arrow

सङ्कटका काला बादल अवश्य हटेर जानेछन्ः प्रधानमन्त्री

logo
रासस,
प्रकाशित २०७६ चैत २५ मंगलबार
kp-oli7.JPG

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ का कारण उत्पन्न सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ भन्दै सङ्कटका काला बादल अवश्य हटेर जाने विश्वास व्यक्त गरेका छन् । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उहाँले मुलुक कोरोना विरुद्धको लडाईंमा होमिएको र देशमा सङ्क्रमणको पहिलो ‘केस’ पहिचान भएयताका साझा प्रयत्नले सङ्क्रमितको सङ्ख्या नौ जनामा मात्र सीमित गर्न सकिएता पनि मुलुक उच्च जोखिम रहेको यथार्थ चित्रण गरेका छन् ।

विकसित, सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरुलाई समेत आच्छुआच्छु पारिरहेको यस महामारीविरुद्ध जुध्न हाम्रो जस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्नु स्वाभाविक भएको बताउँदै प्रधानमन्त्रीले अहिलकोे सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणको आपूर्तिमा परेको उल्लेख गरेका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले भने, “नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको छ ।” साथै उनले महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको र आवश्यक सुरक्षा उपकरणको व्यवस्था गरिएको बताए ।

विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम भएको स्पष्ट गर्दै उनले यो हामी सबैको साझा लडाईं भएको र समाजको हरेक सदस्य यस लडाईंमा आफैं एउटा सिपाही हो भन्ने कुरा मनन गर्नुपर्नेमा जोड दिँदै त्यसो गरेर कोरोना भाइरसलाई परास्त गर्न सक्ने विश्वास व्यक्त गरे ।

क्वारेन्टिनमा बस्न आग्रह

कोभिड–१९ सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेकाले थप सचेत हुनुपर्ने अवस्था सृजना भएको वास्तविकता औँल्याउँदै प्रधानमन्त्रीले सबैलाई थप सचेत र सावधान रहन आग्रह गरे । विदेशबाट आएका सबैलाई ‘क्वारेन्टिन’मा बस्न आग्रह गर्दै उनले भने, “बाहिरबाट आएका सङ्क्रमितबाट स्थानीयमा सरेको सङ्क्रमण एक जनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौँ । यसबीच हजारौँको सङ्ख्यामा नेपालीहरु घर फर्किनु भएको छ । उहाँहरुमध्ये कतिपयले क्वारेन्टिनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ ।”

भ्रष्टाचारविरुद्ध निर्मततापूर्वक कारबाही हुने

भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न नसक्ने बताउँदै उनले कहीँकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारवाही गर्न वर्तमान सरकार किञ्चित पछि नपर्ने दृढता व्यक्त गरे । प्रधानमन्त्रीले भने, “समाजमा उठ्ने गरेका, खासगरी ‘मिडिया’ र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजातिविरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी सङ्कटको यस्तो परिस्थितिमा एकजुट भई लड्नुपर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन ।”

राष्ट्रिय एकता, राष्ट्रिय शक्ति

सरकार र जनताबीचको, राजनीतिक दलहरुबीचको, राज्य र समाजका सबै अङ्गहरुबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त भएको भन्दै प्रधानमन्त्रीले संसद्को साझा सङ्कल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरुको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई आफूले राष्ट्रिय शक्तिको रुपमा लिएको बताए । उनले आगामी दिनमा पनि त्यस्तो समझदारी र एकता निरन्तर रहनेमा आफू विश्वस्त रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ