arrow

संविधानलाई असफल बनाउने कम्युनिष्ट सरकारको नियोजित नियत: नेपाली कांग्रेस

logo
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
NC-party-office.png

काठमाडौं । सरकारले अप्रत्याशित तरिकाले हतास मानसिकतासहित सोमबार दुई वटा अध्यादेश ल्याएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस त्यसविरुद्ध कांग्रेसले संविधानलाई असफल बनाउने कम्युनिष्ट सरकारको नियोजित नियत रहेको ठहर गरेको छ।

बैठकमा सरकारले जारी गरेको दुई अध्यादेशका विरुद्धमा पार्टीले कस्तो रणनिती तय गर्ने भन्ने विषयमा छलफल भएको थियो।

सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा आकस्मिक पदाधिकारी बैठक मंगलबार बिहान बसेको बैठकले तीन बुँदे निर्णय गरेको छ ।

(१) कोरोनाको संक्रमणका विरुद्ध सिंगो देश एक ढिक्का रहेर लडिरहेको र अझ शसक्त भएर लड्नुपर्ने बेला संविधानको मर्म र भावना विपरीत अधिनायकवादी सोचका साथ ल्याइएको अध्यादेशलाई बैठकले जनताको जीवनप्रतिको उदासिन ब्यवहार र लोकतान्त्रिक संविधानका लागि अशुभ संकेतका रूपमा लिंदै भत्सर्ना र खेद व्यक्त गरेको छ ।

जनता लक डाउनमा कष्टकर स्थितिमा छन्, स्वास्थकर्मी र सुरक्षाकर्मी अत्यावश्यक सामग्रीको अभावमा जोखिमपूर्ण ढंगले कोरोनासंग जुधिरहेका छन्, यस्तो बेला युद्धस्तरमा सरकारले कार्य गर्नुपर्नेमा लोकतान्त्रिक संविधानलाई असफल बनाउने षड्यन्त्र गरिनुलाई कम्युनिष्ट सरकारको नियोजित नियत ठहर गर्दै बैठकले एक्यवद्ध ढंगले यसको प्रतिवाद गर्ने एवं सबै राजनैतिक दल, संघसंस्था, नागरिक समाज, आम संचारका माध्यम र समस्त नेपालीलाई यसका विरुद्ध उभिन अपील गर्ने निर्णय गरेको छ ।

 

(२) कतिपय महत्वपूर्ण संवैधानिक नियुक्तिमा साझा स्वामित्व बोधको परिकल्पनाका साथ संविधानले बिशिष्ट ब्यवस्था गरेको थियो । तर संवैधानिक परिषद् सम्बन्धि अध्यादेशले संविधानको त्यो मर्म र भावना एवं परिषदको गरिमामय भूमिकालाई समाप्त गरेको छ । बैठकले यो अध्यादेश फिर्ता लिन सरकार समक्ष माग गर्ने निर्णय गरेको छ ।

 

(३) संविधान निर्माण गरिंदा स्थिरताको परिकल्पना गरेर केही विशेष प्रावधान राखिएका थिए । तर राजनैतिक दल सम्बन्धि ब्यवस्थाको अध्यादेशले त्यो मर्मलाई समाप्त गरेर अस्थिरताका लागि मार्ग प्रशस्त गरेको छ । कोरोनासंग संगठित ढंगले लड्नुपर्ने बेलामा कुनैपनि राजनैतिक दल विभाजन गर्न सहज हुने प्रावधान ल्याइनु विरोधाभासपूर्ण एवं षड्यन्त्रपूर्ण छ । पदाधिकारी बैठकले यस्तो प्रवृत्तिको भत्सर्ना गर्दै अध्यादेश फिर्ता लिन सरकार समक्ष माग गरेको छ ।

सोमबार दलसम्बन्धी र संवैधानिक परिषद् गरी दुई अध्यादेश राष्ट्रपतिबाट हतार हतारमा जारी गरिएको थियो ।

देउवाले विश्व नै कोरोना भाइरसको सन्त्रासमा रहेका बेलामा अध्यादेश जारी हुनुलाई नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना भनी टिप्पणी गरेका छन् ।

सरकारले भने दुबै अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण गराएर सोमबार मध्यरातमै नेपाल राजपत्रमा समेत प्रकाशित गरिसकेको छ । यसको सर्वत्र विरोध भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ