arrow

कोरोना अस्पतालको सामान चोरीमा कर्मचारीकै संलग्नता, अनियमितताको व्यापक आशंका (भिडियो सहित)

अनियमितता र विवादमा परेपछि रेणु दाहालले हतारहतार कोरोना अस्पताल बुझाइन् भरतपुर अस्पताललाई 

logo
प्रकाशित २०७७ वैशाख १६ मंगलबार
94659622_1085687748480980_1.jpg

चितवन। कोरोना भाइरस संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान नेकपा निकट कर्मचारीहरूले रातारात चोरेर लगेको पाइएपछि चितवनमा अहिले कोरोना संक्रमणको भन्दा नेकपा बितण्डाको त्रास बढेको छ। नेकपाभित्रै समेत पनि यो घटनाको आरोप प्रत्यारोप चलिरहको छ। पूर्व माओवादी निकट कर्मचारीहरुले रातारात सामान चोरेपछि पूर्व एमाले निकटहरुले यसलाई चर्काएका छन्।

अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियो नै सार्वजनिक भएपछि नेकपाभित्र आरोप प्रत्यारोप चलिरहेको हो।

खनाल नेपाल निजामति कर्मचारी संगठन चितवनका जिल्ला अध्यक्ष हुन् भने बराल अस्पताल विकास समिति कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष हुन्। उनीहरु दुबै नेकपा निकट हुन्। महानगरकी मेयर एवं नेकपा अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड पुत्री रेणु दाहाल निकट उनीहरूले स्टाण्ड फ्यान, सर्जिकल मास्क, कम्प्युटरको स्क्रिन, स्यानिटाइजर, चप्पल, ग्लुस्टिक, साबुन, लामखुट्टे भगाउने धुप, बेगन लगायतका सामान तीन पोका बनाएर निकालेर  लगेको भिडियो चितवनका हरेक व्यक्तिको हातहातमा पुगेको छ।

कस्को डिजाइनमा भएको थियो त चोरी ? 
रेणुको आदेश र निर्देशन बिना कुनै पनि कर्मचारीले गलत काम गर्न नसक्ने आरोप पूर्व एमाले निकटका नेताहरुले नै लगाएका छन् । एक पूर्व एमाले निकट नेताका अनुसार घोटाला लुकाउन रेणुले नै कर्मचारीको प्रयोग गरेकी हुनसक्ने आशंका गरेका छन्। बढी अनियमिता बाहिर आउने भएपछि हतार हतार महानगरपालिकाले उक्त अस्पताल भरतपुर अस्पताललाई बुझाएको आरोप पनि रेणुमाथि लागेको छ। 

वीरगञ्जका बिरामी सन्तोष यादवको मृत्यु भएसँगै विवादमा परेपछि यो कोरोना अस्पताललाई भरतपुर अस्पतालको शाखा बनाउने निर्णय गरी चैत २१ गते सम्झौता भइ भरतपुर अस्पतालले बैशाख १ गते दिउँसो सामानहरूको विवरण बुझेको थियो। 

तर त्यसको एक दिनअघि चैत३० गते राती ९ः३० बजेसम्म खनाल, बराल र तिवारीले सामानहरू चोरेको भेटिएको हो। उनीहरूले केही सामान आआफ्ना घर लगेका र केही नारायणगढको एक सर्जिकल पसललाई बेचेको स्रोत बताउँछ।

आरोपी मध्येका महानगरका लेखापाल खनालले आफूहरूले सामान चोरी नगरेको दाबी गरे पनि राति मोबाइल बालेर सामान उठाउनुको कारणबारे चित्तबुझ्दो जवाफ दिन सकेनन्। खनालले अस्पताललाई सामान दिएको बताए पनि भरतपुर अस्पतालको स्टोर शाखा प्रमुख केशव सापकोटाले कोरोना अस्पतालबाट केही थान मास्क र पीपीई मात्र ल्याएको बताएका छन्।

लेखापाल खनाल र इलेक्ट्रिसियन सन्तोष कुमारका बीचमा भाग नमिल्दा कुटाकुट समेत भएको भिडियोमा देखिन्छ। गत ७ चैतबाट हतार–हतारमा सञ्चालन गरिएको भरतपुर कोरोनाको नमुना मानिएको अस्पतालमा लाखौं अनियमितताको चर्चा शुरु भएको छ।

आफै संचालन गर्न खोजेको अस्पताल रेणुले किन बुझाइन् भरतपुर अस्पताललाई ? 
रेणु दाहालले अस्पताल भरतपुर महानगरपालिकाले चलाउने भनेरै जिम्मा लिएकी थिइन्। तर अनियमितता र विवादमा परेपछि रेणुले हतारहतार कोरोना अस्पताल भरतपुर अस्पताललाई बुझाइन्। भरतपुर महानगरपालिकालाई अस्पताल सञ्चालन गर्न बागमती प्रदेश सरकारले चैत २० गते एक करोड रुपैयाँ दिएको थियो। 

त्यसअघि महानगरपालिकाको विपद् कोषबाट छ लाख ५० हजार रुपैयाँ लेखापाल खनालको नाममा पेस्की दिएको थियो। अडिट गर्ने, गराउने आर्थिक नियम ऐनअनुसार सामान खरिद र व्यवस्थापन गर्ने जिम्मा लेखापाल खनाल र अस्पतालका सदस्य सचिव डा। भोजराज अधिकारीलाई दिइएको थियो।

अस्पतालमा बैशाख १४ गतेसम्म ७४ लाख ४४ हजार ९९ रुपैयाँ खर्च भएको देखिन्छ। कोरोना अस्पताल सञ्चालन कार्यदलको बैठकमा भने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले एक करोड २७ लाख खर्च भएको विवरण दिएको स्रोतको दावी छ।

अस्पतालले दिएको जानकारीअनुसार अहिलेसम्म कार्यालय सञ्चालनमा ११ लाख ८६ हजार र औषधि तथा मेसिनरी खरिदमा ५२ लाख २८ हजार दुई सय १० खर्च भएको छ। यसमा तोकिएको ४५ लाखको सिलिङ नाघेर खर्च गरिएको छ। अस्पतालले कुन औषधि, कोबाट, कतिमा किनेको भन्ने खुलाएको छैन। पीपीई र एन ९५ मास्कमा चाहिँ भ्याटसहित ३४ लाख खर्च गरेको देखाइएको छ। ५२ लाखमध्ये १८ लाखको हिसाब अस्पतालले देखाएको छैन। पाँचवटा एसी र पङ्खा खरिदको खर्च ७४ लाखमा जोडिएको छैन।

सार्वजनिक खरिद ऐनको खरिदसम्बन्धी व्यवस्थामा पाँच लाखसम्मको खर्चमा तीनवटा सप्लायर्ससँग दरभाउ पत्र मागेर सबभन्दा कम गर्नेसँग खरिद गर्न पाउने व्यवस्था छ। त्यसभन्दामाथि टेन्डरमा जानुपर्ने नियम छ। ७ चैतमा खुलेको अस्पतालमा १५ गते अधिकांश समान ल्याएको देखिन्छ। पीपीई र एन ९५ मास्क खरिद गर्दा त कोटेसन र सम्झौता पनि केहि गरिएको छैन।

कोरोना अस्पतालको सामान चोरी र अनियमिता छानबिन गर्न सोमवार उद्योग संघ चितवनका अध्यक्ष राजु पौडेल संयोजक र भरतपुर महानगरपालिका र भरतपुर अस्पतालका एकएक जना रहेको छानविन समिति गठन गरी एक हप्ताभित्र कार्यदलमा प्रतिवेदन बुझाउन भनिएको छ। भरतपुर अस्पतालले चोरीमा संलग्न भनिएका बराल र महानगरपालिकाले लेखापाल खनाल र स्वास्थ्य अधिकृत सुवेदीलाई फिर्ता बोलाएको छ।

कांग्रेसको माग

नेपाली कांग्रेस चितवनले पनि यसको निष्पक्ष छानबिनको माग गरेको छ। नेपाली काँग्रेस चितवनका जिल्ला सचिव उत्तम जोशीले उक्त घटनामा संलग्न कर्मचारीलाई तत्काल निलम्बन गरी कार्वाही गर्न माग गरेको बताए। 

उनले अस्पताल ब्यापक अनियमितता भएको देखिएकाले तत्काल अनियमितताको उच्च स्तरीय सर्वपक्षीय समिति बनाएर छानबिन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई माग पत्र बुझाउँदै गरेको बताए। यसअघि मंगलबार बिहानै सभापति जितनारायण श्रष्ठको अध्यक्षतामा कांग्रेसको जिल्ला समिति बैठक बसेको थियो।

कांग्रेसले अस्पतालमा चोरी र घोटालाबारे महानगर प्रमुख रेणु दाहाल, भरतपुर अस्पतालका अध्यक्ष एवं कोरोना अस्पतालका सदस्य सचिव डा भोजराज अधिकारी र भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी जानकार रहेको बताउँदै यस्को चित्तबुझ्दो जवाफ माग गरेको छ। कांग्रेसले आरोपितहरुलाई निलम्वन गरि अनुसन्धान गर्न माग गरेको छ। कांग्रेसले सर्वपक्षीय छानविन समिति गठनको माग समेत गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ