arrow

रत्नपार्कको प्रदुषण २५ मा झर्‍यो, सबैभन्दा कम प्रदुषण नेपालगञ्जमा

logo
शान्ति रेग्मी,
प्रकाशित २०७६ चैत २१ शुक्रबार
kathmandu-valley-view.jpeg

काठमाडौं। विश्व स्वास्थ्य संगठनले हावामा प्रदुषणको मात्रा २ दशमलब ५ माइक्रोनभन्दा साना कणहरू प्रति घनमिटर २५ सम्म भए त्यसलाई ग्रीन जोन अर्थात बस्नलायक क्षेत्र मान्ने गरेको छ। तर नेपालले ५० सम्म भए त्यसलाई ग्रिन जोन मान्ने गरेको छ।

रत्नपार्कको प्रदुषण अहिले विश्व स्वास्थ्य संगठनको मापदण्डभित्र छ। बिहीबार साँझ रत्नपार्कको प्रदुषण हावामा २ दशमलब ५ माइक्रोनभन्दा साना कणहरूप्रति घनमिटर २५ मात्र छ। वातावरण विभागको वेइवसाइटमा बिहीबार साँझ रत्नपार्कको प्रदुषण २५ राखिएको छ। वातारणवीद्हरूको अनुसार यो भनेको अत्यन्त कम हो। यसअघि यसरी प्रदुषण यसरी कहिल्यै तल झरेको थिएन।

विभागका अनुसार यस्तो प्रदुषण यसअघि वर्षा याममा लगातार वर्षा हुँदा पनि हुदैनथ्यो। लक डाउन पछि रत्नपार्क मात्र नभइ देशभर प्रदुषणको मात्रा ह्वात्तै घटेको छ। यसअघि वर्षायाममा लगातार वर्षा हुँदा रत्नपार्कको प्रदुषण ४० को वरिपरी हुने गरेको विभागले जनाएको छ। वातावरण विभागका अनुसार बिहीबार साँझ सबैभन्दा कम प्रदुषण नेपालगञ्जमा छ। नेपालगञ्जमा प्रदुषणको मात्रा १६ मात्र छ। नेपालगञ्ज पछि प्रदुषण कम भएको क्षेत्र रत्नपार्क नै हो। रत्तपार्कमा प्रदुषण २५ हुँदा काठमाडौंको शंखपार्कमा भने प्रदुषण ४८ पुगेको छ। नेपालले ४८लाई पनि ग्रिन जोन नै मानेको छ।

काठमाडौंको रत्नपार्क, पुल्चोक, भक्तपुर तथा धुलीखेलमा राखिएका प्रदूषण मापन केन्द्र (स्टेशनहरू) हरूले हरियो चिह्न अर्थात बसोवासकालागि उपयुक्त देखाएका छन्। नेपालले हावामा प्रदुषणको मात्रा २ दशमलब ५ माइक्रोनभन्दा साना कणहरू ४० भन्दा कम देखिएमा त्यसलाई ग्रीन जोन मान्ने मापदण्ड बनाएको छ। ‘तर हामीले ५० भन्दा कम देखिएमा पनि ग्रीन जोन मान्ने गरेका छौ’ वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले बताए। विभागका अनुसार लक डाउन पछि देशभर प्रदुषणको मात्रा ह्वात्रै कम भएको छ।

काठमाडौको भैसेपाटीमा राखिएको स्टेशनले भने बिहीबार त्यस क्षेत्रलाई ग्रीन जोन देखाएन। बिहीबार साँझ भैसेपाटीमा प्रदुषणको मात्रा ५९ पुगेको छ। हावामा प्रदुषणको मात्रा ५० कटे पछि त्यसलाई ‘एलो जोन’ अर्थात पहेलो चिह्नमा राखिन्छ। वातावरणवीद्हरूका अनुसार प्रदुषणको मात्रा एक सयसम्म देखाएमा त्यसलाई एलो जोन अर्थात पहेलो रंग मान्ने गरिएको छ। एलो जोन देखिएमा त्यस क्षेत्रलाई बस्नकोलागि लागि ‘ठिकै अवस्था’ मान्ने गरिन्छ। तर प्रदुषणको मात्रा १ सय ५० र त्योभन्दा माथि देखिएमा रेड जोन अर्थात रातो चिन्ह मान्ने गरिएको छ। रेड जोन देखिएमा त्यसले बस्नकोलागि अत्यन्त जोखिमपूर्ण संकेत गर्छ।

विभागका अनुसार लक डाउन पछि रत्नपार्कमा प्रदुषणको मात्रा हरेक दिन ५०भन्दा कम नै छ। विभागको रेकर्डमा रत्नपार्कमा सबैभन्दा बढी प्रदुषण १ सय ८० सम्म पुगेको छ। यस वर्ष शिवरात्रीको दिन रत्नपार्कमा प्रदुषणको मात्रा ह्वात्तै बढेर १सय ८० सम्म पुगेको विभागले जनाएको छ।

वन तथा वातावरण मन्त्रालयका अनुसार नेपालमा प्रदुषणको मात्रा बढ्नुमा गाडीबाट निक्कने धुवाँ ३५ प्रतिशत जिम्मेवार छ। यसैगरी उद्योग तथा कलकाराखानाहरूले २५ प्रतिशत र इट्टाभट्टाहरूले २५ प्रतिशत प्रदुषण बढाउने गरेका छन्। बाँकि १५ प्रतिशत अन्य क्षेत्र जिम्मेवार हुने ढुंगानाले जनाए। लकडाउन पछि देशभर यातायात, कलकारखाना तथा इट्टाभट्टा ठप्प भएका छन्।

विभागका अनुसार सिमरामा भने सोचे जति प्रदुषण कम भएको छैन। बिहीबार सिमरामा प्रदुषण एक सय ११ पुगेको छ। यो भनेको बस्नकोलागि त्यती उपयुक्त मानिदैन। २ दिन अघिसम्म सिमरा रेडजोनभित्र रहेको थियो। सिमरामा प्रदुषण नघटेकोमा थप अध्ययन गर्न आवश्यक रहेको प्रवक्ता जोशीको भनाइ छ। विभागका अनुसार दमक र धनकुटा पनि पहेलो चिह्नभित्रै छन्। जस अनुसार दमकमा प्रदुषणको मात्रा ७२ र धनकुटामा प्रदुषणको मात्रा ८१ पुगेको छ। विभागका अनुसार सिमरा पछि सबैभन्दा बढी प्रदुषण भएको ठाउँ धनकुटा हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ