प्रचण्डलाई सामाजिक संजालमा गालीगलौज गर्ने पत्रकार दीपक पाठक पक्राऊ
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
895
Shares
काठमाडौं । पत्रकार दीपक पाठक पक्राउ परेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सामाजिक संजालबाट निरन्तर गालीगलौज र आपत्तिजनक टिप्पणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको बताइएको छ ।
उनलाई साइबर ब्यूरोले पक्राउ गरेको हो । पाठक रेडियो नेपालका बोर्ड सदस्य समेत हुन् ।
दीपकले फेसबुकमै प्रचण्डलाई यसरी लेखेका थिए– ‘म जस्ता धेरैले समर्थन गरेका पार्टीमा परिस्थिती जन्य कारणले कार्यकारी अध्यक्षको हैसियतमा पुगेका अत्यन्त महत्वकांक्षी मनुवाको यो स्तरको बुद्दिलाइ मैले भने आश्चर्यको रुपमा लिएको छैन । बरु मैले यतिबेला रोमन सम्राट निरोलाई सम्झी रहेको छु जो सुन्दर शहर रोम जलाएर आफू बार्दलीमा बसेर बासुरी बजाउथे ।’ –अप्रिल १८ को फेसबुक स्टाटस ।
‘अमेरिका विल गेटस आफ्नो लगनशीलताले विश्वका एक नम्बर धनी भएको भनिन्छ । नेपालका प्रचण्डले चाँही “किल गेट्स”(मारेर हत्याउ) को सिद्धान्त बोकेर एशियाकै धनी बनेका छन् । उनको अकुत सम्पत्तिमा न त एक सुको लगानी परेको छ, न एक मिनेटको श्रम । क्रान्तिका नाममा जनताको रगत र शान्तिको नाममा आफ्नो आत्मा बेचेर धन जोड र राजनीतिलाई ठगीको विद्यामा अनुवाद गरेर महान् बन भन्ने विचार नै प्रचण्डपथ हो ।’ – अप्रिल १० को स्टाटस ।
‘प्रचण्ड नेपालको अपराध दुनियाँका देवता बनेका छन् । समाजको आज जुन स्तरमा अपराधीकरण भएको छ, यो उनकै देन हो । उनले क्रान्तिका नाममा राजनीतिको अपराधीकरणलाई उत्कर्षमा पु¥याए । पैसाका लागि शैक्षिक, औद्योगिक, व्यापारिक प्रतिष्ठानहरुलाई अपराधी र गुण्डाहरुको थलोको रुपमा परिणत गर्ने श्रेय पनि उनैलाई जान्छ । युद्ध वा शान्तिका नाममा लुटेको पैसालाई सेतो बनाउन देशको कृषियोग्य जमिनको माफियाकरण गरेर चौपट बनाउने सिद्धान्तका प्रणेता पनि उनै हुन् । नेपालमा अपवादका रुपमा सुनिने गरेको चन्दन तस्करीले उनकै शासनकालमा विश्व हल्लायो । नक्कली लडाकुको नाममा पैसा खान देखी सक्कली लडाकुलाई पिटेर उनीहरुको चेक लुट्ने सम्मका अपराधमा लम्पट भएका पात्र हुन् यँहाका पेटपाला विद्वानहरुका “राजनेता” ।’– अप्रिल ७ को स्टाटस ।
‘प्रचण्ड त्यस्तो चारित्रिक पात्र हो, जसको विश्वासघातलाई दुनियाँको कुनै पनि घटनासँग तुलना गर्न सँकिदैन । उनका पेटमा अहिले २० हजार मानव कंकाल छन् । ती कंकालका मुक्तिका लागि भनी निलिएको थियो । जसले सिंगो देश र उत्पीडित वर्ग समुदाको स्वतन्त्रताको लागी आफ्ना सन्ततीहरु प्रचण्डको बलिवेदीमा चढाउन मन्जुर गरेका थिए, ती नेपालीहरु आज उनको बन्धक बनेका छन् भने उनी चाहिँ “नयाँ नेपाल” का ऐयासी शासक’ – अप्रिल ६ को स्टाटस ।