arrow

रामहरि खतिवडाको प्रश्न, 'सरकार ! यस्तो तयारीले कसरी लड्ने कोरोनासँग?'

logo
प्रकाशित २०७६ चैत १४ शुक्रबार
ramhari-khatiwada3.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद रामहरि खतिवडाले कोरोना भाइरस (कोभिड–१९) का कारण देश लकडाउनमा रहेका बेलामा सरकारले गम्भीर भएर यसको रोकथाममा नलाग्ने हो भने भोलिका दिनमा लास उठाउने मान्छेसमेत नहुने दिने आउने चेतावनी दिएका छन् । 

कोरोनाको संक्रमणको त्रास देखाउने तर उपचारको प्रवन्ध गर्नका लागि सरकारले जनशक्ति खटाउन नसकेका कारण गाउँगाउँमा स्थिति त्रासदपूर्ण भएको भन्दै नेता खतिवडाले सरकारलाई बेलैमा सचेत भएर जनशक्ति गाउँगाउँ खटाउन सुझाव दिएका छन् । 

उनले भने, ‘चिकित्सक आतंकित छन् । एम्बुलेन्स बिरामी ल्याउन मान्दैनन् । गाउँगाउँमा स्थिति भयावह छ । सेनिटाइजर र साबुन पाइँदैन । बिरामीको उपचार कसले गर्ने । डाक्टर बिरामी छुन जाँदैन । बिरामी भेट्न गाउँका छिमेकी पनि जान डराउँछन् । गाउँमा एउटा बिरामी भए त्यो मर्छ । भोलि लास उठाउने मान्छे पनि हुँदैन । त्यस्तो दिन नआओस् ।’ 

उनले सरकारलाई गम्भीर हुन आग्रह गरेका छन् । नेता खतिवडाले संघीयसंगै प्रदेश र स्थानीय सरकारले संयन्त्र जतिसक्यो छिटो प्रयोग गरोस् भन्दै भोलिको गम्भीर महामारीलाई रोक्न सचेत होस् भनेका छन् । 

नेता खतिवडाले सातै प्रदेशमा कोरोना किटको व्यवस्था गर्न आग्रह गर्दै कोही पनि कोरोनाको संक्रमण लागेर रोगसमेत पत्ता नलागी मर्ने दिन नआओस् भनी सरकारलाई सचेत गराएका छन् । 

विश्वको प्रविधि सबै बनाएको तर मान्छे बचाउने प्रविधि बनाउन नसकेको भन्दै बेलायती महारानीदेखि जर्मन चान्सलरसम्म क्वारेन्टाइनमा बसेको स्मरण गरे । 

बेलायती युवराजलाई नै कोरोना संक्रमण भएको भन्दै खतिवडाले कोरोनाले कसैलाई पनि नछाड्ने बताएका छन् । 

खुशी छैनन् सरकारको रवैयादेखि 
नेता खतिवडा सरकारको रवैयादेखि सन्तुष्ट छैनन् । उनले भने, ‘सरकारले लगाएको लकडाउनलाई जनताले साथ दिएका छन् तर मन्त्रीहरु आफै चिल्ला गाडीमा दौडिरहेका छन् । यो गलत भयो ।’

यसलाई अझ स्पष्ट पार्दै भने, ‘पर्यटनमन्त्री योगेश भट्टराई जुलुस लिएर नवलपुर पुगेका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पीपीई भन्न पनि जान्दिन भन्छन् । सरकारले छिटोभन्दा छिटो निर्णय गरेर जनता बचाउने काम गरोस् । मन्त्रीहरु क्वारेन्टाइन खोज्नका लागि धुलिखेल, नगरकोट जाने समय यो होइन ।’

उनले टेकुमा समेत सरकारले कोरोना संक्रमितको उपचार गर्न नसकेको भन्दै परीक्षण अभावमा कयौं बिरामी भएर बस्नु परेको हुन सक्ने भन्दै यसलाई जतिसक्यो छिटो समाधान गर्न आग्रह गरे । 

मन्त्रीहरु चिल्ला गाडीमा सुरक्षित र सुसज्जित भएर सेनालाई अगाडि पछाडि राखेर हिँडेको भन्दै अहिलेको समय त्यस्तो नभएको उनको भनाइ छ । 

नेता खतिवडाले मन्त्रीहरु सुरक्षासहित पुतली बगैंचामा फूलको बासना लिएर पत्रकार सम्मेलनमा व्यस्त रहेको आरोप लगाउँदै हरेक दिन उपप्रधानमन्त्री, स्वास्थ्य मन्त्री र संचारमन्त्रीले छुट्टाछुट्टै पत्रकार सम्मेलन गर्नुभन्दा एकैजनाले गरेर बाँकीले अत्यावश्यकीय काम गरे हुने सुझाव दिएका छन् । 

गरिब र दैनिक खानाको समेत अभाव भएकालाई तत्काल खाना र राहतको व्यवस्था गर्न सरकारलाई सुझाव दिँदै नेता खतिवडाले समयले सरकारले व्यवस्थित गर्न नसके बजारमा केही दिनपछि अखाद्य वस्तुको बिगबिगी बढ्दै जाने दावी गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ