कर्मकाण्ड गर्ने गुरु पुरोहितलाई लकडाउन पास उपलव्ध गराउन माग
प्रकाशित २०७७ वैशाख १७ बुधबार
970
Shares
काठमाडौं। संस्कृत छात्र संघ नेपालले कर्मकाण्ड गर्ने गुरुहरुलाई लकडाउनको समयमा यातायात पास उपलब्ध गराउन माग गरेको छ।
३५ दिनदेखि मुलुक लकडाउनमा रहँदा कर्मकाण्डका काममा जान गुरुहरुलाई समस्या परेको संघले जनाएको छ।
लकडाउनमा सहज यात्रा गर्न नपाउँदा मन्दिरहरुको दैनिक पूजा, दशगात्रादी (क्रिया)कर्म, साथै तिथि श्राद्ध, न्वारन समेत प्रभावित भएको संघको भनाई छ।
लकडाउनका कारण पुरोहित(पण्डित,गुरु)हरुको आवतजावतमा समस्या पर्दा आफ्नो संस्कार र संस्कृति परम्परा मूल्यमान्यताको पक्षपाती नेपाली सनातन धर्मावलम्बीहरुको आफ्नो नित्य र नैमितिक कार्य सम्पादन गर्न अफ्ठ्यारो भएको उल्लेख गर्दै संघले कर्मकाण्ड गर्ने गुरुपुरोहितहरुलाई समेत विशेष कर्मकाण्ड पास उपलब्ध गराइदिन सरकारको ध्यानाकर्षण गराएको संघका अध्यक्ष सुशान्त आचार्यले बताए।