तम्भ खोला पारी रहेको र त्यो सीमा स्तम्भ खोलाले पुरिएपछि यो आधार स्तम्भका नाममा सारिएको उनको दाबी रहेको छ।

बेलौरी नगरपालिका १० भुडामा नेपाल सरकारले प्रदान गरेको जमिनको लालपुर्जा नागरिकको हातमा छ र हालसम्म उक्त जमिन नेपाली नागरिकले भोगचलन गर्दै आएका पनि छन्। यद्यपी साविकको सीमा मानिएको क्षेत्र चौधर नदि भन्दा भित्र नेपाली भुमि (नहरसम्म) मा सीमा सर्भे टोलीले सीमा स्तम्भ निर्माण गर्न थालेपछि आफुहरुको दर्ता जग्गा भारतमा पार्न खोजेको भन्दै स्थानीय नागरिकले अबरोध सृजना गरेका छन्।

स्थानीय नागरिकहरुले त सर्भे टोलीले भारतीय पक्षबाट ठूलो धनराशी घुस खाएर देशको भूमि बेच्ने षडयन्त्र गरेको सम्मका आरोप लगाउँदै आएका छन्। अहिले कञ्चनपुरको दक्षिणी क्षेत्रमा पुनर्वासको प्याराताल देखि बेलडाँडीको झिलमिलासम्म ठाउँठाउँमा सीमा विवाद देखिन्छ। सोही समस्या समाधानका लागि सीमा सर्भे टोली खटाइएको भएपनि विवाद झन बढ्दै गएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ