तातोपानी नाकाबाट भन्सार र प्रहरी संलग्नतामै तस्करी, क कस्को छ सेटीङ?
स्थानीय जनप्रतिनिधीहरुको विरोध सुनेन प्रसासन र भन्सारले
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ वैशाख २२ सोमबार
1.1k
Shares
सिन्धुपाल्चोक। कोराना शुरु भएको चीनको सीमा नाका नेपाल सरकारले अत्यावश्यक सामानको लागि मात्र खोल्ने निर्णय गरेको थियो। सरकारको यहि निर्णय पछि तातोपानी नाका समेत खुल्ला भएको हो। भुकम्पपछि लामो समयसम्म बन्द तातोपानी नाका कोरोना संक्रमणको महामारीकै बेलामा खुल्ला भए यता त्यस क्षेत्रका नागरिक भने त्रासमा रहेका छन्।
तराईका जिल्लामा कोरोना संक्रमितसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई लामो सयमपछि पनि कोरोना संक्रमणको पुष्टी भएको खबरबाट त्रसित स्थानीयहरु भने चीनबाट आइरहेका दर्जनौ कन्टेनर र उनीहरुसँगै आएका व्यक्तिहरुबाट कतै आफ्नो क्षेत्रमा कोरोना संक्रमण फैलने त हैन भन्दै चिन्तित देखिएका छन्।
नागरिक त्रास र चिन्तामा रहेपनि अहिले तातोपानी क्षेत्र भने तस्करीमा संलग्नहरुको अखडा बन्न थालेको छ। विगतमा समेत तातोपानी नाकाबाट तस्करी धन्दा चलाउनेहरु अहिले सबै त्यस क्षेत्रमा केन्द्रीत हुन थालेका सुरक्षा स्रोतले हाम्राकुरालाई जानकारी दिएको छ।
करिब दुई साता अघी वागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलाल तातोपानी भन्सारका प्रमुखसँग लामै छलफलमा बसे। प्रचण्डका पूर्व बर्डी गार्ड समेत रहेका मन्त्री दुलाल भन्सारमा लामो छलफल सकेर निस्किएपछि धेरैले आशंका गरेका थिए। भयो पनि त्यस्तै । सोहि भेट पछि तातोपानी भन्सार संगठित तस्करीको अखाडा बनेको स्थानीयहरुको आशंका छ।
एकातिर कोरोना संक्रमणको चिन्ता छ भने अर्कातिर रातीराती भइरहेको गतिविधी पनि शंकास्पद भएको उनीहरुको भनाई छ। रातारात गाडीहरु प्रहरी स्कर्टीङमा तातोपानी नाकाबाट नेपाल प्रवेश गराएको बिषयमा स्थानीयहरुले तस्करीको आशंका गरेका हुन्।
सून सहितका अन्य सामग्री तस्करीमा पटक पटक चर्चामा आउने तातोपानी नाकाबाट अत्यावश्यकीय सामान मात्र आइरहेकोमा स्थानीयहरुले आशंका हो। उनीहरुले दिउँसै सामान नल्याएर राती राती स्कर्टीङ गरेर तातोपानी नाकाबाट किन सामान ल्याउनुपर्ने भन्दै प्रश्न गरेका छन्।
यस्तै आशंका गर्ने मध्येका भोटेकोशी गाउँपालिका वडा नम्वर ४ तातोपानीका वडाध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठ पनि एक हुन्। तत्कालिन माओवादीबाट उमेद्वार भइ निर्वाचित श्रेष्ठले केहि दिनदेखि तातोपानी नाकाबाट राती राती मात्र प्रहरी र भन्सारकै अधिकारीहरुको स्कर्टीङमा सामान आइरहेको उल्लेख गर्दै त्यसप्रति गम्भिर प्रश्न गरेका छन्। भन्सार र प्रहरीका कर्मचारीले स्कर्टीङ गरेर के त्यस्तो सामान ल्याएको हो भन्दै उनले करिब दुई मिनेटको भिडियो पनि आफ्नो फेसबुकमा राखेका छन्।
करिब १५ दिन अघी वागमती प्रदेशको सामाजिक विकास मन्त्री युवराज दुलाल शरदको अस्वाभाविक भन्सार भ्रमण पछि तस्करीको लाइन खुलेको मान्छन आयात निर्यातको काम गर्दै आएका एक व्यवसायी।
स्थानीयहरुले आशंका व्यक्त गर्दागर्दै त्रासमा राखेर सामान ल्याउने काममा भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलको स्विकृती र संलग्नता रहेको स्थानीयहरु बताउँछन्। यद्यपी उनी यो प्रकरण हुँदा काठमाडौंमा रहेको पाइएको छ। उनले सामाजिक संजालमा विवादका कुरा चर्किएपछि गाउँपालिका पुगेका छन्। भन्सारमा भएका कतिपय अवाञ्छित गतिविधीको स्थानीय केहि वडा अध्यक्षहरुले औपचरिक विरोध समेत गरिसकेका छन्। तर पनि यो क्रम रोकिएको छैन।
को हुन राजकुमार पौडेल?
राजकुमार पौडेल राजनीतिक रुपमा भोटेकोशी गाउँपालिकाका अध्यक्ष हुन्। नेकपाबाट निर्वाचित उनको पृष्ठभूमी राजनीतिक सँगसँगै तस्करीको पनि छ। सुन तस्करीमा प्रहरीले समातिएका एक व्यक्ति दावाले प्रहरीलाई आफू भरिया मात्र भएको सुनचाही अध्यक्ष राजकुमार पौडेलको भएको बताएका थिए। त्यसपछि उनलाई प्रहरीले खोजे पनि वहालवाला सभामुख अग्नी सापकोटाको आशिर्वाद पाएपछि उनको केस त्यतिकै सामसुम पारियो।
पौडेलका अन्य दाजुभाई समेत तातोपानीबाट हुने तस्करीमा संलग्न रहँदै आएका छन्। अध्यक्ष पौडेलका दाई नारायण पौडेल पनि विदेशी मुद्रा अपचलन, सुन तस्करी र रक्तचन्दन तस्करीमा संलग्न रहिसकेका व्यक्ति हुन्। नारायण भारतमा पनि रक्तचन्दनको मुद्धामा वान्टेड रहेका छन्। अर्का दाजु बच्चु पौडेलचाहि नेपालकै हुण्डी कारोवारका चर्चित पात्र हुन। उनको नेकपाका उच्चस्तरीय नेताहरुसँग बाक्लो उठबस छ। उनको लगानीमा वानेश्वरमा हिमालयन रिमछिम क्याफे समेत संचालनमा छ। जुन क्याफेमा एक सांसद सहित नेकपा निकट विद्यार्थीहरुले आफ्नो दावी गर्दै आएका छन्।
सभामुख तथा त्यस क्षेत्रबाट निर्वाचित अग्नी सापकोटाको प्रत्यक्ष सहयोग र आशिर्वाद पाइ आएका पौडेल दाजुभाईहरुले लकडाउनकै बीचमा पनि तस्करी निर्वाध चलाइरहेको स्रोतले हाम्राकुरालाई बताएको छ।अत्यावश्यक सामग्री भनेर स्याउ र लसुन लगायतका सामान ल्याएको देखाए पनि ति सामानको आडमा सुन तस्करी भइरहेको प्रहरी स्रोतको दावी छ।
सिल्क ट्रान्सपोर्टको शंकास्पद भूमिका
अहिले नेपाल आइरहेको सामान सबै सिल्क ट्रान्सपोर्टले ल्याइरहेको छ। मुसा भन्ने चिनियाँको आधा र बाह्रविसे नगरपालिकाका रमेश शेर्पा सहित केहि नेपालीको आधा लगानी रहेको सो ट्रान्सपोर्टका करिब डेढ सय कन्टेनर छन्। अहिले नेपालमा ल्याइने सबै सामान ढुवानी गर्ने काम सबै यहि कम्पनीको एकलौटी छ। यि डेढ सय कन्टेनरहरु अहिले रातारात नेपालतर्फ सामान ल्याउन प्रहरीकै स्कर्टीङमा लागिपरेका छन्। अत्यावश्यक र आवश्यक सामान ल्याउन छुट सरकारले दिएको अवसरको फाइदा उठाउँदै सूनको तस्करी व्यापक भइरहेको जानकारहरु बताउँछन्। यी सामानहरु तिव्वतमा वा खासामा मात्र सेटीङ भएर आउने नभइ ग्वानजाओबाटै सेटीङ भएर आउने एक स्थानीय व्यवसायीले हाम्राकुरालाई बताए।
यस्तै बेलामा त होनी तस्करी हुने
अत्यावश्यक बस्तुका नाममा तातोपानीबाट सुन समेतको तस्करी भइरहेको दावी गर्ने ति व्यवसायी भन्छन अहिले सुन काठमाडौंसम्म ल्याई स्टक गर्ने र लकडाउन पछि भारततर्फ तस्करी हुन्छ। अहिले पनि केहि न केहि बिरगञ्ज लगायतका नाकाबाट तस्करी भइरहेको उनको दावी छ।
इन्टरपोललले हालै एक सर्कुलर संसारभरका प्रहरी संगठनलाई पठाएको छ। अत्यावश्यक सामग्री डेलिभरी गर्ने नाममा लागूपदार्थको तस्करी भइरहेको र हुनसक्ने भन्दै त्यसतर्फ इन्टरपोलले सचेत गराएको हो। सुरक्षा संयन्त्र उद्धार राहत र उपचारमा लागेको र स्थानीयहरुको पनि ध्यान कम पर्ने भएका कारण यस्तो बेला तस्करी गर्न सजिलो हुने भएपछि नेपालमा पनि तस्करी गर्नेहरु अहिले सल्बलाएका छन्। कोरोनाको प्रभावले संसारभर मन्दी छाउने भएका कारण पनि यसबाट फाइदा उठाएर करोडौं कमाउन खोज्नेहरु अहिले सक्रिय भएका हुन। तातोपानीकै एक व्यापारी भन्छन देशमा अस्थिरता भएका बेला जहिले पनि तस्करी हुने गर्थ्यो कोरोनाको संकटमा पनि छोडेनन् तस्करहरुले।
लकडाउन केहि तस्करका लागि चाँदी कटाई भएको एक स्थानीयले बताए। पछिल्ला केहि दिनका घटनाक्रमका बारेमा बुझ्न सम्पर्क गर्दा तातोपानी भन्सार प्रमुख लाल बहादुर खत्री सम्पर्कमा आउन चाहेनन्। उनले स्थानीय जनप्रतिनिधीहरुको ज्ञापनपत्र समेत बुझ्न नमानेर कार्यालय सहयोगीलाई बुझ्न लगाएका थिए।