arrow

रसुवाका सांसद तामाङलाई हिरासत, ललितपुरका सांसद सिलवाललाई छुट

कोरोनाको राहत वितरणमा समेत गृहको राजनीतिक पूर्वाग्रह 

logo
प्रकाशित २०७६ चैत १८ मंगलबार

काठमाडौं । गृह मन्त्रालयले सांसदहरुलाई समेत काखा र पाखा गरी पूर्वाग्रह गरेको देखिएको छ । गृहमन्त्रालयले लकडाउनका बेलामा कुनै सांसदलाई मास्क, सेनिटाइजर र खाद्यान्ह वितरणमा रोक लगाएको मात्र नभइ हिरासतमा राख्दा कुनै सांसदलाई भने खुलेआम बाँड्नका लागि मद्धतसमेत गरेको पाइएको छ । 

गृहले सत्तारुढ दलका सांसदलाई स्वागतसहित वितरणमा सघाउँदा प्रमुख प्रतिपक्षीका सांसदहरुलाई भने रोकमात्र नभई दुव्र्यवहार नै गरेको हो । 

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसका कारण पूरै देश लकडाउनको अवस्थामा रहेका बेलामा सरकारले घरमै बस्न भने पनि निर्णय विपरित ललितपुर क्षेत्र नं १ का प्रतिनिधि सभाका सदस्य एवं नेकपाका सांसद नवराज सिलवाल र प्रदेश सभा सदस्य चेतनाथ सञ्जेलले सोझै समुदायमा पुगेर सहयोग सामाग्री सिधै वितरण गरेको बताइएको छ । 

गोदावरी नगरपालिका वडा नं १ गोदामचौर र वडा नं ५ लेले स्थित विभिन्न स्थानमा मन्त्रालयको निर्णय विपरित राहत सामाग्री वितरण गरेको बताइएको छ । गत चैत्र १६ गते गृहमन्त्री रामवहादुर थापाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णय नं ७ मा स्पष्ट लेखिएको छ – ‘कुनै निकाय–संघ–संस्था–व्यक्तिले सहायता दिन चाहेमा सम्बन्धित स्थानीय तहमा सम्पर्क राख्नुपर्ने । स्थानीय तहले तोकेको मापदण्ड अनुसारका सहयोग सामाग्रीहरु भएमा मात्र स्थानीय तहले स्वीकार गरी वडा स्तरीय समिति मार्फत वितरण गर्ने । सो को विवरण अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाउने ।’

यसरी मन्त्रालयको निर्णयलाई ठाडो चुनौती दिंदै प्रहरीका पूर्व डीआईजीसमेत रहेका नवराज सिलवाल र प्रदेश सभा सदस्य चेतनाथ सञ्जेलले सिधै समुदायविच पुगेर सहयोग सामाग्री वितरण गरेको जनाइएको छ । 

नेकपावाट ललितपुर क्षेत्र नं १ र क्षेत्र नं १९ख० वाट गत निर्वाचनमा निर्वाचित भएका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यले गोदावरी नगरपालिकासँग कुनै पनि समन्वय गरेको देखिदैन ।

एकातिर सिलवाललाई सघाउने गृहले भने कोरोना विरुद्ध लड्न राहत बाँड्न गाउँ गएका रसुवाका नेपाली कांग्रेसका सांसदमाथि भने रसुवा प्रहरी प्रशासनले रोक लगाएको छ । 

जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित बृद्धिमबाट सदरमुकाम धुन्चे फर्कदै गरेका प्रदेश सभा सदस्य प्रेम तामाङलाई आइतबार राति करिब ८ बजे स्याफ्रुबेशी प्रहरीले रोक लगाएको हो । 

हिरासतमा राख्ने माथिको आदेश छ भन्दै स्याफ्रुबेशी प्रहरीले पास थुतेर करिब एक घण्टा हिरासतमा लिएको सांसद तामाङले बताए । 

‘जनताको माग अनुसार मास्क र साबुन पुर्याउन बृद्धिम गएको थिएँ, बृद्धिममा पनि मान्छे जम्मा गरेको थिइन, त्यहाँको वडाध्यक्ष दुईजना वडा सदस्यलाई यो सामान भिडभाड नगरि जनताको घरघरमा पुर्याइदिनुस है भनेर फर्कदै थिएँ’, उनले भने, ‘स्याफ्रुबेशीमा प्रहरीले गाडी रोक्यो, त्यहाँ सेनाको मेजर र प्रहरीको सई थिए । उनीहरुले रोकेर पास दिनुस् भने मैले दिए । अनि केहि समयमा किन पास रोक्नुभएको भन्दा तपाइलाई हिरासतमा राख्ने आदेश छ भन्नुभयो ।’

माथिको आदेश भन्दै प्रह्रीले हिरासतमा लिएपछि सांसद तामाङले जिल्लाको सिडियो अर्जुन भण्डारीलाई फोन गरेको बताए । सुरुमा यस्तो भयो के हो भन्दा सिडियोले ए हो र १ भन्ने कुरा मात्र गरेको र पुनः केहि समयपछि फोन गर्दा फोन नउठाएको सांसद तामाङले बताए । 

उनले भने, ‘मलाई लगभग एक घण्टा प्रहरी चेकपोष्टमा रोकेर राखियो, अन्तिममा सवारी पास चाहिँ उहाँहरुले राख्नुभयो, अनि तपाई जानुस् भनेर मलाई पठाइयो ।’ 

ज्यालादारी गरेर खाने मान्छे लकडाउनको कारणले गर्दा भोको परेपछि उनीहरुलाई  पेट भर्ने सामान पुर्याउँदा पनि अवरोध कस्को स्वार्थमा गरियो उनले प्रश्न गर्दै भने, दुःखी जनतालाई सेवा गर्न रोकिएर घरमै थुनिएर बस्न पर्ने भो । मैले मेरो जनताको दुःखमा साथ दिन नपाउने भएँ ।’

‘दुःखको बेलामा एउटा जनप्रतिनिधिले आफनो मतदाताहरुलाई सहयोग गर्न नदिने यो कस्तो राज्य संयन्त्र हो’ प्रदेश सासंद प्रेम तामाङले रोष प्रकट गर्दै भने, ‘यसमा राजनीति घुसेको छ।’

स्याफ्रुबेशी प्रहरीको हिरासत पछि मुक्त भएका तामाङलाई सदरमुकाम धुन्चेस्थित शसस्त्र प्रहरीले पुन रोकेको थियो।

कांग्रेस सांसद मोहन आचार्य र तामाङ्ले सो क्षेत्रमा मास्क, सावुन, सेनिटाइजर र दैनिक ज्यालादारी गरेर हातमुख जोर्ने परिवारलाई खाद्यान्न सहयोग गर्दै आएका थिए। प्रहरीको अवरोधले सो काम रोकिएको छ । 

यसअघि पूर्व संचारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सिन्धुपाल्चोकमा प्रहरीले रोकेको थियो । 

गृह नै पूर्वाग्रही ? 
यसरी गृह प्रशासन पूर्वाग्रही हुनु नहुने हो । गृहले त कानुनको पालना गर्नुपर्ने हो । 

कानुन पनि व्यक्ति र पार्टीपिच्छे फरक हुनै सक्दैन । यति हुँदाहुँदै प्रहरीले किन यस्तो व्यवहार गरिरहेको छ । 

प्रहरी जनसेवक हुन् । उनीहरुले जनतालाई भलो हुने कदम चाल्नुपर्ने थियो । तर माथिको आदेशका नाममा कुनै सांसदलाई हिरासतमा राख्ने र कुनै सांसदलाई राहत बाँड्न सघाउने कदम निन्दनीय छ ।

के गृह नै पूर्वाग्रही बन्न मिल्छ ? 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ