arrow

लकडाउनको १६ औं दिनः दैनिकी कष्टकर बन्दै, उल्लंघन गर्ने पनि उत्तिकै 

अपराध सामान्य, प्रदूषण घट्यो, उल्लंघन बढ्यो

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
lockdown-bike.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिन नदिन सरकारले लागु गरेको लकडाउनको बुधबार १६ औं दिन हो । 

कोरोना भाइरस फैलिन नदिन सरकारले गत चैत ११ गते एक साताका लागि लकडाउन गरेको थियो । 

त्यसपछि चैत २५ गतेसम्म थपिएको थियो । फेरि लकडाउन थपेर बैशाख ३ सम्म पुर्याइएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा संवोधन गर्दै अबको दुई हप्ता निकै कठिन हुने बताएका थिए । 

जसका कारण बैशाख ३ पछि पनि थप एक हप्ता लकडाउन बढ्न सक्ने अनुमान गरिएको छ । 

जनजीवन कष्टपूर्ण 
१६ दिनदेखिको लकडाउनले जनजीवन निकै नै प्रभावित भएको छ । विशेषगरी पहुँच भएकाहरुलाई सामान्य लागे पनि मजदूरवर्गलाई भने समस्या भएको छ । 

दैनिक मजदूरी खाने वर्गले पहुँच नपुग्दा सबैले राहत पाएको अवस्था नभएको गुनासो गरेका छन् । 

धनी र पहुँच भएकाले पनि राहतको लाइनमा बसेपछि न्यून आय भएका गरीबलाई त्यसले मार परेको छ । 

त्यस्तै सर्वसाधारणको परिवार बिरामी हुँदासमेत उपचार नपाउँदा अलपत्र परेका छन् । 

त्यतिमात्र हैन ज्वरो आउँदासमेत अस्पतालहरुले उपचार गर्न नमानिदिँदा सरकार गैरजिम्मेवार भएको भनी आलोचना समेत हुने गरेको छ । 

सरकारले कोरोना भाइरसको संक्रमण रोक्ने नाममा दीर्घरोगीहरुलाई बेवास्ता गरेको आरोप समेत छ । 

उनीहरुलाई वास्ता समेत गरिएको छैन । 

अपराध सामान्य, प्रदूषण घट्यो, उल्लंघन बढ्यो
महानगरीय प्रहरी महाशाखा रानीपोखरी प्रहरी नायब निरीक्षक मिठु खड्काका अनुसार शान्तिसुरक्षा सामान्य रहेको छ । 

फाटफुट सामान्य कुटपीटका घटना भए पनि अपराधकै घटना निकै घटेका छन् । चोरी समेत पनि भएको छैन । 

लकडाउनका बेलामा सबैजसो घरमै रहने भएकाले चोरीका घटनामा कमी आएको हो । 

सवारी साधनहरु न्यून चल्नुका साथै उद्योग कलकारखानासमेत नचल्दा प्रदूषण भने हुन पाएको छैन । 

प्रदूषण निकै कम रहेको हो । यसले स्वास्थ्यमा समेत मद्दत पुर्याएको छ । वातावरण वातानुकुलित छ । 

लकडाउन तोड्दै सवारी चलाउने भने बढेका छन् । त्यतिमात्र होइन बिना काम घरबाहिर निस्केर पक्राउ पर्ने पनि धेरै छन् । 

लकडाउन उल्लंघन गर्नेहरु काठमाडौं उपत्यकाबाट थुप्रै पक्राउ परेका छन् । बुधबार बिहान मात्रै काठमाडौंबाट ३२० पुरुष र ९७ महिला गरी ४ सय १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ललितपुरबाट पनि पक्राउ परेका छन् । ९५ जना पक्राउ परेको प्रहरीले जनाएको छ । भक्तपुरमा भने कोही पक्राउ परेनन् ।  

ट्राफिक प्रहरी महाशाखाका अनुसार २४ घण्टामा लकडाउन उल्लंघन गर्ने ६३८ दुई पाङ्ग्रे र ५६ वटा चार पाङ्ग्रे गरी ६९४ वटा सवारी नियन्त्रणमा लिइएको थियो । 

त्यसमध्ये ६१७ जनालाई छाडिएको छ । ८१ सवारी अझै नियन्त्रणमा रहेका छन् । सम्झाइबुझाइ उनीहरुलाई निश्चित समयपछि छाडिएको प्रहरीले बताएको छ ।  

सरकारले गरेको लकडाउनलाई व्यवस्थित गराउने क्रममा ट्राफिक प्रहरीले मानिससंगै सवारी नियन्त्रणमा लिँदै आएको छ । 

अत्यावश्यक बाहेकका सवारीलाई कार्वाही गरिएको हो । मानिसका हकमा तीन घण्टा जहाँ नियन्त्रणमा लिइयो त्यहीं रोकेर राख्ने गरिएको छ । 

काठमाडौं बाहिर पनि उल्लंघन गर्नेहरु बढेका छन् । स्थानीय सरकारहरुले भने आफूखुशी नियम लगाउन थालेका छन् । 

उनीहरुले ज्यान भन्दा ठूलो केही हैन भन्दै कडा नियमसमेत लगाउन थालेका छन् । कुनै तहमा खोलो तर्न नपाइने समेत नियम बनाइएको छ । 

एक गाउँबाट अर्को गाउँमा छिर्न नपाइने नियम समेत बनाइएको छ । नियम तोडे ६ महिना जेलसम्मको व्यवस्था गरिएको छ । 

सरकारले यस्ता नियममा कडाइ गरे पनि कोरोना संक्रमण पत्ता लगाउन धेरै भन्दा धेरै परीक्षण भने गर्न सकेको छैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ