फ्रन्टलाईन स्वास्थ्य, सञ्चार र सुरक्षाकर्मीलाई एक करोड बिमाको व्यवस्था गर्न भण्डारीको माग
संघ, प्रदेश र स्थानीय तहको बार्षिक तलब भत्ता र सांसद कोषको ५० अर्ब कोरोना रोकथामका लागि हरेक स्थानिय तहमा अत्याधुनिक स्वास्थ सेवा दिनेगरि खर्चिन सरकारसंग माग
प्रकाशित २०७६ चैत २५ मंगलबार
408
Shares
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले सरकारलाई संघ, प्रदेश र स्थानीय तहको बार्षिक तलब भत्ता र सांसद कोषको ५० अर्ब कोरोना रोकथामका लागि हरेक स्थानिय तहमा अत्याधुनिक स्वास्थ सेवा दिने गरी खर्चिन माग गरेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसहित राष्ट्रपति, सांसदको बार्षिक तलबको ३० प्रतिशत र सांसद कोषको ७२ अर्ब रुपैयाँ कोरोना रोकथामलाई दिन अध्यादेश ल्याउँदै गर्दा भण्डारीले नेपालमा पनि सरकारले नैतिकता देखाई उक्त शैलीको कोरोना रोकथामको उपाय अपनाउन आग्रह गरेका हुन् ।
भण्डारीले कोरोना विरुद्ध फ्रन्टलाईनमा खटिएका स्वास्थ्यसेवी डाक्टर, नर्स, एम्बुलेन्स चालकहरु, सञ्चारकर्मीहरु, कर्मचारी अनि सुरक्षाकर्मी निकै असुरक्षित रहेकोले पीपीई, सेनेटाईजर र एन ९५ मास्कहरु उपलब्ध गराउदै कम्तीमा १ करोडको बिमा गर्न अपिल गरेका छन् । भण्डारीले कांग्रेस पार्टी सभापति शेरबहादुर देउवालाई समेत विभिन्न १० बुँदे सुझाव प्रस्ताव गरेको बताए ।
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका भण्डारीले कोरोना विरुद्ध परिणाममुलक रणनीति बनाउन केन्द्रीय सदस्य, सांसद, स्थानीय तहका प्रतिनिधि सम्मिलित आपतकालीन बैठकलाई भिडियो कन्फ्रेन्स मार्फत गर्दै सुझाव संकलन गरि प्रतिपक्षी दलको तर्फबाट ‘राष्ट्रको नाममा सम्बोधन’ को नयाँ अभ्यास गर्न प्रस्ताव गरेका छन् ।
भण्डारीले नेपाली कांग्रेस, नेपाल तरुण दल, ट्रेड युनियन कांग्रेसको केन्द्रीय कार्यलयको ७५ प्रतिशत भाग अनि ७७ जिल्ला नेकां र भातृ–शुभेच्छुकको भवन क्वारेन्टाइन, खाद्य र राहत बितरण गोदाम बनाउँदै तरुण दल र नेबिसंघलाई सामाजिक दूरी कायम गर्दै स्वयंसेवक भई घरदैलोमै जनतालाई राहत र सेवा खटाउन माग गरेका छन् ।
सुदूरपश्चिचम प्रदेश लगायत देशको विभिन्न सिमाका नेपालीलाई उद्धार गरि सीमा क्वारेन्टाईनमा राखेर २१ दिनमा घर फर्काउन माग गरेका छन् ।