लकडाउनको समय प्रजातन्त्र सेनानीको निधन, देउवा दुखी
प्रकाशित २०७७ जेठ ६ मंगलबार
271
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्र सेनानी रुद्रप्रसाद ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले मंगलबार शोक विज्ञप्ति जारी गरी सोमबार बिहान काठमाडौँको कुलेश्वरमा निधन भएका कांग्रेस रामेछापका पूर्वमहासमिति सदस्य ८२ वर्षीय ढुङ्गेलको निधनप्रति दुःख व्यक्त गरेका हुन्।
“प्रजातन्त्र सेनानी एवं रामेछापका नेता ढुङ्गेलको निधनले मलाई अत्यन्त दुःखित् बनाएको छ, स्व ढुङ्गेलले कांग्रेसको सङ्गठन र नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्वाह गर्नुभएको सक्रिय भूमिकाको स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु”, देउवाले विज्ञप्तिमा भनेका छन् ।
रामेछापको खाडादेवी गाउँपालिकामा जन्मनुभएका ढुङ्गेल मुटुसम्बन्धी रोगबाट ग्रसित थिए । स्व ढुङ्गेल कांग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी सङ्घको पूर्वकेन्द्रीय सदस्यसमेत थिए । नेपालको प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका ढुङ्गेलको निधनबाट पार्टीले एक अग्रज व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको कांग्रेसले जनाएको छ ।
विस २०१७ मा प्रजातन्त्र अपदस्त गरिएपछि विस २०१८ को सङ्घर्षका क्रममा तत्कालीन पञ्चायती व्यवस्थाको विरोध गर्दै प्रजातन्त्र बहालीका लागि रामेछापको बडाहाकिम कार्यालयमा भएको बम प्रहारको घटनामा स्व ढुङ्गेल सङ्लग्न भएका थिए । स्व ढुङ्गेलले पटक–पटक गरी करिब आठ वर्ष जेल र सात वर्ष भारत प्रवासमा जीवन बिताएका थिए ।