arrow

लकडाउनका समयमा राजनीति नगर्न कांग्रेस नेता गोपालमानको चेतावनी 

logo
प्रकाशित २०७६ चैत १९ बुधबार
gopalman-new-FNL.JPG.jpeg

काठमाडौं। नेपाली कांग्रेसका नेता एवं संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले सीमानाकामा अलपत्र नेपालीलाई नरोक्न सरकारलाई आग्रह गरेका छन् । उनले मुलुकका विभिन्न सीमावर्ती क्षेत्रमा नेपालीहरु केही दिनदेखि अलपत्र परेको उल्लेख गर्दै स्वास्थ्य परीक्षण गरेर उनीहरुलाई क्वारेन्टाइन बस्ने शर्तमा नेपाल प्रवेश गर्न दिन सरकारसँग आग्रह गरेका हुन् । 

बुधबार एक अपील जारी गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका कांग्रेस नेता श्रेष्ठले लकडाउनको अवधिमा जो जँहा छन्, त्यही नै रहने प्रवन्ध गर्नुपर्ने भएपनि सिमानामा आएर नेपाल प्रवेशका लागि हारगुहार गरिरहेकाहरुलाई रोक्न नहुनेमा जोड दिए ।  

'यस जटिल परिवेशमा सरकारले आफना नागरिकहरुप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्दै सीमानामा अलपत्र नागरिकहरुको पहिचान गरेर, उनीहरुको स्वास्थ्य परीक्षण,उचित सुरक्षा र क्वारेन्टाइनमा बस्ने पूर्व शर्तमा नेपालमा ल्याउने व्यवस्था गर्न अपरिहार्य देखिन्छ,’ उनले भने, ‘अपमानित ढंगबाट नेपाली नागरिकहरुलाई विदेशी भूमिमा अलपत्र छाड्नु कदापि हुँदैन ।’

भारतमा कार्यरत नेपालीहरु दार्चुलाको सीमावर्ती क्षेत्र धार्चुला, महाकाली किनार हुँदै कञ्चनपुर, कैलाली, नेपालगन्ज र सुनौली लगायत विभिन्न नाकामा नेपाल प्रवेशका लागि आग्रह गरिरहेको उल्लेख गर्दै नेता श्रेष्ठले लकडाउनका कारण भारतका विभिन्न राज्यमा ठूलो संख्यामा अलपत्र परेका नेपालीलाई भारत सरकार र  नेपाली दूतावास र जनसम्पर्क समितिहरुमार्फत उनीहरुको व्यवस्थापन गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘भारतका विभिन्न स्थानहरुमा रहेका नेपालीहरुलाई विद्यमान अवस्थामा यथास्थानमा नै सुरक्षित रुपमा राख्नका लागि सक्रियतापुर्वक भूमिका निर्वाह गर्न आग्रह गर्दछु,’ उनले भने । 

उनले मुलुकभित्रै विभिन्न स्थानमा अलपत्र परेका नेपाली नागरिकहरुलाई निर्धारित स्थानसम्म पुग्नका लागि जिल्ला प्रशासन कार्यालयहरुद्वारा वितरित पासमा राजनीति नगर्न पनि चेतावनी दिएका छन् । उनले राजनैतिक आस्था, व्यक्तिगत प्रतिष्ठा र नातावाद र कृपावादका आधारमा पूर्वाग्रही भएर पास नदिईसमेत आग्रह गरे ।

 ‘राजनीति गर्नका लागि अन्य प्रशस्त आधारहरु छन् । यस संकटको घडीमा मानवीय धर्म र आफनो दायित्वलाई बिर्सेर नेपाल सरकार गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरु कुनै पनि नागरिकहरुलाई विभेद गर्ने काम नर्गन र नगराउनका लागि म सचेत गराउन चाहन्छु,’ उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ