प्रदेश ५का सामाजिक विकास मन्त्री बरालले जिउँदै मानिसलाई मरेको भनेर प्रचार गरेपछि
अस्पताल भन्छः उपचाररत व्यक्तिको मृत्युको सुचना दिने अस्पताल प्रशासन कि नेता ?
नारायण वली,
प्रकाशित २०७७ जेठ ७ बुधबार
951
Shares
रुपन्देही । जेठ २ गतेदेखि रुपन्देहीको क्रिमसन अस्पतालको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको गुल्मीका एक प्रधानाध्यापकको मृत्युको सूचना दिन प्रदेश ५ का सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुर्दशन वराल र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले गैरजिम्मेवारी देखाएका छन्।
गुल्मीका ति व्यक्तिको मंगलवारबाटै सामाजिक सञ्जालमा र बुधवार विभिन्न अनलाईन पत्रपत्रिका र सामाजिक सञ्जालमा मन्त्री बराल र मेयर घिमिरेको हवाला दिएर समाचार स्टाटसहरु आएको थियो । उपचाररत व्यक्तिको अस्पतालले मृत्युको घोषणा नगरिकनै उनीहरुले मिडियालाई सूचना दिएपछि अहिले ति व्यक्तिको परिवार सहित अन्य स्थानियले गैरजिम्मेवार मन्त्री र नेतासँगै समाचार दिने मिडियाको पनि चर्को आलोचना गरिरहेका छन्।
अस्पताल प्रशासन कार्यालयका अनुसार स्वास्थ्यकर्मीहरुको विशेष निगरानीमा उपचार कार्य जारी भएका वेला कोरोना भाईरस संक्रमण पुष्टि भएका गुल्मीका प्रधानाध्यापकको स्वास्थ्य अवस्था स्थिर रहेको दावी गरेको छ। अस्पताल प्रशाससनले समय उल्लेख गरेर दिउँसो १२ वजे वक्तव्य समेत निकालेको थियो। प्रदेश नं.५ का सामाजिक विकास मन्त्री सुर्दशन वरालले जिवित व्यक्तिलाई मरेको भनि काठमाडौंबाट प्रकाशित हुने विभिन्न पत्रत्रिका एवं अनलाईन र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले केहि टेलिभिजनलाई जानकारी गराएका थिए। कतिपयले अस्पतालका सञ्चालक दुर्गा पाण्डेलाई समेत उदृत गर्दै समाचार सार्वजनिक गरेका थिए।
अफवाह व्यापक भएपछि क्रिमसन अस्पताल प्रशासनले बुधवार मध्यान्न १२ वजे एक प्रेस विज्ञप्ती निकालेर सामाजिक सञ्जाल र केही मिडियाहरुमा निज कोरोना संक्रमित गुल्मीको मदाने गाउँपालिका वडा नं.६ निवासी ४१ वर्षीय पुरुषको निधन भएको भन्ने गतल, भ्रामक, अतिरंजीत समाचार सम्प्रेषण भई सम्पूर्ण जनसमुदायमा त्यसको अनाश्वश्यक त्रासको वातावरण सृजना भएकाले यस सम्वन्धमा गलत समाचारको विश्वास नगर्न आह्वान गरेको छ।
अहिले अस्पतालले विज्ञप्ती जारी गरेपछि यसका वारेमा विभिन्न टिकाटिप्पणी हुन थालेको छ। यसरी जिवित मान्छेलाई प्रदेश–५ का सामाजिक विकास मन्त्री सुर्दशन वराल, तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरे, अस्पताल सञ्चालकले किन र कसरी मृत्यु भएको भनि पुष्टि गरे भन्नेबारे उचित छानविन हुनुपर्ने माग पनि हुन थालेको छ। यो समाचारले पत्रकारहरुको हतारोको नकारात्मक टिप्पणी भएको छ।
व्यक्तिको मृत्युको अफवाह फैलाउने सामाजिक विकास मन्त्री, अनावश्यक खबरलाई पुष्टि गर्ने तिलोत्तमा नगरप्रमुख, र गलत सुचना दिने क्रिमसन अस्पतालका सञ्चालक माथि कार्वाहीको माग समेत जनस्तरबाट उठ्न थालेको छ।