arrow

सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि कार्यशाला शुरु

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1687771669.jpeg

काठमाडौँ। अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र एसिया प्रशान्त समूहले संयुक्त रुपमा आजदेखि सुरु भएको पाँच दिने सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धि कार्यशालाको उद्घाटन गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आपराधिक कार्यले आन्तरिक तथा अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको विश्वसनीयता र स्थिरतामा नकारात्मक असर पुर्‍याई समग्र अर्थ व्यवस्थामा गम्भीर प्रभाव पार्ने गरेको बताउनुभयो ।

उहाँले आर्थिक अपराध नियन्त्रण नहुँदासम्म मुलुकमा स्थिरता, पारदर्शिता एवम् दिगो विकास सम्भव नहुने बताउनुभएको छ ।


आर्थिक अपराधमा संलग्न अपराधीले कानुनलाई छल्न र कारबाहीबाट उम्कन जटिल एवम् बहुचरणका गतिविधि गर्ने गरेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले प्रत्येक मुलुकले अन्तर्राष्ट्रिय नियम कानुनको निर्माण, वित्तीय तथा अन्य कानुन कार्यान्वयनका निकायको प्रभावकारितामा जोड दिनुपर्ने बताउनुभयो ।

उहाँले अन्तर्राष्ट्रिय सहयोग र सहकार्यमा क्षमता अभिवृद्धि, नियम कानुनको समयानुकूल परिवर्तन, परिमार्जन र अभिपालनाले मात्रै सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणको प्रभावकारी प्रणालीको विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

पछिल्लो समयमा आपराधिक क्रियाकलाप साधारण र सहज बन्दै जानुका साथै प्रविधिक रुपमा उन्नत र जुनसुकै क्षेत्रमा घट्न सक्ने सम्भावना प्रवल हुँदै गएकाले चुनौती थपिँदै गएको अर्थमन्त्री पौडेलको भनाइ थियो ।

बितेका दशकमा नेपालले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणको राष्ट्रिय प्रणालीको विकासमा उल्लेखनीय फड्को मारेको विषय यहाँ उल्लेख गर्दै उहाँले ‘सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रण गर्न राष्ट्रिय रणनीति’ (सन् २०११–२०१६) कार्यान्वयनमा रहेको अवगत गराउनुभयो ।

अर्थमन्त्री पौडेलले संयुक्त राष्ट्र सङ्घको सङ्गठित अपराध, भ्रष्टाचार र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीविरुद्धको अभिसन्धि पनि नेपालले अनुमोदन गरिसकेको उल्लेख गर्नुभयो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको स्थापना र वित्तीय जानकारी एकाइको क्षमता विकासलाई प्रभावकारी बनाउन संस्थागत व्यवस्थापन र सुधारका कार्य पनि भइरहेका उहाँले जानकारी दिनुभयो ।

कसूरजन्य सम्पत्ति तथा साधनको रोक्का नियन्त्रण र जफत सम्बन्धी कानुन र यसको कार्यान्वयन निकायको व्यवस्था गरिएको बताउँदै अर्थमन्त्री पौडेलले संस्थागत संरचना र कर्मचारीको क्षमता विकासका क्रियाकलाप क्रमशः अघि बढिरहेकै समयमा कार्यशालाले थप उत्साह एवम् प्रोत्साहन गर्ने अपेक्षा गर्नुभयो ।

कार्यशालामा भाग लिँइरहँदा फ्रान्सको पेरिसमा भएको आतंकवादी हमलाले आफूलाई स्तब्ध तुल्याएको बताउँदै उहाँले भन्नुभयो,“ सबै प्रयासहरु विश्वभरीबाट आतङ्कवादलाई निर्मुल गर्ने हुनुपर्छ ।”

कार्यशालामा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको अभियानमा एकजुट हुन ४४ मुलुक तथा १० भन्दा बढी अन्तरराष्ट्रिय सङ्घ संस्थाका प्रतिनिधि सहभागी छन् । १६५ अन्तराष्ट्रिय र ७० नेपालका प्रतिनिधिहरुले उक्त कार्यशालामा भाग लिईरहेका छन्।

कार्यशालामा सहभागिले सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणकालागि स्थापीत एशिया प्रशान्त समूहका सदस्य मुलुकबीच आ—आफ्नो मुलुकको अनुभवका आदान प्रदान गर्नेछन् ।

कार्यशालामा वन्यजन्तुको शिकार, ओसारपसार र यसको माध्यमबाट हुने सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलापमामा वित्तीय लगानी र यसको क्षेत्रीय प्रवृत्ति र वित्तीय जानकारी इकाईमा रहेका सूचनाको संरक्षणका विषयमा बढी केन्द्रित आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा आयोजक समितिका संयोजक महाप्रसाद अधिकारीले आर्थिक क्षेत्रमा थपिएका चुनौतिलाई सम्बोधन गर्न कार्यशालाले उपाय पहिल्याउने बताउनुभयो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ