arrow

लकडाउनको १५ औं दिनः सरकारको सेवा कम, नागरिकलाई छट्पटी बढी

काठमाडौं उपत्यकाबाट बिहान ७१७ जना पक्राउ, १८४ सवारी नियन्त्रणमा

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
lockdown-bike.jpg

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन लगाएको लकडाउनको मंगलबार १५ औं दिन हो । बैशाख ३ गतेसम्म फेरि समय लम्बिएको छ । 

लकडाउन लगाएर सरकारले नागरिकलाई घरमै बस्न आग्रह गर्दै आएको छ । तर जनतालाई परेको पीरमर्का बारे भने सरकारले खासै चासो देखाएको छैन । 

नेपाल प्रहरीको १०० र १०३ मा बिरामी भएकादेखि खान नपाएर छट्पटिनु परेका गुनासा धेरै आएका छन् । 

प्रहरीका अनुसार कहिले बाहिर निस्कन पाइन्छ ? केही उपाय छैन ? बिरामीलाई कसरी अस्पताल लैजाने ? भनेर प्रश्नहरु सोधिरहेका हुन्छन् । 

तर सरकारी अस्पतालमा समेत ओपीडी सेवा बन्द रहेका अवस्थामा सर्वसाधारण अप्ठेरोमा छन् । पहुँच हुनेवालाहरुलाई सरकारले गाडी पठाइदेला तर कति छन् पहुँचवाला ? 

यस बारेमा सम्बन्धित निकायले चासो नदेखाएको भन्दै सर्वसाधारण आक्रोशित हुन थालेका छन् । 

सरकारको गैरजिम्मेवारी, बढ्दै गएको भ्रष्टाचार, अव्यवस्थित थितिको जताततै आलोचना भइरहेको छ । 

यसलाई व्यवस्थित गर्नका लागि संघीय, प्रदेशदेखि स्थानीय तह लाग्नुपर्नेमा पनि जोड दिइएको छ । 

उल्लंघन गर्ने बढ्दै
छट्पटी बढ्दै गएपछि सर्वसाधारण सडकमा निस्कन थालेका छन् । यसका कारण उल्लंघन गर्नेहरु पनि बढी छन् । 

महानगरीय प्रहरी परिसर रानीपोखरीले दिएको जानकारी अनुसार बिहान ७ बजेसम्म लकडाउन उल्लंघन गर्ने १३ चार पाङ्ग्रेसहित १८४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

लकडाउन उल्लंघन गर्ने सर्वसाधारणको संख्या भने उल्लेख्य छ । ५३७ जना काठमाडौंबाट नियन्त्रणमा लिइएको छ । 

त्यसमा ४५० पुरुष र ८७ महिला हुन् । तीमध्ये २५ जनालाई मात्र छाडिएको छ  । 

त्यस्तै ललितपुरमा १७२ जनालाई नियन्त्रणमा लिइएको छ । तीमध्ये ३६ महिला तथा बाँकी पुरुष हुन् । कसैलाई पनि छाडिएको छैन । 

त्यस्तै भक्तपुरमा ८ पुरुषलाई नियन्त्रणमा लिइएको छ । कसैलाई पनि छाडिएको छैन । केही खुकुलो गरिएकाले पनि भक्तपुरमा पक्राउ पर्ने कम भएका हुन् । 

नियन्त्रणमा लिइएकालाई तीन घण्टासम्म जहाँ नियन्त्रणमा लिइयो त्यहीं राखेर सम्झाएर छाड्ने गरिएको छ । 

भित्री बाटोहरुमा निरन्तर सर्वसाधारण हिँडिरहेका छन् । पसलहरु पनि खुलेका छन् । 

पास भएका र अत्यावश्यकीय सवारी साधनहरु फाटफुट चलिरहेका छन् । सडकमा चाप कम भएका कारण काठमाडौं उपत्यकामा दुर्घटना भएको छैन । 

सुरक्षा अवस्था पनि सामान्य रहेको छ । प्रहरी नायक निरीक्षक चन्द्र भण्डारीका अनुसार २४ घण्टाको अवधिमा कसैलाई पनि नियन्त्रणमा लिइएको छैन । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ