नेविसंघको भर्चुअल मिटिङ, पूर्व अध्यक्षहरु देउवादेखि बिपिन कोइराला र निधिसम्म एकै फोरममा
महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा संकलित राहत ३५० विद्यार्थी र मजदूरलाई
प्रकाशित २०७७ वैशाख ७ आइतबार
746
Shares
काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको ५१औं स्थापना दिवस बैशाख ६ गते संघले बिभिन्न कार्यक्रम गरि मनाएको छ। कोरोना भाइरसको महाब्याधी फैलिएसंगै जनजीवन अत्यन्त असहज बनेको र लकडाउन जारी रहेकाले खुला रूपमा बृहत कार्यक्रम र भिडभाड गर्ने अवस्था नभएकाले संघले कोभिड–१९ विरुद्धकै अभियानमा सहभागी भएर स्थापना दिवस मनाउन केन्द्रीय समितिको तर्फबाट अध्यक्ष राजीव ढुंगानाद्वारा परीपत्र गरिए अनुसार काठमाडौं उपत्यकामा केन्द्रीय समिति र अन्य ठाउँहरूमा मातहतका समितिहरुले राहत सामग्री वितरण, रक्तदान कार्यक्रम, पैदल यात्रीहरूलाई खाना र अन्य सहयोग गरि मनाएको छ।
नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले परिपत्र गरे अनुरूप देशभर नै स्थापना दिवसका गतिविधिहरु सम्पन्न भएको हो । जसमा डेरा गरि अध्ययनका लागि काठमाडौं उपत्यकाका सानो ठिमी क्याम्पस, कोटेश्वर क्याम्पस, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस लगायतका विद्यार्थीहरू र बिभिन्न ठाउँका ज्याला मजदुरी गर्ने श्रमिकहरू गरि जम्मा ३५० जनालाई केन्द्रीय समितिको तर्फबाट महामन्त्री बलदेव तिमल्सिनाको नेतृत्वमा खाद्य सामग्री वितरण गरिएको छ ।
सरकारले जनता प्रतिको दायित्व निर्वाह गर्न नसकेको र घर जान नपाउँदा जनजीवन कष्टकर बनेर अलपत्र परेका विद्यार्थी तथा मजदूरी गर्ने श्रमिकहरुलाई नेबिसंघका स्थानीय एवं क्याम्पसका नेताहरुको समन्वयमा खाद्यान्न सामग्री सम्बन्धित स्थानमा नै लगेर हस्तान्तरण गरीएको महामन्त्री बलदेव तिमल्सिनाले बताए ।
विद्यार्थीहरू ठाउंठाउंमा अत्यन्त कठिनाइका बावजुद दैनिकी धान्न बाध्य भइरहेको अबस्थामा अत्यावश्यक खाद्य सामग्रीले केही हदसम्म भए पनि सहज बनाउने र राहत हुने हुँदा मर्कामा परेका विद्यार्थीहरूलाई आवश्यकता अनुसार अन्य ठाउंहरूमा पनि सामग्री वितरण गर्ने अभियानमा नेविसंघ रहेको महामन्त्री युवराज पाण्डेयले जानकारी गराए।
उपत्यकाका विभिन्न्न स्थानमा खाद्यान्न बितरण गर्न उपत्यकामा रहेका नेबिसंघका नेता महामन्त्रीहरु तिमल्सिना, पाण्डे, उर्मिला थपलिया, दिपक भट्टराई लगायतको सहभागिता थियो ।
संघले महामन्त्री बलदेव तिमल्सिनाको अग्रसरतामा खाद्यान्न सामग्री संकलन गरेको थियो । त्यसैगरि पूर्व निर्धारित कार्यक्रम अनुसार संघका संस्थापक केन्द्रीय अध्यक्षदेखि अहिलेसम्मका अध्यक्षहरू र वर्तमान केन्द्रीय समितिबीच ‘नेविसंघ स्थापनाका पाँच दशक, वर्तमान संकट र हाम्रो दायित्व’ बिषयक गोष्ठी पनि अनलाईन बैठक (भर्चुअल मिटिङ) मार्फत सम्पन्न गरेको छ।
जसमा संघका संस्थापक अध्यक्ष बिपिन कोइराला, पूर्व अध्यक्षहरू शेरबहादुर देउवा, बिमलेन्द्र निधि लगायत अधिकांश पूर्व अध्यक्षहरु र वर्तमान कार्य समितिका सबै जसो पदाधिकारी सहभागी बने र सबैले आ(आफ्नो बिचार ब्यक्त गरे।
संघका केन्द्रीय अध्यक्ष राजिव ढुंगानाको सहजीकरणमा सम्पन्न वेबिनार बैठकमा संघका पूर्व अध्यक्ष एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रमुख अतिथि थिए।
ई. दिपेश विष्टको प्राबिधिक सहयोगमा अत्यन्त सौहार्द र सहजतासाथ बैठक सम्पन्न भएको संघका महामन्त्री तिमल्सिनाले जानकारी गराए।