arrow

लकडाउनपछि फेरिएको स्वास्थ्यमन्त्री ढकालको दैनिकी

logo
शरद शर्मा, रासस
प्रकाशित २०७६ चैत २४ सोमबार
bhanubhakta-dhakal-minister.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी (लकडाउन) गरेको सोमबार चौधौँ (१४) दिन हो । लकडाउनको १४औँ दिन पुग्दा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको पनि दैनिकी बद्लिएको छ । उनको अहिलेको दैनिकी मन्त्रालयमा गएर त्यहाँका कर्मचारीसँग छलफल गर्ने मात्र नभएर कोभिड–१९ नियन्त्रणका लागि के गर्न सकिन्छ, त्यसमा स्वास्थ्यविज्ञसँग निरन्तर छलफलमा केन्द्रित हुने गरेको छ ।

बिहानदेखि रातिसम्म प्रधानमन्त्री केपी शर्मा ओलीदेखि लिएर सरोकारवाला मन्त्री तथा चिकित्सक र स्वास्थ्यकर्मीसँग कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अपनाइने विभिन्न विषयमा नियमित संवादमा उनी छन् । मन्त्री ढकालले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र कोभिड–१९ को नियन्त्रण तथा प्रतिकार्यका लागि बनेको सङ्कट व्यवस्थापन समितिको सदस्यका रुपमा रहेका छन् । ती समितिको बैठकमा पनि उनले अनिवार्य सहभागी भएर कोभिड–१९ को न्यूनीरकण तथा नियन्त्रणका लागि सरकारले चाल्नु पर्ने कदमबारे छलफल गर्छन् । 

विभागीय मन्त्री भएकाले पनि उनको जिम्मेवारी अहिले बढेकाले पनि उनी अहिले बढी खट्ने उनका स्वकीय सचिव भुवन खतिवडाले जानकारी दिए । “लकडाउन भएपछि उनको दैनिकी फेरिएको छ”, मन्त्री ढकालको भतिजा सौगात ढकालले भने, “बिहानदेखि साँझसम्म कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न आयोजित बैठकमा व्यस्त हुनुहन्छ ।”

लकडाउनसँगै उनको दैनिकमा आएको परिवर्तनले उनको साँझको खाने र सुत्ने समय निश्चित छैन । बिहान भने सधैँ ८ बजे खाना खानुहुन्छ । “बिहानको खाना भने समयमा नै खानुहुन्छ । त्यसपछि दिउँसो खाजा र रातिको खानाको निश्चित हँुदैन”, उनका भतिजा ढकालले भने, “मन्त्री निवास पुगेपछि सबैसँग फोन संवाद गर्दा उनको रातिको १२ बज्छ । त्यसपछि मात्र सुत्नुहुन्छ ।” राति सुत्नुभन्दा अगाडि कोभिड–१९ का सन्दर्भमा सामाजिक सञ्जालमा आएका विभिन्न प्रतिक्रिया हेर्छन् । 

मन्त्री ढकालले अचेल साढे ८ देखि ९ बजेको बीचमा मन्त्रालय पुगिसक्नुहुन्छ । बिहान मन्त्रालय पुगेपछि सचिव यादव कोइराला विभागी प्रमुख, आफ्ना सचिवालयका सदस्य र चिकित्सकसँगको छलफलमा एक छिन ब्रिफिङ सुनेर सिंहदरबारमा हुने महत्वपूर्ण बैठकमा सहभागी छन् । 

आकस्मिक बैठकबाहेक उनी मन्त्रालयमा नै रहन्छन् । मन्त्रालयमा बस्दा मन्त्रालयका उच्चपदस्थ कर्मचारी, चिकित्सक तथा सञ्चरकर्मीसँग व्यस्त हुनुपरेको स्वकीय सचिव खतिवडाले बताए । 

नेपालमा कोभिड–१९ को सङ्क्रमणको दोस्रो चरणमा प्रवेश गरिसकेकाले पनि मन्त्री ढकाललाई थप चुनौती थपिएको छ । विदेशबाट आएकाबाट केही दिनअघि एक जनामा सङ्क्रमण  (सोसल ट्रान्समिसन) भेटिएपछि उनले अब कसरी यसलाई रोक्न सकिन्छ भन्नेतर्फ गम्भीर भएर लाग्नुभएको मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा खेम कार्कीले बताए । 

उनले अहिले अरुबेला राजनीतिक पार्टीका नेता तथा कार्यकर्तालाई दिइने समय चिकित्सक र कोरोना नियन्त्रणमा दिनुभएको उनको स्वकीय सचिव  खतिवडाको भनाइ छ । “अहिले उनको कसैसँग पनि राजनीतिक कुरा हुँदैन”, उनले भने, “कसरी कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न सकिन्छ भनेर मात्र उनको ध्यान केन्द्रित भएको छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीसँग निरन्तर फोन संवाद र आवश्यक परे प्रधानमन्त्री निवास बालुवाटारमा समेत उहाँ जाने गर्नुभएको छ । 

उनको दैनिकजसो बैठकबाहेक दिनमा एकपटक कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललाई भेट्नुहुन्छ भने दिनमा आवश्यकताअनुसार उहाँसँग फोनमा पनि संवाद गर्छन् । 

यसैगरी उहाँ अर्थ एंव सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडा, गृहमन्त्री रामवहादुर थापा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्टसँग पनि नियमित समन्वय र सम्पर्कमा छन् । 

दिनभरिको व्यस्ततापछि राति ९ बजेतिर मन्त्री ढकालले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले गठन गरेका विभिन्न समितिका संयोजकसँग व्रिफिङ लिनुहुने भतिजा सौगात ढकालले बताए । वैदेशिक समन्वय, आपूर्ति व्यवस्थापन, प्रयोगशाला व्यवस्थापन, सूचना व्यवस्थापन, कर्मचारी व्यवस्थापनका संयोजकसँग भएका दैनिक प्रगतिबारे उनले आफँै फोन गरेर व्रिफिङ लिने गर्छन् । 

मन्त्री ढकालले मन्त्रालयका स्वास्थ्य विज्ञ सल्लाहकार डा कार्की, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइराला, मेडिकल सुपरिटेन्डेन्ट डा गुणराज लोहनीसँग पनि नियमित छलफल गर्छन् ।  

यसैगरी सोमबार पनि सोमबार लकडाउनका १४औ दिन उनी बिहान ९ बजे नर्भिक इन्टरनेसनल अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनले उपलब्ध गराएको स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी भए । त्यो कार्यक्रम सकिएलगत्तै उहाँ शुक्रबार र आइतबार कोरोना हब अस्पतालका लागि तोकिएका छ वटा अस्पतालको अनुगमन प्रगतिका बारेमा विफ्रिङ लिएको मन्त्रालयका स्वास्थ्यविज्ञ सल्लाहाकार डा कार्की जानकारी दिए । 
 
त्यसपछि मन्त्री ढकालले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा १०ः३० बजे सिंहदरबार पुगे । समितिको  बैठक सकेर पुनःरक्षामन्त्रालयमा औषधिजन्य खरिदबारे रक्षामन्त्री पोखरेलसँग अर्को बैठकमा सहभागी हुनुभयो । मन्त्री ढकालले त्यो बैठक सकेर पुनःप्रधानमन्त्री निवास बालुवाटारमा २ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा सहभागी भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ