arrow

बाबा रामदेवले कोरोनाबाट बच्न गुर्जोको रस बताएपछि जंगलमा लहरा खोज्दै दैलेखका स्थानीय

logo
पुरुषोत्तम थापा,
प्रकाशित २०७६ चैत २० बिहिबार
ramdev1.jpg

दैलेख । कुनै बेला दैलेखको जंगलमा त्यतिकै खेर गइरहेको गुर्जोको सेवनगर्नेहरु आजभोली ह्वातै बढेको छ् । 

गुर्जोको सेवन गर्दा कोरोना भाइरस (कोभिड— १९) को सङ्क्रमण नहुने विश्वासले पछिल्लो समय दैलेखमा यसको सेवनकर्ता बढेका हुन् । लकडाउनका कारण दैलेख बजार बन्द भएपछि यहाँका अधिकाँश व्यक्ति नजिकैको जंगलमा गुर्जो लहरा खोज्न जाने गरेका छन् । गुुर्जो खोजेर ल्याएपछि उनीहरु त्यसको सेवन गर्न थालेका छन् ।

केही दिन पहिले भारतीय योग गुरु बाबा रामदेवले कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणबाट बच्न गुर्जोको रस पीउँदा बढी फाइदा हुने बताएपछि अहिले गुर्जो सेवनकर्ताको सङ्ख्या ह्वातै बढेको हो । यहाँका स्थानीवासी आजभोलि प्रायजसो प्रत्येक दिन गुर्जो खोज्न जङ्गल जान थालेको ठाटीकाँध गाउँपालिका—५का वडाअध्यक्ष पंखबहादुर शाहीले बताए । उनले भने, “गाईभैसीलाई घास काटन, मेलापात जाने अधिकाँश गाउँका मानिसले घाससँगै गुर्जो ल्याउँछन् ।” 

  आजभोली गाउँभन्दा बजार क्षेत्रमा गुर्जोको प्रयोगकर्ता बढेको योग गुरु शंकर थापाले बताए । “अहिले अधिकाँश घरमा यसको प्रयोग बढेको छ । “कर्मचारी ,बुद्धिजिवी र व्यापारी गरी करिब तीन सय शिष्यलाई गुर्जाेको पानी सेवन गर्न सल्लाह दिएको छु”, उनले भने, “हिजोआज उनीहरु  नियमित रुपमा गुर्जोको सेवन गरिरहेका छन् ।” “योगका साथै हामीले गुर्जोको रस सेवन गर्दा कुनै रोगले छुदैन भन्ने सिकराइरहेका छौं”, योग गुरु थापाले  भने, “यो लहरा संजीवनी बुटी जस्तै हो । अधिकाँश आयुर्वेदिक औषधीमा गुर्जोको प्रयोग हुने भएकाले यसलाई रामवाण औषधी भनिएको हो ।” गुर्जोमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमता भएकाले यसको प्रयोग गर्दा अन्य कुनै रोग सजिलै मानिसलाई समात्न सक्दैन, उनले भने । 

 त्यसैगरि प्रेस सङ्गठन दैलेखका केन्द्रीय सदस्य विष्णु शर्माले आफू प्रत्येक दिन गुर्जो पानीको सेवन गर्ने गरेको उल्लेख गर्दै यसको नियमित प्रयोगले सामान्य सरुवा रोग नलाग्ने र प्रतिरक्षात्मक क्षमता बढाउने बताए । 

भारतीय योग गुरु बाबा रामदेवले केही दिन अघि भारतको झारखण्ड राज्यको एक कार्यक्रममा गुर्जोको रस पीउँदा कोरोना भाइरसबाट सङ्क्रमित हुन नसक्ने बताएपछि अहिले यसको प्रयोगमा वृद्धि भएको छ । 

वनस्पति विज्ञ आयुर्वेदिक चिकित्सकले यो रोगसँग लड्न सक्ने क्षमता बढाउन मद्दत गर्ने भएकाले गुर्जो सेवन गर्न सल्लाह दिएका छन् । औषधी नहुँदा गाउँघरमा गुर्जोकै रस सेवन गरि विभिन्न रोग निको भएको थुप्रै उदाहरण रहेको दैलेख चामुण्डा नगरपालिका–३ का रजबहादुर शाहीले बताए । “म गाउँघरमै जडिबुटीबाट औषधोपचार गर्दै आएको छु । अहिले ७३ बर्षको भए । मैले बाथ, ज्वरो, रुघाखोकी जस्ता विभिन्न रोगको उपचार गरेको छु, यी सबैमा गुर्जोको प्रयोग गर्ने गरेको छु”, उनले भने । 

गुर्जोको सेवन गर्दा कोरोनाको त्रास नभएको आठविस नगरपालिका–३ सात्तलाका वीरबहादुर नेपालीले बताए । “हामीले तीनदिन जङ्गल डुलेर गुर्जो ल्यायौं र खायौं पनि, अब यो सङ्क्रमणले छुदैन होला । तर सर्तक भने रहनैपर्छ”, उनले भने । गाउँमा गुर्जोको नामले चिनिने यो लहराले ज्वरो, रुघाखोकी, चिसो र बाथ रोगको उपचारमा प्रयोग हुँदै आएको छ । विभिन्न खाले एलर्जी, छालाको रोग र पेटका रोगको उपचारका लागि पनि यसको प्रयोग हुँदै आएको छ । यसको प्रयोग मधुमेहको उपचारका लागि पनि प्रयोग गर्ने गरेको जिल्ला आयुर्वेदिक स्वास्थ्य केन्द्रका चिकित्सक प्रसन्न नेपालले बताए । गुर्जोको लहरालाई सानो टुक्रा पार्ने, मसिनो गरी थिच्ने अनि आफूलाई आवश्यकता अनुसार पानी हालेर २४ घण्टापछि त्यसलाई छानेर नियमित सेवन गर्नाले धेरै रोग निको हुने उहाँको विश्वास छ । 

पछिल्लो समय दैलेखमा गुर्जोको सेवनकर्ता बढेपछि यसको चोरीनिकासीमा समेत वृद्धि भएको छ । जथाभावी गुर्जो काट्ने र लैजानेको सङ्ख्या बढेपछि जंगलमा चौकीदारलाई सचेत पारिएको माल्ली सल्लेरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जोख बहादुर थापाले जानकारी दिए । “जंगलमा पाइने जडिबुटीको जथाभावी चोरी निकासी हुन थालेपछि यसको संरक्षणका लागि अनाधिकृत व्यक्तिलाई वनमा प्रवेश गर्न रोक लगाइएको छ र यसका लागि चौकीदारलाई खटाएको उनले बताए । 

“यसको औषधीय गुणको बारेमा विगतमा धेरैलाई थाहा थिएन्, जंगलमा त्यतिकै खेर जान्थ्यो, गाईभैंसीको घाँस काट्नमा प्रयोग हुन्थ्यो”, अध्यक्ष थापाले भने,   “यसको औषधीय गुणका बारेमा अब धेरैलाई थाहा भएको छ । त्यसैले यसको संरक्षण र प्रवद्र्धन गरी बहुउपयोगी औषधीको रुपमा प्रयोग गर्ने योजनालाई अगाडि बढाउने छौं ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ