लकडाउनको २१ औं दिनः यस्तो छ उल्लंघन र दुर्घटनाको नालीबेली
प्रकाशित २०७७ वैशाख १ सोमबार
520
Shares
काठमाडौं । चैत ११ गतेदेखि जारी कोरोना भाइरस संक्रमण रोक्न गरिएको लकडाउन बैशाख १ गतेसम्म आइपुग्दा २१ औं दिनमा चलिरहेको छ ।
लकडाउनका कारणका सर्वसाधारणलाई समस्या भएको छ । घरमै बसेर लकडाउनको पालना गर्दा संक्रमण नफैलिने नीति अनुसार सरकारले लकडाउन गरे पनि त्यसलाई उल्लंघन गर्नेहरु पनि उल्लेख्य छन् ।
ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक गोविन्द रावतका अनुसार सोमबार बिहान सवारी साधनको अवस्था सामान्य रहेको छ ।
बिहान ४ बजेदेखि नै लकडाउन उल्लंघन गर्नेहरुलाई कार्वाही गर्ने क्रम रहेको छ । आइतबार ४२० सवारी साधनलाई नियन्त्रणमा लिइएको थियो ।
८२ वटा सवारी साधन चैत ११ देखिकै छाड्न बाँकी रहेका छन् ।
चैत ११ देखि अहिलेसम्म ८ हजार २ सय २ वटा सवारी अहिलेसम्म होल्डमा लिइएको थियो ।
लकडाउनको अवधिमा सामान्य दुर्घटना ६० वटा भएका छन् र सामान्य घाइते ३७ वटा रहेका छन् ।
नाकाहरुमा अत्यावश्यक र पास लिएका गरी काठमाडौंमा ८०१ वटा सवारी भित्रिदा ९४२ वटा आइतबार बाहिरिएका थिए ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायव निरीक्षक हरजित सिंह कुँवरका अनुसार लकडाउन उल्लंघन गर्नेहरु सोमबार बिहानै काठमाडौंमा पुरुष ३०९ र महिला १०६ गरी ४ सय १५ जना कार्वाहीमा परेका छन् ।
बाँकी ललितपुरबाट २०१ जना नियन्त्रणमा लिइएका छन् । दुई जिल्लाबाट ६१६ जनालाई नियन्त्रणमा लिइएको छ । भक्तपुरमा भने न्यून संख्या रहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी नायब उपरीक्षक दीपक खड्काका अनुसार सोमबार कुनै पनि फ्लाइटको जानकारी छैन ।