arrow

कोभिड-१९ महामारी र नेपाल टेलिकम

logo
लोकेन्द्र पनेरु,
प्रकाशित २०७७ जेठ ४ आइतबार
lokendra-paneru.gif

नागरिकहरुलाई सेवा प्रवाहका लागि सरकारको लगानी, स्वामित्व र नियन्त्रण रहने गरि गठन भएका बिभिन्न सार्वजनिक संस्थानहरु मध्ये धेरै अहिले ईतिहास भई सकेका छन, वर्तमान कोभिड महामारीले निम्त्याएको बिषम परिस्थितिमा यस्ता संस्थाहरुको महत्व र खांचो जनस्तरमा महसुस गरिन थालिएको छ । अस्ति भरखर मात्रै सरकारले ल्याएको निति तथा कार्यक्रममा पनि यो बिषयलाई जोडदिन खोजिएवाट पनि यो तथ्यलाई थप वल प्रदान गरेको छ । यस्ता थुप्रै संस्थानहरुका बिचमा सस्तो र भरपर्दो दुरसंचार सेवाहरु सर्वसुलभ रुपमा सबैलाई उपलब्ध गराउनुका साथै दुर संचार क्षेत्रमा देशकै अग्रणी सेवाप्रदायकको रुपमा स्थापित रहिरहने परिकल्पना र देशका शहरी क्षेत्रदेखी लिएर अति बिकट ठाउँमा समेत सस्तो र भरपर्दो दुरसंचार सेवाहरु उपलब्ध गराउने लक्ष्यका साथ नेपाल दुरसंचार कम्पनि लिमिटेड २०६० माघ २२ गते तत्कालिन नेपाल दुरसंचार संस्थानवाट रुपान्तरण भई कम्पनी ऐन अनुसार गठन भएको अत्यावश्यकीय सेवा अन्तर्गतको सार्वजनिक संस्था हो । बिपदमा सुचनाको ठुलो महत्व छ, यदि समयमा सुचना पुगाउन सकिए जिवन रक्षा गर्न सकिन्छ संचार बिच्छेद भएमा महामारी झन भयावह वन्न सक्छ, तसर्थ हाल टेलिकमले प्रदान गर्ने अविच्छिन्न एवं तत्काल सेवा प्रवाह बिपद ब्यस्थापनमा अत्यन्त महत्वपुर्ण हुन्छ ।

सय वर्ष भन्दा वढी लामो स्वर्णिम ईतिहास भएको यस संस्थाले राज्यलाई बिभिन्न तवरवाट गरेका योगदानहरु अविस्मरणिय छन, बि.सं.२०७२ शालको महाभुकम्पमा गरेको योगदान सवैका मनमा ताजै छ । नेपाल दुरसंचार प्रधिकरणको २०७६ माघ महिनाको मिस रिपोर्ट अनुसार ५३.७० वजार हिस्सा ओगटेको यस संस्थाले हाल मुलुकभर १६२ भन्दा बढी ग्राहक सेवाकेन्द्र मार्फत करिब २ करोड ३५  लाख वढी सेवाग्राहीहरुलाई प्रत्यक्ष सेवा प्रदान गरिरहेको छ । बिगत बर्षहरुमा लगातार ठुला करदाता कार्यालयवाट सवैभंन्दा वढी आयकर दाखिला गरेवापत सम्मानित यस संस्थाले गत आ.व.२०७५/७६ मा मात्रै राज्यकोषमा रु ३३.३१ अर्व अर्थात कुल सरकारी राजश्वको ४.५८ प्रतिशत र कुल सेवातर्फको गार्हस्थ्य उत्पादनमा २.४८ प्रतिशत योगदान गरेको छ । राष्ट्रको आर्थिक प्रगतिका लागि त्रिशुलि थ्रि-बि र अपर तामाकोशी जस्ता ठुला लगानीका आयोजनाहरुमा लगानि समेत गरिको यस संस्थाले मुलुकमा ब्याप्त डिजिटल डिभाईड न्युनिकरण गरि ईन्क्लुजनको अवधारणालाई साकार पार्न स्याटेलाईट प्रविधिको प्रयोग समेत गरि गसै अवधीमा १६७ भन्दा वढी  बिकट स्थानहरुमा नयाँ बीटीएस जडान गरि सेवा प्रवाह गरिरहेको छ । भुकम्प बाढी लगायत दैवी प्रकोपमा प्रभावित क्षेत्रहरुमा तत्काल संचार सेवा पुरयाई र्उद्धार कार्यमा सहयोग पुरयाउन स्याटेलाईट प्रबिधिको प्रभावकारी प्रयोग गरिरहेको छ, कृषि, स्वास्थ्य, समाचार, मौसम, प्राकृतिक बिपद सम्बन्धी जानकारी ३२१०० मा कल गरि निशुल्क सेवा दिईरहेको छ, वातावरणिय प्रभाव न्युनिकरणका लागि आफना कार्यहरुलाई अटोमोसन गर्ने, सकभर कागज रहित कार्यालय वनाउने, डिजिटल माध्यमवाट भुक्तानी गर्दा बढी छुट प्रदान गरि प्रोत्साहित गर्ने, बाग्मती सरसफाई, हरियाली संरक्षणमा योगदान गर्ने त्यस्तै रोजगारी र अध्ययनका लागि बिदेशमा रहनेहरुलाई उचित वजार रणनिति मार्फत लाभ दिईरहेको छ । महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई निशुल्क सिम वितरण गर्ने, खेलकुद क्षेत्रमा नियमित सहयोग, कम्पनीमा कार्यरत कर्मचारीहरुलाई राष्ट्रकै महत्वपुर्ण सम्पत्तिका रुपमा लिई समय सापेक्ष सिप र तालिम प्रदान गरि सेवानिवृत्त भई समाजमा फर्किदा समेत समाजलाई महत्वपुर्ण योगदान पुर्याउने गरि प्रोत्साहन गर्ने गरि कार्यहरु गरिरहेको छ। 

आज बिश्व दुरसंचार तथा सुचना समाज दिवस बिश्वभरनै मनाईरहदा कोभिड-१९ महामारीका बिच नेपाल टेलिकमको भुमिका महत्वपुर्ण छ । यस दिन बिगत बर्षजस्तो उल्लास भने कहि कतै छैन, किनकी यस महामारीले अन्य क्षेत्रमा जस्तै टेलिकम क्षेत्रलाई पनि आक्रान्त मात्र वनाएको छैन लामै असर रहने गरि प्रभावित वनाइ रहेको छ । टेलिकमलाई हाल चालु सेवाहरु अटुट वनाई राख्ने, डाटा सेवाको जे-कर्भमा वढेको माग सम्बोधन गर्ने, सेवाग्रहिलाई सन्तुष्टी प्राप्तहुने गरि सेवा प्रदान गर्ने, कर्मचारीहरुको स्वास्थ्य सुरक्षा ध्यानमा राखी मर्मत संम्भार लगायतका सेवा प्रदान गर्नु पर्ने तथा राज्यवाट निर्देशित सहुलियत तथा सुविधा उपलब्ध गराउने र बिपदका बिचनै नयां क्षेत्रका रुपमा फस्टाईरहेका ई-कमर्स, ई-मेडिसिन, ई-शिक्षा र ई-पेमेण्ट जस्ता मागहरुलाई संम्वोधन गर्नुपर्ने अनि भविष्यका सफल योजना निर्माण आजको आवश्यकता वनेको छ । बिश्वब्यापि रुपमा फैलिरहेको कोभिड-१९ महामारीका कारण चैत्र ११ देखि अचानक देश पुर्णरुपमा लक डाउनमा जाँदा दुरसंचार सेवा जनजनका लागि अझ बढी अत्यावस्यक बन्न पुगेको छ, सुरुवाती दिनहरुमा आफ्ना आफन्त र प्रियजनहरुको हालखवरका लागिमात्रै प्रयोग बढेपनि पछिल्लो समय यो दैनिक जिवन पद्यतिको अविच्छिन्न साधन बनेको छ । सामाजिक संजालको प्रयोग, मनोरञ्जन, समाचार सुन्नेदेखि लिएर घरवाहिर निस्कन कठिन भए पछि दैनिक अत्यावश्यक औषधि, तरकारी र खाद्यान्न जस्ता बस्तुहरु समेत अनलाईन खरिद गर्न, बच्चाहरु देखी बिद्माबारिधि सम्मको अध्ययन अनुसन्धान, स्वास्थ्य उपचार सेवा, भर्चुअल बैठक, वेविनार, नवप्रवर्तन नव उध्यमशिलता, नयां एप्सहरु निर्माण, एफोर्डेवल स्टोरेज क्लाउड निर्माण जस्ताकार्यका लागि इण्टरनेटको माग आकस्मीक रुपमा अत्यधिक बढ्यो ।

सामान्यतया आठ घण्टाको पिक आवर समय अहिल १८ देखी २० घण्टा सम्म पुगेको छ । यसको ब्यबस्थापन कुनै पुर्व तयारि बिना सेवाप्रदायकले आकस्मिक रपमा गर्नु परिरहेको छ । त्यसैगरि नेटवर्कमा परेको लोडलाई ब्यालेन्स तथा कन्जेशन नियन्त्रण, दुर्गम ग्रामिण हिमाली र पहाडी जिल्लाहरुमा अटुट संचार सेवा पुर्याउन कर्मचारी खटनपटन, स्पेयर पार्टस र ईन्धनको ब्यबस्थापन गर्नुपर्ने चुनौति थपियो । यि कठिनाइका बिचमा पनि तीन करोड नेपाली जनताको नांसो नेपाल टेलिकमले एकातिर गुणस्तरमा सम्झौता गर्न सक्थेन भने अर्कातिर आफना प्रिय सेवाग्राहिहरुलाई राहत दिन बिभिन्न बोनस तथा अफरहरु संचालन गरिनु अनिवार्य थियो जसका लागि टेलिकमले आफना सवै संरचना र श्रोतसाधनको उच्चतम उपयोग वढाएको छ । हाल ग्राहकले कम्पनिको सेवा केन्द्रमा नपुगेरै पनि एस.एम.एस.,टेलिफोन, वेब, आई.भि.आर. तथा मोवाइल एप मार्फत सेवा खरिद, भुक्तानी, प्याकेज छनौट, मर्मत र गुनासो गर्न सक्ने गरि ब्यबस्था मिलाईएको छ । महामारीका बिच सवै सेवा र बस्तुहरुको मुल्य बृद्धि भईरहदा पनि नाफा भन्दा सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिदै यस संस्थाले टयारिफ बढाएन वरु जिरो ब्यालेन्स भएकाहरुलाई निशुल्क सेवा, जरिवाना छुट,भुक्तानि तथा एक्सपायरि समयावधी थप, शतप्रतिशत ब्यालेन्स थप देखी भ्वाईसमा पचास प्रतिशत देखी डाटामा चारसय प्रतिशत वोनस डाटा सुविधा थपहुने गरि बिभिन्न प्याकेजहरु हाल पनि संचालनमै राखेको छ र यो लकडाउन अवधिभर जाने निश्चित छ । लकडाउन पुर्व नै सवैभन्दा सुरुमा कोरोना बिरुद्द जानकारी मुलक कलर रिङ्क ब्याक टोन, सन्देस तथा जानकारी मुलक एस एम एस वल्कमा पठाउने जस्ता कार्यहरु गर्दै आइरहेकोमा महामारी बढदै जादा टोलफ्री सर्भिस *१४१९# डायल गरि संम्भावित कोरोना संक्रमितको पहिचानगरि नियन्त्रणका लागि सर्वेक्षण मार्फत पनि सघाएको छ । राज्यवाट निर्मित राहतकोषमा कर्मचारीहरु समेतको योगदान गरि रु १२ करोड भंन्दा वढी रकम जम्मा गरीसकेको छ ।

सर्वसुलभ ई शिक्षा प्याकेज संचालनमा ल्याएको छ, संसार भरिनै आर्थिक गतिबिधि ठप्पप्राय भई अन्तराष्ट्रिय श्रम वजार खुम्चीनगई रेमीट्यान्समा ठुलो गिरावट आईरहदा नेपाल टेलिकमले अन्तराष्ट्रिय कल मार्फत राजश्व सन्तुलित गर्ने र पूँजीको बिदेश पलायनलाई नियन्त्रणमा मद्यत गरेको छ । त्यसैगरि नियामक निकायहरुको निर्देशन पुर्ण रुपमा पालन गर्दै सरकार लाई निरन्तर राजश्व योगदान गरि संस्थाले राष्ट्रको संम्बृद्धीमा लागिरहेको छ । यस बिपदमा कर्मचारीहरु सेवा बितरण,मर्मत, राजश्व संकलन र आवस्यक सपोर्टमा निरन्तर फिल्डमा खटिएर, ग्राहकसेवा केन्द्रमा रहेर र घरवाटै समेत कुनै बिभेद विना सहरी क्षेत्र र दुर्गम पहाडि तथा हिमालि जिल्लाहरुमा समेत रातदिन खटिइरहेका छन् । कुनै-कुनै यस्ता स्थानहरुमा समेत संचार सेवा जडित छन जहां एकै दिनमा हिडेर सेवा मर्मत संचालन गरि फर्किन असम्भव छ, अनि बिषम समयमा त्रासका कारण गाउँमा बास त के खान पनि पाईदैन, कहि-कहित प्रवेश समेत निषेध छ तथापी त्यस्ता ठाउमा समेत न्युनतम खाध्यान्न र पानि साथमै लगि गाडिमै रात विताई सेवाप्रवाहलाई निरन्तरता दिईएको छ । संस्थामा आवद्ध करिव सवैजसो कर्मचारीहरु आ- आफ्नो गाउँ समुदायमा राहत वितरण लयागत सामाजिक सेवामा समेत निरन्तर खटिरहेका  छन्। हाल नेपालमा आउटसोर्सिङ मार्फत बिभिन्न कम्पनीले काम लगाएका लाखौ दक्ष, अर्धदक्ष र अदक्ष कर्मचारीहरु बेरोजगार भईरहदा नेपाल टेलिकममा यसरि कार्यरत सवै कामदारहरुको नोकरीको ग्यारेण्टी,जिवनरक्षा र सामाजिक सुरक्षामा कंम्पनिले उदाहरणिय भुमिका निर्वाह गरेकोछ  । मानवीय, सामाजिक, आर्थिक र श्रम पक्षिय तथा रिचार्जकार्डको उपलब्धता,सेवाप्रवाह र स्थानिय तह सम्मको समन्वय लगायत सवै महत्वपुर्ण निर्णय र कार्यहरुमा यहांको ब्यबस्थापन र क्रियासिल ट्रेडयुनियनहरु सक्रियताका साथ लागि परेका छन । 
लकडाउनका कारण मे महिना भित्र सक्ने लक्ष्य लिईएको फोर जी आयोजना लगायत महत्वपुर्ण आयोजनाहरु प्रभावित वनेका छन, अमेरीकी डलरको भउमा भएको बृद्धि, बिभिन्न छुट र वोनस लगायत  कारण आम्दानी गिर्दो अवस्थामा छ, यस लकडाउन अवधिको करिव ५० दिनमा मात्रै संस्थाले ६७ करोड बढीको छुट उपलव्ध गराएको छ भने परिस्थिति लम्वीदै जादा दैनिक ३ करोडका दरले आम्दानी घटने आकलन गरिएको छ । बिपदका वेला दुरसंचार प्रणलि आफैमा दवावमा रहि रहन्छ  विलिङ,स्विचिङ,नेटवर्क ट्राफिक कन्जेशनमा जान सक्ने चिन्ता र दवाव छ, यद्मपी संस्थाले सेवाहरुको ईमर्जेन्सी रेस्पोन्स, रेष्टोरेसन, रिपेयर पुर्वाधार पुनः निर्माण,रि- डीजाइन,बहुक्षेत्र बिबिधीकरण, लोकलाईजेशन र स्याटेलाईट सर्भीस जस्ता बिषयहरु अगाडि वढाईसकेको छ । घरभाडा,बिद्मूत,खानेपानी महशुल,कर लगायत आफना साझेदारहरुलाई  भुक्तानी गर्नुपर्ने दायीत्व यस अवधिमा पनि निरन्तर निर्वाह गरिरहेको छ, यद्मपी ग्राहकहरुको चाहना भने अझै वढी पाईन्छ । छिट्टै कोभीड-१९ महामारी अन्त्य हुनेछ बिश्व समुदायले हरेक बिषयहरु लाई कोभिड-१९ पुर्व र पोष्ट कोभिड भनि स्पष्ट परिभाषित गर्ने छन । पोष्ट कोभिडमा आम नागरिक र सेवाग्राहिहरुको आनीवानी र कामगर्ने तौर-तरिका एवं चाहनामा परिवर्तन आउने निश्चित छ, यसै तथ्य लाई मध्यनजर गरि नेपाल टेलिकमले पनि सेवाहरुको मुल्य,गुणस्तर,उपलब्धता मात्र नभइ नवप्रवर्तनमा आधारित सेवाहरु प्रदानगर्ने, ईण्टरनेट अफ थिङ्कस  (आईओटी), भ्यालुएडेड सर्भिसहरु मोवाईल मनि, आई.पि.टिभि., भिडियो अन डिमाण्ड सेवा प्रदान गर्ने मसिन टु मसिन (एमटुएम) अन्तर्गतका बिभिन्न ब्यबसायिक क्षेत्रहरु पहिचान गरि बिध्युत, खानेपानीका मिटर रिडिङ,यातायात क्षेत्रका जि.पि.एस. ट्रयाकिङ, बैङ्कहरुको POS सर्भिस लाई बढावा दिने साथै आई.टि.यु.को मापदण्ड अनुसार आफुलाई माथी उकास्दै बिश्वब्यापि रुपमा प्रतिस्पर्धि सेवाहरु दिनुपर्ने  देखिन्छ ।  राज्यका निति निर्माताहरुले दुरसंचार निति निर्माणमा थट प्रोशेस लाई रिकन्सीडर र रिभिजिट गर्नु पर्ने देखिन्छ । सेवा प्रदायक, सरकार, नियामक निकाय र नागरिका विच थप सहकार्य र समन्वय जरुरी छ । सर्वाधिक धेरै सेवा र सेवाग्राहिहरु रहेको यस संस्थाले नाफा बृद्धिमा मात्र नभई सामाजिक उत्तरदायित्व वहन गर्दै बिपद ब्यबस्थापनमा सारथी भई सुनौलो भविष्यका लागि समयानुकुल र नविनतम प्रबिधिहरु भित्रयाउदै ब्रोडब्याण्ड ईण्टरनेट,भ्वाईस सेवाहरु र अन्य पुरक सेवाहरु प्रदान गरि “ग्राहक सेवामा समर्पित” र “राष्ट्रनिर्माण हाम्रो लक्ष्य” लाइ साकार पारी यथार्थमा “राष्ट्रको संचार” बन्न सफल भई आम नेपालि नागरिकहरुको दृढ रोजाईमा परीरहोस हार्दिक शुभकामना । (लेखक एनटीसीडब्लूयूका उपमहासचिव हुनुहुन्छ)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ