विश्वमा रहेका नेपालीलाई सहमहामन्त्री डा.महतको अपिल
प्रकाशित २०७६ चैत ११ मंगलबार
449
Shares
काठमाडौं। नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले विश्वमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कोरोना भाइरसको प्रकोपबाट बच्न र सुरक्षित रहन अपिल गरेका छन्।
मंगलबार एक विज्ञप्ति प्रकाशन गरी डा.महतले नेपाली डायस्पोरा विश्वमा नै छरिएर रहेको र अहिले लगभग विश्व नै ‘कोभिड १९’ भाइरसको प्रकोपबाट पीडित रहेको अवस्थामा सबैतिर रहेका नेपालीलाई यस महामारीको प्रकोपबाट सुरक्षित र स्वस्थ रहन अपिल गरेका हुन्। उनले विज्ञप्तिमा भनेका छन्– यतिखेर विश्व नै कारोना भाइरसको संक्रमणबाट पीडित छ र धेरै प्रभावित भएका देशहरुमा पनि ठूलो संख्यामा नेपाली दाजुभाइ दिदीबहिनीहरु रहेकोले आफू रहेका ठाउँमा पहिला आफू सुरक्षित हुनुहोस् र अरुलाई सुरक्षित बनाउनका लागि पनि आफ्नो ठाउँबाट सहयोग पुर्याउनुहोस् भनी म अपिल गर्न चाहन्छु।
यस प्राणघातक भाइरसबाट तपाईँहरुको सुरक्षा र सुस्वास्थ्यका लागि म भगवानसँग प्रार्थना गर्दछु– पूर्व परराष्ट्रमन्त्री समेत रहेका डा.महतले विज्ञप्तिमा भनेका छन्। साथै उनले सो विज्ञप्तिमा विश्वका विभिन्न देशमा रहेका सबै नेपाली जनसम्पर्क समिति र गैरआवासीय नेपाली संघलाई यस्तो संकटको बेलामा सबै नेपालीलाई सहयोग र सुरक्षा प्रदान गर्न नेतृत्वदायी भूमिकामा रहेर काम गर्न पनि अपिल गरेका छन्।
अहिले कुनै एक देश या क्षेत्र विशेषले नभएर विश्वले नै यो अकल्पनीय संकटको सामना गरिरहेको र यसले विश्वको अर्थतन्त्र, व्यवसायमा मात्र नभएर नागरिकको जीवन पद्दतिमाथि नै धावा बोलिरहेको अवस्थामा धैर्य र संयमताका साथ आ–आफ्नो ठाउँमा स्वस्थ र सुरक्षित भएर बस्न उनले सबैलाई आग्रह गरेका छन्।
हाल विश्वका विभिन्न देशले यो संकटको सामना गरिरहेको र पछिल्लो समयमा नेपाल पनि यसबाट अछुतो रहन नसकिरहेको अवस्थामा नेपालको सरकार र नेपाली जनताले विश्वले भोगिरहेको यो समस्या र संकटबाट सिकेर यो महामारीलाई निस्तेज पार्न विश्वका सफल उदाहरणहरुलाई अनुशरण गर्दै बढी भन्दा बढी प्रभावकारी रुपमा काम गर्न सहमहामन्त्री डा.महतले अपिल गरेका छन् ।