arrow

सडकपेटीमा बस्न वाध्यलाई हिन्दू स्वयंसेवक संघद्धारा लकडाउन भएदेखि भोजन र मास्क वितरण

logo
प्रकाशित २०७६ चैत १८ मंगलबार
hindu-swyamsebak-sangh-nepa.jpg

काठमाडौं । लकडाउन शुरु भएयता हिन्दू स्वयंसेवक संघ नेपालले सडकपेटीमा बस्न बाध्य तथा उपत्यका बाहिर जान नसकेका मानिसलाई विगत ७ दिनदेखि भोजन र मास्क वितरण गर्दै आएको छ ।
 
विश्वभरि नै फैलिएको कोरोना महामारी ९कोभिड १९० को संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण कतिपय मानिस यस्ता मानिस पनि छन् जसको उपत्यकामा कुनै आश्रय छैन । 

दैनिक ज्याला मजदूरी गरेर खाने बस्ने जोहो गर्ने ती मानिससँग अहिलेको अवस्थामा न काम छ न माम नै । सङ्कटपूर्ण यस स्थितिमा उपत्यका छाडेर घर जान त चाहन्छन् उनीहरू तर जान सकेका छैनन् । 

सडकमा विचल्लीमा परेका छन् । त्यस्तै आफ्नो निश्चित आवास नभएका, मागेरै काम चलाउनु पर्ने र सडकलाई नै आफ्नो आश्रय बनाएका कतिपय मानिस पनि लकडाउनका कारण भोजन–पानीबाट वञ्चित छन् ।

 विपत्तिको यस घडीमा बिहान–साँझका लागि भोजनको अन्य व्यवस्था नभएका यस्ता मानिसलाई हिन्दू स्वयंसेवक संघ नेपालद्वारा गत ७ दिनदेखि निरन्तर रूपमा भोजन प्याकेट बनाई वितरण गरिँदै छ ।

पहिलो दिन पशुपति क्षेत्रवरिपरि रहेका जम्मा ८६ जनालाई भोजन प्याकेट बनाएर वितरण गरिएको संघका काठमाडौँ सम्भाग प्रचारक मुकेश कुमारले बताए ।

त्यस्तै दोस्रो दिनदेखि सेवाग्राहीको सङ्ख्या करिब ३०० पुगेको उहाँको भनाइ छ र कालीमाटी , ललितपुर र टेकु गरी ३ ठाउँमा १८०० मास्क वितरण गरिएको छ ।

भोजन वितरण कार्यमा निरन्तर लागेका प्राज्ञिक विद्यार्थी परिषद् नेपालका संगठन सचिव नारायण प्रसाद ढकालले आफ्नो अनुभव यसरी साझा गरे– “हिजो हामीले १५० जनाको भोजन प्याकेट बनाएर वितरणको लागि लगेका थियौँ । आवस्यकता भएका धेरै मानिसहरू पायौँ पनि । हामीले लगेको भोजन वितरण सक्किएको थियो र पनि अरू धेरै मानिस आइरहेका थिए । हामीले आजलाई सकियो भन्दा उनीहरूको अनुहारमा देखिएको स्थितिले हामीलाई निकै भावुक बनायो । वास्तवमा समाजमा समस्या छ । तर त्यसलाई बुझ्ने प्रयास हामिबाट नभएको हो कि जस्तो लाग्छ । उनीहरूसँग कुरा गरेर अवस्था बुझ्ने प्रयास गर्दा दैनिक ज्यालामा काम गरेर बेलुकाको व्यवस्था गर्नेहरू धेरै थिए । केही परिस्थितिले सधै खुला आकासमुनि जीवन बिताउन वाध्य भएका थिए । कोही यातायात साधन नपाएर घरजान नपाएका मजदुर पनि थिए ।”

यस्तै विद्यार्थी परिषद् र संघका कार्यकर्ताले ठाऊँ–ठाऊँमा मास्क वितरण स्टल लगाएर आवश्यक परेका मानिसलाई मास्क पनि वितरण गरेका छन् । गत ३ दिनमा लगभग २६०० मास्क वितरण गरिएको नारायण प्रसाद ढकालले बताए । 

संघको केन्द्रीय कार्यालयमै भोजन बनाउने, प्याकेट बनाउने र नजिकै पशुपति क्षेत्रमा गएर वितरण गर्ने कार्य हुँदै आएको प्राज्ञिक विद्यार्थी परिषद् नेपालका महासचिव सुरेन्द्रप्रसाद भट्टले बताए । 

उनले भने, “भोजन वितरण कार्य आवश्यक देखियो र हामीले स्वतःस्फूर्त रूपमा काम थाल्यौँ । यस कार्यमा हामीले पर्याप्त मात्रामा सुरक्षाको ख्याल पनि राखेका छौँ । भोजन वितरण गर्दा भिडभाड नहोस्, सरकारले दिएको निर्देशनको पालना होस् भन्नेतिर पनि हाम्रो ध्यान निरन्तर छ ।”

भोजन प्योकट वितरण कहिलेसम्म जारी रहनेछ भनी सोध्दा संघका महासचिव मुरली निरौलाले भन्नुभयो, “महामारीबाट सबै सुरक्षित रहुन् तर भोकले पनि कोही मर्नुनपरोस् । स्थिति सामान्य नहोउन्जेल वञ्चित–पीडित हाम्रा समाजका बन्धु–भगिनीहरूलाई भोजन उपलब्ध गराउने हाम्रो प्रयास छ । यो मानवीय र ईश्वरीय कार्य हो । यसमा ईश्वरको कृपा र संघका कार्यकर्ताहरूको, समाजका सम्पन्न वर्गको उदार मन, साथ र सहयोग हामीलाई प्राप्त भइरहोस् भन्ने कामना गरेका छौँ ।”
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ