मोरङ्ग। दुई तिहाईको स्पष्ट बहुमत भएको सरकारका मन्त्रीहरु एक पछि अर्को गर्दै विवादमा परेपछि सरकारप्रति जनताको विश्वास घट्न थालेको छ। तत्कालिन सभामुख कृष्णबहादुर महरा, सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाको प्रकरण सेलाउन नपाउदैं स्वास्थ्य मन्त्री भानुभक्त ढकाल पनि भ्रष्टाचारको विवादमा मुछिएका छन्।
मन्त्री ढकाल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी परेको भोलिपल्ट बिहीबार उपप्रधानमन्त्री ईश्वर पोखरेलविरूद्ध पनि उजुरी परेपछि उनीहरु पनि शंकाको घेरामा छन्।
कोरोना विरुद्ध लड्ने स्वास्थ्य सामग्री आउँछ भनेर आकासतिर मुन्टो लगाएर हेरिरहेको बेला जहाजमा नक्कली सामग्री आएपछि नेपालका मन्त्रीहरू कात्रो खरिदमा पनि कमिसन खान्छन् भन्ने सन्देश प्रवाह भएको छ। यस घटनापछि आमनागरिकका बीचमा स्वास्थ्य मन्त्रीको नैतिकतालाई लिएर गम्भिर प्रश्न उठ्न थालेको छ।
यो विषयमा प्रधानमन्त्री समेत मौनतालाई यो प्रकरणमा उनको संरक्षण रहेको रुपमा पनि हेरिन थालिएको छ। हुन त देशै विरामी, प्रधानमन्त्री झनै विरामी,कमजोर प्रतिपक्ष र आफ्नै घर झगडाले नेकपा भित्र पनि एकले अर्कोलाई सक्ने अभियान सुरु भएको छ।
यसैबीच स्वास्थ्यमन्त्री भानुभक्तका दाई टंक ढकालले कोरोना संकटका बेला स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार र अनियमितता पाइएपछि छानबिन हुनुपर्ने माग गरेका छन्। उनले आफ्नो भाईले फट्याई गरेको प्रतिक्रिया दिए। टंकले भ्रष्टाचार काण्डबारे प्रधानमन्त्री ओलीले तत्काल जनतालाई आश्वस्त पार्नुपर्ने उल्लेख गरे। स्वास्थ्य मन्त्रालयले गर्नुपर्ने जति काम गर्न नसकेको उनको आरोप छ।
देशको उच्च ओहादामा बसेर यस्तो जनताको हित विपरीत काम गर्दा लज्जावोध भएको ढकालले बताए। ‘भ्रष्टाचार कदापी स्वीकार्य हुन सक्दैन। तर मुलुक महाविपत्ति र महासंकटको अवस्थाबाट गुज्रिरहेका बेला समेत सरकारका मन्त्रीहरु कमिसनको चक्करमा मुछिनु नेपाली माटोका लागि दूर्भाग्य हो,' उनले भने।
'यदि यो कुरा पुष्टी भए स्वास्थ्यमन्त्रीसहित उपप्रधानमन्त्री र यससँग जोडिएका सबैलाई तत्काल हिरासतमा लिएर कारबाही अघि बढाउन पर्छ,' उनले भने 'जनताको गाँस, वास र कपास र स्वास्थ्यसँग जोडिएको कुरामा मन्त्रीहरु कमिसनमा लागेका बेला प्रधानमन्त्री केपी ओली मौन किन म प्रश्न गर्न चाहन्छु।'
ढकालले आफु कम्युनिष्ट विचार धाराको भएपनि नेपालको कम्युनिष्ट कमाउनिष्ट भएको आरोप लगाए। उनले भने, 'म कम्युनिष्ट बिचारमा हिडेको मान्छे, बेतिथि बारे बोल्दा पार्टीले कारवाही गर्छ भने गरोस।' ढकालले कोरनाको महामारीमा आफुपनि बचौं र अरुलाई पनि बचाऔंको नीति अबलम्बन गर्नुपर्ने बताए।