arrow

सरकार ! स्वयंसेवकलाई कोरोनाका लागिमात्र हैन सबै रोगको चेतना दिनेगरी खटाइयोस्

डेंगीको महामारीबारे पनि संगसंगै निदान खोजियोस्

logo
बाबु नेपाली, 
प्रकाशित २०७६ चैत ७ शुक्रबार
coronavirus-hamrakuras1.jpg

काठमाडौं । अहिले विश्वभर महामारीका रुपमा कोरोना भाइरस (कोभिड–१९) फैलिइरहेको छ । यसका कारण १७९ देशमा संक्रमण फैलिएको छ । १० हजार भन्दा बढीको ज्यान गइसकेको छ । ढाइ लाख मानिस संक्रमित छन्  । 

नेपालमा संक्रमितको संख्या १ मात्रै भए पनि विश्वस्वास्थ्य संगठनले खतराको सूचीमा निकै अगाडि राखेको छ । नेपालमा संक्रमण बढ्यो भने तीव्र गतिमा फैलिने र सबैभन्दा ठूलो महामारीको रुप लिने भन्दै सरकारलाई सचेत समेत गराइएको छ । 

सरकारले पनि यथासम्भव सचेतना अपनाइरहेको छ । तर कार्यान्वयन पक्ष अत्यन्त फितलो छ । सवारी साधनमा सरकारले लगाएको नियम लागु भएको छैन । 

बाहिर ननिस्कन गरेको आग्रहलाई पालना गरिएको छैन । २५ जनाभन्दा बढी भेला हुन नपाइने नियम लगाइए पनि संसदमा समेत पनि त्यसको पालना भएन । 

परीक्षा मात्र रोकिए । तर कार्यालयहरुमा २५ जना भन्दा बढी कर्मचारी हुन्छन् भन्नेतर्फ सरकारले ध्यान दिएको छैन । 

एउटा यातायातमा पनि २५ जना भन्दा बढी हुन्छन् भन्नेसम्म हेक्का राखिएको छैन । त्यतिमात्र हैन खचाखच यात्रुले भरिन्छ बस । त्यतातर्फ पनि कुनै अनुगमन भएको छैन । 

बसका चालक तथा सहचालकले समेत पनि मास्कको प्रयोग गर्दैनन् । किन यतातिर सम्बन्धित निकायले ध्यान दिइरहेको छैन ? 

नेपालमा धेरै रोग छन् संगसंगै निराकरणतर्फ लागियोस् 
नेपालमा धेरै रोग छन् । सरुवा रोग पनि उत्तिकै छन् । झाडापखालाको महामारीले पटक पटक सताउने गरेको छ । भाइरल फ्लुका कारण बर्सेनि थुप्रैको ज्यान जाने गरेको छ । 

बर्ड फ्लुले दुःख दिएकै हो । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा अज्ञात रोगबाट दुई नाबालकको अकालमा मृत्यु भएको छ ।  

वडा नं २ पुडेनीका चतुरे थापाका चार महिनाको छोरा खम्वीरसिंह थापा र वडा नं १ मुक्तिकोटका भर्बले विकको पाँच महिनाकी छोरी डम्मकला विकको मृत्यु भएको हो । 

ज्वरो आउने, खोकी लाग्ने र हातखुट्टा दुख्ने लक्षण देखिएको थियो । रोगको पहिचान नभइ ज्यान गुमाउने नेपाली थुप्रै छन् । 

डेंगीले सताउने बेला भइसकेको छ । थुप्रैको ज्यान लिइरहेको छ । चिसोमा समेत यसपटक डेंगीले ज्यान लिएको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। वाशुदेव पाण्डे कोरोना भाइरससँगै डेंगीसमेत देखिन देखिन थालेकाले त्यसको समेत तयारीमा बस्नुपर्ने बताएका छन् । 

स्वास्थ्य चेतनाको खाँचो हरेकलाई छ । तसर्थ अहिले कोरोनामात्र हैन सबै त्यस्ता महामारीका रुपमा फैलिन सक्ने रोगका बारेमा पनि चेतना दिनु जरुरी छ । 

स्वयंसेवक परिचालन
अहिले सरकारले कोरोना भाइरसको सचेतनाका लागि स्वयंसेवक खटाइरहेको छ । 

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति बनाइएको छ । गिरीका अनुसार स्वयंसेवक देशैभरि पुग्नेछन् । 

६ हजार ७ सय ४४ वडाहरुमा स्वयंसेवक खटाइएको छ । त्यहाँ दुईदेखि पाँच जना स्वयंसेवक खटिने छन् । त्यसभन्दा बढी स्वयंसेवकसमेत पनि खट्न नपाइने बताइएको छ । 

स्वास्थ्य मन्त्रालयले बनाएको स्वास्थ्य समन्वय समिति अन्तर्गत नै स्वयंसेवक खटिने छन् । कतिसम्म स्वयंसेवक संस्थाहरुले सघाउँछन् त्योसमेत हेर्न बाँकी रहेको डा गिरीले बताए । 

यसको अनुगमन पनि गरिने र विश्लेषण गरिने पनि डा गिरीले बताए । स्थानीय वडा र स्थानीय तहमै हुने भएकाले सचेतना कार्यक्रम प्रभावकारी रहने बुझिन्छ । 

यही मेसोमा ती स्वयंसेवकलाई बढी भन्दा बढी जानकारी दिएर त्यस्ता रोगका बारेमा सचेतना दिनु जरुरी छ । 

सरकार लकडाउनका लागि तम्तयार
कोरोनाले विश्वलाई आतंकीत पारिरहेका बेलामा नेपालमा पनि सतर्क भएर बस्नुपर्ने अवस्था छ । कतिबेला संक्रमण कसरी फैलिन्छ पत्तो छैन । 

तसर्थ नेपाल सरकारले कोरोना भाइरसबाट बच्नका लागि लकडाउनसमेत गर्न सक्ने अवस्थामा पुगेको जनाएको छ । 

लकडाउन नै गर्नुपर्ने अवस्था नभए पनि सुरक्षित रहनका लागि लकडाउनको समेत तयारी रहेको बुझिएको छ । 

चारै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको जनाइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ