arrow

कोरोनाको संक्रमणबाट आफू बाँचेर अरुलाई बचाउँ

logo
नारायण अधिकारी,
प्रकाशित २०७६ चैत १९ बुधबार
corona-patient.jpg

 चितवन। विश्वमा कोरोनाको संक्रमणबाट आम नागरिक मात्र होइन, रोगकै उपचार गर्ने चिकित्सक र स्वास्थ्यकर्मी पनि अछुतो छैनन् । संक्रमणकै कारण मृत्यु भएकाहरुमध्ये १८ प्रतिशत हाराहारी चिकित्सक, स्वास्थ्यकर्मी रहेको तथ्याङक छ । 

बिरामीको उपचारमा उच्च सावधानी अपनाउन सके जोखिम झेल्नु नपर्ने अनुभवी चिकित्सकहरु बताउँछन् । भरतपुर अस्पतालका नवनियुक्त अध्यक्ष एवं भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारी आमजनतासँगै उपचारमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी पनि उत्तिकै सजग हुनुपर्ने बताउनुहुन्छ । 

कोरोना अस्पतालमा बाहिरी र भित्री भागमा काम गर्ने चिकित्सक, कर्मचारीहरुलाई त्यही खालका सुरक्षित पोशाक दिएर सुरक्षित तबरले काम गराइएको अधिकारीको भनाइ छ । बाह्य भागमा रहेर काम गर्नेहरुलाई एन ९५ माक्स र सामान्य व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) दिइएको छ । भित्री भागमा काम गर्नेलाई  विश्व स्वास्थ्य सङ्गठनले तोकेअनुसारको पिपिई, माक्स, चस्मा व्यवस्था गरिएको अधिकारी बताउनुहुन्छ । 

चिकित्सक, स्वास्थ्यकर्मीले सामाजिक दुरी अवलम्बन गरी सकेसम्म बिरामीको सम्पर्कमा कम जाने व्यवस्था मिलाइएको छ । अधिकारीले भन्नुभयो, “सिसी क्यामराको निगरानीमा बिरामी छन् । अनुगमन गर्न स्वास्थ्यकर्मीलाई परिचालन गरिएको छ । समस्या हुँदा सकेसम्म टाढैबाट समाधान गरिएको छ ।” बिरामीलाई छुनु पर्दा पिपिई अनिवार्य गरिएको छ । यसरी भित्री घेरामा बिरामीलाई हेर्नेलाई नारायणगढको एक होटलमा बसोबासको व्यवस्था गरिएको छ । त्यहाँ अहिले १८ चिकित्सक, स्वास्थ्यकर्मी बसिरहेका छन् ।  

सो अस्पतालले २५० जना कोरोनाको लक्षण भएका बिरामीको उपचार गरिसकेको छ । हाल अस्पतालमा १४ जना बिरामी भर्ना भएका छन् । अस्पतालमा मोवाइल चार्ज गर्नेदेखि अन्य गतिविधिका लागि सामाजिक दुरी बनाएर व्यवस्था गरिएको छ । नर्सिङ स्टेशन टाढै राखिएको छ । 

नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडा बच्ने, बचाउने र मैदान खाली नगर्ने रणनीतिका साथ आफूहरुले काम गरिरहेको बताउनुहुन्छ । भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख समेत रहनुभएका डा खतिवडा भन्नुहुन्छ “यो हाम्रो लागि अवसर हो । यस्ता सुनेका थियौँ देखेका थिएनौँ । प्रत्यक्ष सेवामा समर्पित भएर अवसर पहिलोपटक लिँदैछौँ ।”

चिकित्सक स्वास्थ्यकर्मीको सुरक्षासँगै सेवामा कसरी जुट्ने त खतिवडाको सुझाव छ “सकेसम्म कम जनशक्ति परिचालन गर्ने उनीहरुलाई आवश्यक सुरक्षा कवजको व्यवस्था गर्ने ।” व्याक्तिगत सुरक्षाका सामग्री (पिपिई) थोरै छ । अहिले प्रयोग गर्दा सकिन्छ । नगरौँ उच्चजोखिम छ । उहाँले भन्नुभयो, “यद्यपि बीचको बाटोबाट हामी काम गरिरहेका छौँ ।” 

सघन उपचार कक्षमा थौरै जनशक्ति राखेर उनीहरुलाई उच्चस्तरको पिपिई प्रयोग गर्न लगाइएको छ । बाहिर सामान्य गाउन र राम्रो माक्स प्रयोग गर्न लगाइएको छ । थोरै जनशक्तिबाट धेरै काम गर्ने रणनिति अपनाइएको छ । बिरामीसँग प्रत्यक्ष काम गर्नेलाई एक हप्ता काम र दुई हप्ता क्वारेन्टाइनको व्यवस्था गरिँदै छ । क्वारेन्टाइन घरबाहिर बनाइँदै छ । 

फिजिसियनले मात्र नधान्ने भएकाले अन्य चिकित्सक पनि परिचालन गर्ने गरी भरतपुर अस्पतालमा व्यवस्था गरिएको उहाँको भनाइ छ । नेपाल चिकित्सक सङ्घका केन्द्रीय उपाध्यक्ष डा अनिलबिक्रम कार्की यो संवेदनशील समयमा आफ्नो दायित्व पनि पूरा गर्नु पर्ने र सुरक्षित पनि हुर्नुपर्ने बताउनुहुन्छ । नेपालमा रहेका २५ हजार चिकित्सकमध्ये १६ हजार हाराहारी प्रतक्ष्य काममा रहेको कार्की बताउनुहुन्छ । झण्डै ६५ हजारभन्दा बढी स्वास्थ्यकर्मी रहेका छन् । उनीहरुको सुरक्षा आफैँमा महत्वपूर्ण भएको उहाँ बताउनुहुन्छ । 

चिकित्सक स्वास्थ्यकर्मीले अस्पतालमा मात्र नभएर आफनो घरमा पनि सावधानी अपनाउन उहाँको सुझाव छ । कार्कीले भन्नुभयो, “घरमा पुगेपछि पनि हामीले पोशाक बाहिर खोलेर कीटाणु मार्ने रसायन प्रयोग गरी कपडा धुने, अलगै सुकाउने, माक्स, सेनिटाइजर जस्ता वस्तुको प्रयोग गर्नुपर्छ ।” यो रोग थुक, ¥यालबाट सर्ने भएकाले सामाजिक दुरी कायम गरी बिरामी हेर्न, भिडभाड नगर्न उहाँले सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “डराउनु पर्दैन, उच्च सतर्कता अपनाउनै पर्छ ।” राज्यले पनि बिमा र काम गर्नेलाई प्रोत्साहन हुने गरी कार्यक्रम ल्याउनु पर्ने कार्कीको भनाइ छ । उहाँले भन्नुभयो, “बिरामी उपचार गर्दै गर्दा केही भई हालेमा राज्य छ भन्ने अनुभूति दिलाउनु पर्छ । ”

सरकारले जोखिममा काम गर्नेहरुलाई शतप्रतिशत भत्ता दिन जनाएको छ । यहाँको भरतपुर महानगरपालिकाले कोरोना अस्पतालमा काम गर्नेलाई थप २५ प्रतिशत प्रोत्साहन भत्ता दिँदैछ । अन्य स्थानीय तहले पनि यसरी काम गर्ने स्वास्थ्यकर्मीको मनोबल बढाउनु पर्ने देखिन्छ । यससँगै चिकित्सक, स्वास्थ्यकर्मीले पनि आफू पनि बाँचेर अर्कालाई बचाउनु पर्ने अहिलेको बाध्यता रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ