कोरोना : क्वारेन्टाइनमा लैजाँदै गर्दा लुहारको मृत्यु, स्वाब परीक्षणपछि थाहा हुने
प्रकाशित २०७७ वैशाख २१ आइतबार
395
Shares
बैतडी । क्वारेन्टाइनमा लैजाँदै गर्दा मृत्यु भएका बैतडीका एक जनाको थ्रोट स्वाब सङ्कलन गरी आइतबार परीक्षणका लागि पठाइएको छ । पुर्चौडी नगरपालिका–६ मनकालीका ६७ वर्षीय जुने लुहारको स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो ।
रिपोर्टपछि मात्रै जुनेमा कोरोना भए/नभएको थाहा हुने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । रिपोर्ट एक-दुई दिनभित्रै आउने उनले बताए ।
भारतीय सीमानाका झुलाघाटबाट उद्धार गरेर ल्याइएका जुनेको शनिबार मृत्यु भएको थियो । लुहार यही वैशाख १८ गते भारतको पिथौरागढबाट झुलाघाट नाका हुँदै स्वदेश भित्रिएका थिए । एक महिनाअघि उपचारका लागि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण पिथौरागढमै बसेका थिए ।
उनको शनिबार पुर्चौडी नगरपालिका–६ को क्वारेन्टाइनमा लैजाँदै गर्दा खडायत गाउँ नजिकै बाटोमा हिँड्दाहिँड्दै मृत्यु भएको थियो । जुने लामो समयदेखि दमका बिरामी रहेको बुझिएको छ ।
मृतक लुहारको शवलाई प्लाष्टिक बेरेर सुरक्षात्मक तरिकाले दाहसंस्कार गरिसकिएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले जानकारी दिए ।
लुहारसँग आएकाहरुलाई छुट्टै क्वारेन्टाइनमा राखिएको छ । यही वैशाख १८ गते झुलाघाट र धार्चुला नाकाबाट दुई हजार ६९५ नेपाली स्वदेश फर्किएका थिए ।