भर्जिनिया। संयुक्त राज्य अमेरिकामा फेब्रुअरी २९ तारिख शनिवार वासिंगटन राज्यकी ५० वर्षिया महिलाको कोरोनाबाट मृत्यु भएसँगै शुरु भएको गन्ती यो लेख तयार गर्दाको अवस्थासम्म १४ हजार ६ सय नाघिसकेको छ। विश्वभरिमा मर्नेहरुको संख्या ८८ हजारको आँकडा पार गरेको छ । यहि गतिमा मर्नेहरुको संख्या बढ्दै जाने हो भने अबको २ सातासम्म अमेरिकामा मात्रै मर्नेको संख्या प्रतिदिन करिब ३ हजारको हाराहारिमा जाने प्रक्षेपण छ । त्यसै अमेरिकी राष्टपतिले १ देखि २ लाख मर्ने भनेका होइनन् होला ? सायद औषधोपचारको लागि आवश्यक सामग्रीहरु जुलाईको अन्तसम्ममात्र पर्याप्त मात्रामा हुने भएकाले यस्तो भनेको हुनुपर्छ । हालसम्म करीब २२ लाख अमेरिकीको कोरोना भाइरस जाँच गराइएकोमा ४ लाख २६ हजारको हाराहारीमा संक्रमित भेटिनु र उनीहरुको लागि यथेष्ट रुपमा औषधोपचारको व्यवस्था हुन नसक्नुबाट पनि यो प्रक्षेपण सत्यसावित हुने आंकलन गरिदो छ। शक्तिशाली भनिएको अमेरिकाका नागरिकको लागि यो ज्यादै दुखद, निराशाजनक र लाजमर्दो हो । अमेरिकामा त स्थिति यस्तो भयावह छ भने अन्य देशमा कस्तो होला सर्वत्र चासो र चिन्ता छ । यही चिन्ताको बीचमा यो पटकको लेख आफ्नो घरपरिवारमा नै केन्द्रित छ ।
जब फेब्रुअरीको अन्तिम दिनबाट मर्नेको गन्ति हुन थालेपछि बिस्तार विस्तार यो संख्या बढ्न थाल्यो । भर्जिनिया राज्यले मार्च १३ तारिखबाट स्कुल र कलेज बन्दको घोषण गरेसंगै हाम्रो घरपरिवारमा पनि यसबारे चासो बढ्न थाल्यो । दैनिक समाचार पढ्ने, हेर्ने र सुन्ने कहाँ कति बढे कतिले जीवन गुमाए ? घरमा खाद्यान्नको जाहोदेखि ह्याण्ड सेनिटाइजर, स्प्रे सेनिटाइजर, वाइप्स लगायतको प्रयोग अत्यधिक हुन थाल्यो । मेरी जीवनसंगीनीको हातमा सुत्ने बेला बाहेक वाइप्स, ह्याण्ड सेनिटाइजर छुटेको सायद कमै थियो होला । घरको ढोका होस् कि काम गर्ने स्थानको ढोका होस्, गाडीको ढोका होस् कि बैंकको ढोका होस् जतिखेर पनि उनी वाइप्स नै प्रयोग गर्थिन् । कामबाट आएपछि हामी काम गरेको लुगा पोको पारेर राखेर नुहाए पछि मात्रै घर परिवारका नजिक जान्थ्यौ र जाँदैछौं पनि । मेरो त काम विहान थियो कामबाट आएर नुहाउँदा केही फरक नपर्ने । उनको काम साँझ । कामबाट आउँदा राती हुँदा पनि उनले नुहाउन छुटाएकी छैनन्। मार्च १३ तारिखबाट आजसम्म हामी (म, श्रीमती, छोरा र छोरी) अलग अलग बेडमा सुत्दैछौं । सायद रातमा होस्, चाहे विहान होस् कसैले हल्का ख्वाक्क गरेमा पनि ठीक छ भनेर सोध्न थालियो चनाखो हुन थालियो । मार्च महिनामा मात्रै डराएर श्रीमतीले काममा २ पटक कल आउट गरिन् ।
यही मेसोमा मार्चको १८-२० तिर श्रीमतीले बिसन्चोको अनुभव गरि केही दबाइ लिन थालिन् । यही बिचमा मैले डक्टर अपोइन्टमेन्ट बनाइदिए । तर उनलाई मनाससको अस्पतालमा आउनु भनेपनि उनी जान मानिनन्। त्यहाँ गयो भने कोरोना घरमा आउँछ भन्दै उनी गइनन् पनि । सुरुमा सामान्य घाँटी दुखेपनि मार्च मार्च २६ को बिहान उनले श्वास प्रश्वासमा अप्ठेरो महसुस गरिन्, किताब पढ्न पनि असमर्थ रहिन् । न उनलाई रुघा लागेको थियो, न ज्वरो आएको थियो न त खोकी लागेको नै थियो। “बनको बाघले खाओस् कि नखाओस मनको बाघले खाओस्” भने झै कोरोनालेनै छोयो कि भन्ने डरले तत्काल डाक्टरलाई फोन गरेर उनी आफै गाडी चलाएर नियमित जाने घर नजिकैको क्लिनिकमा गइन्। म ड्युटिमा थिए । त्यहाँ उनलाई सावधानीसाथ जाँच गरियो । परिक्षणपछि उनलाई ब्रोन्काइटिसको सुरुवात भएको र नाकबाट इन्फेक्सन भएको बताएर एन्टिवाइटिक लगायतका दबाई दिएर पठाइयो। हामीहरुले भने साबधानी अपनाउदै गयौं । बच्चाहरुलाई उनको नजिक जान दिएनौ । उनलाई छुट्टै कोठामा राखियो । मैले पनि कामबाट छुट्टी लिएर बसे र उनले पनि काममा आउन नसक्ने भनेर छुट्टी हालिन् ।
हामी दुईबाट एक भएको १३ वर्ष भैसक्यो । यो १३ वर्षको अवधिमा उनी यस्तो बिरामी कहिल्यै भएकी थिइनन्। यति हतोत्साही र आँत्तिएकी पनि थिइनन् । यो मौसम परिवर्तनको बेलामा अन्तिम वर्ष पनि उनमा रुघा खोकीको समस्या देखिदा पनि औषधी खाएर नै काममा जान्थिन् । उनमा यत्ति हिम्मत थियो उनको हिम्मतको अगाडि मै हुँ भन्ने कसैको केही चल्दैनथ्यो । उनले कस्ता भयानक समस्यालाई सजिलै पार लगाएकी थिइन् । जस्तो चोट परेपनि, समस्या परेपनि उनी रत्तिभर आँत्तिदैन थिइन् । तर यो पटक उनी आफै आँत्तिएपछि म नआँत्तिने त कुरै भएन । तैपनि आत्मबल दर्बिलो बनाउन उनलाई हौसला दिइरहन्थे । कोरोना लागेकै भएपनि आत्मबल बलियो भएको खण्डमा केही नहुने बताउदै उनको अगाडि बसेर रमाइला कुरा गर्थे । दबाई र खानेकुरा बेलैमा खाने, डाक्टरहरुसंग नियमित सम्पर्कमा रहेकै कारण हिजोबाट उनले श्वास प्रश्वासमा सजिलो महसुस गरिरहेकी छिन् ।
यसबीचमा अमेरिकामा संक्रमति र मर्नेहरुको संख्या अत्याधिक भएको कारण देश विदेशबाट के कस्तो छ भनेर दिन रात फोन बज्न थाल्यो । हामीभने सबैलाई सन्चै छ भन्ने निष्कर्षमा पुग्यौं । २-३ दिन साह्रै गाह्रो भएकोले कसैको फोन पनि उठाइएन र कलब्याक पनि गरिएन । कसो कसो इण्डियामा रहेका आफ्ना दिदी भिनाजुलाई श्रीमतीले भनेपछि बेलायत, जापान, दुबई र नेपालमा रहेकाहरुले थाहा पाएर फोन गरे । सबैले आत्मबल बलियो बनाउनु, हाम्रा कसैलाई त्यस्ता रोगले छुदैन भनेर भरोशा दिन थाले । भौतिक शरिर उपस्थित हुन नसकेपनि अन्य जुनसुकै सहयोगको लागि आफुहरु रहेको छौं भनेर सबैले बताएपछि उनको चिन्तामा कमी आयो । त्यसको ३-४ दिनमा उनलाई कम हुँदै गयो । घरमा ७२ वर्ष नाघेकी आमा, ७५ वर्ष नाघेका बुबा र १०० वर्ष नाघेकी हजुरआमा भएकाले यस अवधिमा घरतिर कसैलाई केही बताएनौं ।
कोरोनाको कहरका बीचमा यो १० दिन हाम्रा लागि ज्यादै कहालीलाग्दो र अत्यासपुर्ण भयो । भगवानको कृपाले उनलाई त्यस्तो डरलाग्दो रोगले छोएन । उनलाई अस्पतालमा लगेर जाँच गराएपछिको काम भनेको बच्चाहरुको, उनको र स्वयं आफुलाई ज्वरो आएको छ कि भनेर हरेक समय जाँच गर्न थालियो । बच्चाहरुलाई नजिक नजान भनियो । हिजोसम्म उनीहरु ममीको नजिक जाने दिन गनिरहेका थिए । हाल उनलाई श्वास प्रश्वासमा समस्या नदेखिएपछि आजबाट उनीहरुलाई ममीको नजिक जान दिइएको छ भने सुत्न भने दिइएको छैन । सुताईलाई मार्च १३ गतेकै नितरन्तरता दिइएको छ । सायद धेरै केमिकलको प्रयोगर, दैनिक रातको नुहाइ लगायतका कारणले परेको असरले नै उनलाई यस्तो भएको भन्ने डाक्टरको निष्कर्षमा हामी सहमत भयौ । हामी एक किसिमको ट्रमाबाट बाहिर निस्केका छौं आशा छ अमेरिकामा रहेका सबै नेपाली र यो पृथ्वीका सबै मानिसलाई भगवान श्री पशुपतिनाथले कल्याण गरुन् ।