arrow

नेपाली सेनाले भन्यो –कोरोना भाइरसविरुद्ध आकाशबाट औषधि छाडिने हल्लामात्र हो 

संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न अनुरोध

logo
प्रकाशित २०७६ चैत ८ शनिबार
nepal-army-new.jpg.jpeg

काठमाडौं । नेपाली सेनाले आकाशबाट हेलिकप्टरको प्रयोग गरी कोरोना भाइरस (कोभिड–१९) को किटनाशक औषधि छोडिने भन्ने समाचार हल्लामात्र भएको बताएको छ । 

सेनाले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको हो । 

सेनाले भनेको छ , ‘​विभिन्‍न सामाजिक सञ्‍जालहरुमा ‘नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस कोभिड–१९) विरुद्ध किटनाशक ‍औषधी छोडिने’ भन्‍ने समाचारप्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
  
सेनाले भनेको छ, ‘​हाल विश्वभर फैलिँदै गएको कोरोना भाईरस (कोभिड–१९) को उच्‍च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको तथ्य प्रेस विज्ञप्तिमार्फत जानकारी गराईएको सर्वविदितै छ । यसको अलावा नेपाली सेनाले हेलिकप्टर प्रयोग गरि किटनाशक औषधी छाड्ने कुनै योजना नभएको जानकारी गराईन्छ ।’

सेनाले स्पष्ट पारेको छ, ‘तसर्थः हालको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा हार्दिक अनुरोध गर्दछ ।’

सेनाले कोरोनाको प्रतिकार्यमा नेपाली सेनाको गतिविधि सम्बन्धमा आम जनमानसमा कुनै दुविधा भएमा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको सम्पर्क नम्बर ९८५१०८३२८८ र ९८५१०७९९१७ मा सम्पर्क गर्न समेत अनुरोध गरेको छ । 
 
सेनाले ‘कोरोनाविरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र उक्त भाइरसको उच्च जोखिमविरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको जानकारी गराइन्छ’ भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ