महामारीको सन्नाटामा पनि किन रुखो बोल्दैछन् परराष्ट्रमन्त्री ज्ञवाली ?
प्रकाशित २०७६ चैत १८ मंगलबार
692
Shares
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पछिल्लो समयमा निकै रुखो बोल्ने र सरकारको सामान्य आलोचकहरुलाई पनि मुख छोड्ने गर्न थालेका छन् ।
सरकारमा रहेको व्यक्ति विपक्षी या आलोचकहरुसँग समेत नरम र लचिलो हुनुपर्नेमा उनले उल्टै विपक्षीलाई पनि उत्तेजक बनाउने गरेका छन् ।
सरकारमा रहेका कतिपय मन्त्रीहरुको बारेमा आम नागरिकले ती त त्यस्तै हुन् भनेर पचाउन थालेको अवस्था छ। तर कतिपय मन्त्रीका बारेमा अझै पनि झिनो आशा गर्नेहरु धेरै छन् ।
परराष्ट्रमन्त्री भनेको कुनै पनि मुलुकको उच्च कूटनीतिज्ञ हो । परराष्ट्रमन्त्री आफ्ना अभिव्यक्ति र नीतिमा पनि उच्च कूटनीतिक व्यवहार प्रदर्शन गर्नुपर्ने ओहदाधारी व्यक्ति भएकोले नै कतिपय देशले मृदुभाषी तथा कूटनीतिक व्यवहारयुक्त व्यक्तिलाई यो पदमा नियुक्त गरेका हुन्छन् । तर ज्ञवालीका पछिल्ला अभिव्यक्ति सुन्दा लाग्छ उनले गैरकूटनीतिक र गैरराजनीतिक बोली बोलिरहेका छन् ।
ज्ञवालीले देश एक किसिमले कर्फयूजस्तो अवस्थामा लकडाउनमा बसिरहेका बेला सरकारी सञ्चारमाध्यम राससका चारजना पत्रकारलाई मन्त्रालयमै बोलाएर अन्तर्वार्ता दिएको कुरा राससले सम्प्रेषण गरेको तस्बिरमा देखिन्छ ।
यतिमात्र नभएर उनले आफूले समाचारदातालाई मात्र अन्तर्वार्ता नदिने भनेर राससका अध्यक्ष, महाप्रबन्धक, प्रधानसम्पादकलगायतलाई नै बोलाएका थिए । उनको अन्तर्वार्ता राससले आइतबार र सोमबार दुई दिनसम्म सम्प्रेषण गरेको छ । जुन सरकारी सञ्चारमाध्यमको एक किसिमले दुरुपयोग हो ।
प्रसंग उनको अन्तर्वार्ता भन्दा पनि उनले व्यक्त गरेको आपत्तिजनक बोलीको हो । उनले सो अन्तर्वार्तामा विपक्षीहरुलाई ‘गिद्ध’ को संज्ञा दिएका छन् । जुन अभिव्यक्ति कुनै पनि प्रजातान्त्रिक संस्कार भएको राजनीतिक व्यक्तिको आचरण भन्दा परको र निकै निम्नस्तरको हो ।
औषधि खरिदमा भएको अनियमितता तथा कोरोना संक्रमणको रोकथामका कार्य चुस्त हुन नसकेको भनी सरकारको आलोचना भएको विषयमा गरिएको प्रश्नमा उनले सरकारको विरोध गर्नेलाई फूलमा नबसी फोहोरमा बस्ने गिद्धको संज्ञा दिएका छन् ।
उनले भनेका छन्– गिद्धहरुले फूलतिर हेर्दैनन्, सिनो मात्र हेर्छन् सरकारको विरोध गर्ने त्यस्तै सिनोखाने गिद्ध हुन् । मन्त्रीले यस्तो अभिव्यक्ति राखे पनि कुनै एक सरकार विशेषको नभई राज्यको हुनुपर्ने राससजस्तो सरकारी सञ्चारमाध्यमले पनि यस्तै निम्नस्तरको भाषामा यो समाचार सम्प्रेषण गर्नु अर्को दुःखद पक्ष हो।
केही दिनमात्र अघि उनले एक अनलाईनलाई दिएको अन्तर्वार्तामा पनि कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको उल्लंघन गर्नेहरुले आफन्तको लाश आफैले छुन तथा लाश उठाउने अन्तिम मौका पनि नपाउने भनेर निकै क्रुर शब्द प्रयोग गरेका थिए ।
नेपालमै कोरोना संक्रमित बिरामी भेटिएपछि काठमाडौं र सिंगो देश नै स्तब्ध भएको र अब देशमा के हुन्छ भनेर बोल्नै नसकी सन्नाटा छाइरहेका बेला सरकारले नागरिकलाई सान्त्वनायुक्त भाषा प्रयोग गरी शब्दबाटै नागरिकलाई शीतलता प्रदान गर्नुपर्नेमा उनले अभिव्यक्त गरेका यी क्रुर शब्दका कारण नागरिकमा झन् ठूलो त्रास बढेको थियो ।
त्यसो त सरकारले तीन दिन अघि नै नेपाल आउने विदेशी उडानहरु रोक्नुपर्ने विषयमा वरिष्ठ मन्त्रीहरुबीच भएको छलफलमा उनले नै त्यसको विरोध गरेका थिए । उनले विदेशी उडान रोक्नु हुन्न भनेपछि त्यस एजेण्डाका प्रस्तावक ईश्वर पोखरेल पनि पछि हट्नुपरेको थियो ।
पछिल्लो समयमा उनका व्यवहारले सरकारलाई पनि अप्ठेरो परेको अभिव्यक्ति सरकारकै केही वरिष्ठ मन्त्रीहरुले दिने गरेका छन् । एमसीसी पारित गर्ने विषयमा पनि उनको पछिल्लो भूमिका शुरुमा लम्पसारवादी र पछि आएर आफै बाधकको रुपमा देखियो ।
उनले मिडियालाई जसरी पनि पारित हुन्छ भनेर बताउने तर पनि अध्ययन कार्यदलमा भित्रभित्रै भीम रावलको विचारलाई सघाएकोले कार्यदलले सरकारको पक्षमा प्रतिवेदन दिन नसकेको स्वयं प्रधानमन्त्रीले पनि पछि आएर बुझेको पूर्व एमाले बृत्तमा चर्चा छ ।
देश यतिबेला महामारीको सन्नाटामा छ । कतिबेला के समाचार आउने हो भनेर नागरिक त्राही त्राही भएर घरमा छन् । मजदुर र गरिबको चुलो नबल्ला भन्ने चिन्ता सरकारले गरेको लकडाउनका दिनहरु बढेसँगै बढ्दै गएको छ ।
तर पनि यसबाहेकको अर्को कुनै बिकल्प पनि नरहेको भन्दै प्रमुख प्रतिपक्षी तथा सबै विपक्षीहरुले सरकारी निर्णयको समर्थन गरिरहेका छन्, सरकारी नीतिलाई सघाउ नै पुर्याएका छन् ।
यस्तो बेलामा महामारीबाट देशलाई मुक्त गर्न सबै पक्षको साथ र सहयोग लिएर अघि बढ्नुको सट्टा सरकारका जिम्मेवार मन्त्रीले विपक्षीहरुलाई कहिले गिद्धको संज्ञा दिने त कहिले तर्सिएर बसेका नागरिकलाई लाश उठाउनै नपाउने जस्ता शब्द प्रयोग गर्ने गरेकोले अहिले धेरैले प्रश्न गरिरहेका छन्– मुलुक यस्तो महामारीको सन्नाटामा रहेका बेला पनि परराष्ट्रमन्त्री किन रुखो बोल्दैछन् ?
अनि उनीहरु भन्दैछन्– यस्तो अशिष्ट, असभ्य र निम्नस्तरको भाषा त हिजो राजा महाराजा एवं तानाशाही शासकहरुले पनि प्रयोग गर्दैनथे ।