arrow

जनआन्दोलन सफल भएको दिन गणेशमानको नेतृत्व सम्झिए प्रकाशमानले

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
Prakashman-Singh.jpg

काठमाडौं। आज चैत २६ गते। २०४६ सालको शान्तिपूर्ण जनआन्दोलनमार्फत प्रजातन्त्र पुनर्बहाली भएको ऐतिहासिक दिनको सम्झना गरिँदै छ। जनआन्दोलनलाई उत्कर्षमा पुर्‍याएर ३० वर्ष लामो निरंकुश पञ्चायती व्यवस्थालाई ढालेको दिनलाई नेपाली कांग्रेस, नेकपा लगायतका दलहरुले विशेष स्मरण गर्दछन् । 

तर, कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेकाले यस वर्ष जनआन्दोलन दिवसमा कुनै कार्यक्रम आयोजना गरिएको छैन । वि.सं. २०४६ सालमा राजनीतिक दलहरुको संयुक्त आन्दोलनपछि तत्कालीन राजा वीरेन्द्रले आजकै दिन बहुदलीय व्यवस्था घोषणा गरेका थिए । 

आन्दोलनको नेतृत्व कांग्रेस संस्थापक नेता गणेशमान सिंहको अगुवाइमा भएको थियो । जहानियाँ राणा शासन र पञ्चायती व्यवस्था ढाल्न नेतृत्वदायी भूमिका खेलेपछि राजनीतिक दलहरुले गणेशमानलाई सर्वोच्च कमाण्डर भन्न थाले । 

उनै गणेशमानका छोरा एवम् कांग्रेसका नेता प्रकाशमान सिंहले बुवाको स्मरण गर्दै आजको दिनलाई ऐतिहासिक भनेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘२०४६ सालमा आजकै दिन सर्वोच्च कमाण्डर सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलनबाट तानाशाही पञ्चायती व्यवस्था अन्त्य भै बहुदलीय व्यवस्था पुनःस्थापना भएको हो । आज नेपाली जनताको जित भएको ऐतिहासिक दिन हो । यस विशेष दिनको अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै प्रजातन्त्र प्राप्तिको जनआन्दोलनमा आफ्नो ज्यान बलिदान गर्नु हुने ज्ञात–अज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।’ 

सिंहले बिभिन्न कालखण्डमा हामीले सडकमा मानवसागर ओरोलेर राजनीतिक लडाइँ जिते पनि अहिले विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरसलाई परास्त गर्न घरमै बस्नुपर्ने अवस्था आएको उल्लेख गरेका छन् । 

प्रकाशमानले लेखेका छन्, ‘अहिले विश्वव्यापी महामारीको रुपमा देखिएको कोरोना भाइरसलाई हामी सबै मिलेर परास्त गर्नुपर्ने चुनौती छ । सुरक्षित रुपमा घरमै बसेर कोरोना भाइरसविरुद्ध लडौं । आफू पनि बचौं, अरुलाई पनि बचाऔं । समस्यामा परेका विपन्न र असहायको सहयोगमा जुटौं ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ