arrow

व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन सुरु, पाँच मिनेटमा बैठक समाप्त

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
CA-Bicc-1.JPG.jpeg
काठमाडौँ। व्यवस्थापिका–संसद्को दोस्रो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि सुरु भएको छ। संसद्मा उपस्थित सबै सांसदलाई सभामुख ओनसरी घर्तीले स्वागत गरेकी थिन्। त्यस्तै लोकतन्त्र र प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने सहिदप्रति दुई मिनेट मौनधारणा गरिएको थियो।
 
निर्धारित समय बिहान ११ बजे नै प्रारम्भ भएको बैठकमा राष्ट्रपति कार्यालयबाट संसद्को दोस्रो अधिवेशन आह्वान गरिएको सम्बन्धी पत्र सभामुखले वाचन गरेकी थिन्। त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिमण्डल विस्तारसम्बन्धी पत्र पढेर सुनाइएको थियो। 
व्यवस्थापिका–संसद् कार्यसञ्चालन सम्बन्धी नियमावली निर्माणमा दलबीच सहमति भइनसकेका कारण बैठकमा अन्य कार्यसूची समावेश भएनन्।
 
संसद्को पहिलो अधिवेशनले नेपालको संविधान, २०७२ लाई जारी गरेको थियो। संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा पहिलो अधिवेशनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन निर्वाचनका माध्यमबाट गरेको थियो। पहिलो अधिवेशन गत फागुन ५ गते अन्त्य भएको थियो।
 
संसद्को चालु अधिवेशनले संविधान कार्यान्वयनका लागि आवश्यक सम्पूर्ण ऐनकानुन बनाउने छ। त्यस अतिरिक्त अन्य ४० विधेयक समेत संसद्मा दर्ता रहेका छन्। बजेट अधिवेशनका रुपमा परिचित बर्खे अधिवेशनमा खास गरी आगामी आव ०७३-७४ को सरकारका नीति तथा कार्यक्रम र पूर्वबजेटमाथि सैद्धान्तिक रुपमा प्रारम्भिक छलफल हुनेछ।
 
अधिवेशनका क्रममा आगामी आवको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति मार्फत संसदमा प्रस्तुत गरिने छ। मुलुकको आर्थिक सर्भेक्षण र आगामी आवको आयव्यय (बजेट) को विवरण संविधानमा व्यवस्था भए अनुसार अर्थमन्त्रीले आगामी जेठ १५ गते यसै अधिवेशनमा प्रस्तुत गर्नु हुनेछ।
 
यस अधिवेशनका क्रममा यही वैशाख २२ र २३ गते भूकम्पपछिको पुनःनिर्माण तथा डढेलो लगायत समसामयिक विषय र वैशाख २४ र २५ गते पूर्वबजेटमाथि छलफल हुनेछ। वैशाख २६ गते सरकारको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न दलबीच सहमति भइसकेको संसद् सचिवालयले जनाएको छ।
 
आजको बैठक ५ मिनेट मात्र चलेको थियो। संसद्को अर्को बैठक यही वैशाख २२ गते बिहान ११ बजे बस्नेछ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ