arrow

राजनीतिक दलसम्बन्धीको विद्येयकमा छलफल

logo
प्रकाशित २०७३ वैशाख १५ बुधबार
sansad @@@.jpg.jpeg
काठमाडौँं । व्यवस्थापिका संसद्, राज्यव्यवस्था समिति र निर्वाचन आयोग नेपालबीच राजनीतिक दलसम्बन्धी बनेको विद्येयकमाथि छलफल भएको छ । राजनीतिक दल सम्बन्धी कानुनलाई एकीकरण गर्न बनेको विद्येयक–२०७२ माथि आज निर्वाचन आयोगमा छलफल भएको हो । 
 
छलफलमा राज्यव्यवस्था समितिका सभापति दिलबहादुर घर्तीले संविधानको कार्यान्वयनका लागि निर्वाचनसम्बन्धी नयाँ कानुनको आवश्यक रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगले उपयुक्त कानुन बनाएर दलको व्यवस्थापन गर्न जरुरी छ ।” सभापति घर्तीले राज्य व्यवस्था समितिमा आएका सुझावलाई निर्वाचन आयोगले समेट्ने अपेक्षा गर्नुभयो । 
 
नेपाली काँग्रेसका सांसद गोपालमान श्रेष्ठले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजान स्थायी सरकार आवश्यक रहेको भन्दै राजनीतिक दललाई स्वच्छ र पारदर्शी तवरले अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय प्रदेशअनुसार पार्टीलाई अगाडि लैजानुपर्छ ।” 
 
नेकपा (एमाले)का नेता युवराज ज्ञवालीले धेरै पार्टी मुलुकमा आवश्यक नभएको भन्दै पार्टी एकीकरणको कानुनलाई खुकुलो बनाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि पार्टी एकीकरण हुन्छ भने आवश्यक बहुमत पुर्‍याउने प्रावधान नराखे हुन्छ ।” एनेकपा (माओवादी)का सांसद सन्तबहादुर दरैले पार्टी एकीकरणमा दुबै दलको बहुमत पुर्‍याउने परिपाटी उपयुक्त नभएको धारणा राख्नुभयो । उहाँले ‘विधेयकमा पार्टीको झन्डा उस्तै उस्तै हुन मिल्दैन भन्ने’ उल्लेख भएकोमा आपत्ति समेत जनाउनुभयो । 
 
नेकपा(माले)का सांसद अइन्द्रविक्रम नेम्वाङले कुल मतको १.५ प्रतिशत मत ल्याउने राजनीतिक दललाई सरकारले अनुदान उपलब्ध गराउने विद्येयकको विरोध गर्नुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले समानुपातिक तर्फ सुरक्षा निकाय, कर्मचारी मतदान गर्न पाउने र सो ठाँउमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गलत भएको धारणा राख्नुभयो । 
 
छलफलमा सांसद आनन्दप्रसाद ढुङ्गाना, अमरेशकुमार सिंह, भीम आचार्य, सीता गुरुङ, वृजेशकुमार गुप्ता, रामेश्वर फुँयाल, गौरी मल्ल, राजेन्द्र पाण्डेलगायतले राजनीतिक दलको पदाधिकारीमा समावेशी, समानुपातिक, अपाङ्ग, खस आर्य, दलित, जनजाति सबैलाई समेट्न नसक्ने भन्दै यो विद्येयकको बुँदालाई सच्याउन सुझाव दिनुभयो । 
 
निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले सबै राजनीतिक दलका प्रतिनिधीसँग छलफल गरेर यो विद्येयक ल्याएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “निर्वाचन आयोगमा दर्ता भएका १६४ दलका सबै व्यक्तिलाई बोलाएर छलफल गरेर यो विद्येयक ल्याएका हौँ ।” उहाँले यो विद्येयकलाई प्रस्तावको रुपमा ल्याएको भन्दै यसलाई आवश्यक छलफल गरेर अन्तिम रुप दिने प्रष्ट पार्नुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ