काठमाडौं। लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको भूभाग समेटेर अद्यावधिक गरिएको (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक गरेर वर्तमान सरकारले स्वाधिनताको पक्षमा ऐतिहासिक कदम चालेको छ। अध्यावधिक नक्सा सार्वजनिक भएसँगै राष्ट्रको सार्वभौमसत्ता र अखण्डता अक्षुण राख्न देशको सिमानाको स्पष्ट अभिलेख प्राप्त हुने नेपाल र नपालीका लागि महत्वपूर्ण उपलब्धि बन्न पुगेको छ।
अध्यावधिक नक्सा सार्वजनिक गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको तेस्रो दिन आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सिंहदरबारमा उक्त नक्सा सार्वजनिक गर्नुभएको हो । यही जेठ ५ गते मन्त्रिपरिषद्ले उक्त नक्सा स्वीकृत गरेको थियो ।
सीमाका विषयमा सिङ्गो राष्ट्र एक ढिक्का भएको ऐतिहासिक घडीमा दृढ सङ्कल्प र आत्मविश्वासका साथ सङ्कलन गरिएको यथेष्ट प्रमाणका आधारमा अद्यावधिक नक्सा सार्वजनिक गरिएको हो। विगतमा नेपालको नक्सामा छुटेको गुन्जी, नाभी, कुटीलगायतका भूभाग समेटी कालीनदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक, राजनीतिक, प्रशासनिक नक्सा सार्वजनिक गरिएको हो।
नयाँ नक्सा सार्वजनिक भएसँगै नेपाल सरकार आफ्नो राष्ट्रियता र सम्प्रभुताको रक्षा गर्न प्रतिबद्ध रहेको पुनः प्रमाणित भएको छ। नेपाल सरकारको आर्थिक वर्ष २०७७-०७८ को वार्षिक नीति तथा कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट जेठ २ गते संसद्बाट घोषणा गरिएबमोजिम नयाँ संस्करण सार्वजनिक गरिएको हो। नक्सा सार्वजनिक गर्दै मन्त्री अर्यालले नक्सा सार्वजनिक गर्न पाएकोमा खुशी व्यक्त गर्दै गौरवशाली इतिहास निर्माण गर्न आमनेपाली जनताले देखाएको चासो र दिएको साथप्रति आभार प्रकट गरे। नेपाली जनताको मर्म र भावनाको जगमा उभिएर उपलब्ध प्रमाण र ऐतिहासिक तथ्यले देखाएको सत्यको पथमा समर्पण भावनाका साथ अघि बढ्ने प्रेरणा मिलेकोसमेत उनले स्मरण गरे।
उनले भने, “नेपालको अद्यावधिक नक्सा सार्वजनिक गर्ने यो अवसरमा सिङ्गो नेपाल र नेपालीका लागि ऐतिहासिक सुखद् क्षण हो, सुनौलो अवसर यो युगको सर्वाधिक स्मरणीय क्षणका रुपमा मैले लिएको छु।” नेपालमा मात्र होइन सिङ्गो विश्व मानचित्रमा नेपालको मानचित्र बदलिएको र यसले नेपालीको मन पनि बदलिएको भन्दै जनताको मनोबललाई अझ उच्च बनाएको मन्त्री अर्यालले उल्लेख गरे। “पूर्वजले बलिदानी गरेको इतिहासलाई कदापी बिर्सन सक्दैनौँ, पूर्वजहरुले रचिदिएको भौगोलिक इतिहासका कारण आज हामी नेपाली भन्न पाएका छौँ, नेपाली हुनुमा हामी गौरव गर्दछौँ”, उनले थपे। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रियताको पक्षमा नेपाल र नेपालीको शीर झुक्न नदिएको जिकिर गर्दै उनले अहिलेको सरकार ‘सुखी नेपाली, समृद्ध नेपाल’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दिशामा राष्ट्र, राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्न दृढ सङ्कल्पित छ, भने।
सन् १८१६ मार्च ४ मा तत्कालीन इष्ट–इण्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिअनुसार कालीनदी र सोभन्दा पूर्वको भूभाग नेपाल राज्यको अभिन्न अङ्ग हो। सन् १९६२ मा भारत र चीन युद्ध हँदा भारतले आफ्नो रक्षाका लागि सुरक्षा फौज कालापानीलगायत नेपालको भूमिमा ल्याएको थियो। त्यसबेला १७ स्थानमा सुरक्षा फौज रहेकोमा पछि १५ स्थानमा हटाइएको भए पनि कालापानी क्षेत्रको दुई स्थानमा अझै बसिरहेको छ। यहाँ झण्डै ३८५ वर्गकिलोमिटर भूमि मिचिएको सीमाविद्ले बताउँदै आएका छन्।
लिम्पियाधुराबाट आउने कालीनदी सिमाना भए पनि लिपुलेकबाट कालापानी हुँदै आउने सानो खोलालाई काली दाबी गरेर भारतले नेपालको उक्त भूभाग अतिक्रमण गर्दै आएको छ। यसअघि प्रचलित नेपालको नक्सामा कालीनदी पूर्वका गुन्जी, नाभी, कुटीलगायतका केही भूभाग समेटिएको थिएन। उक्त सार्वजनिक नक्सामा ती भूभागसमेत देशको सिमानाभित्र पर्ने गरी तथा कालीनदीको उद्गमस्थल लिम्पियाधुरासम्म नै नक्सामा समावेश छ। नेपालको अद्यावधिक प्रशासनिक नक्सा तयार गरी प्रकाशन गर्न र प्रचलनमा ल्याउन नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ ५ गतेको बैठकले स्वीकृत गरेको थियो।
जग्गा नापजाँच नियमावलीबमोजिम गठित समितिको विसं २०७६ फागुन १३ को बैठकले उक्त भूभाग समेटी नक्सा प्रकाशन गर्न सिफारिस गरेको थियो । यस विषयमा सङ्घीय संसद्को विभिन्न समितिका बैठकले निर्देशनसमेत दिएको थियो । उक्त अद्यावधिक नक्सा प्रकाशनको लागि परराष्ट्र मन्त्रालयबाट यही जेठ ४ गते सहमति प्राप्त भएको थियो ।
भारतले सकारात्मक रुपमा लिने आशा
मन्त्री अर्यालले छिमेकी मित्रराष्ट्र भारत सरकारसँग द्विपक्षीय वार्ता र कूटनीतिक प्रयासमार्फत समस्याको समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेकोसमेत बताएकी छिन्। यसलाई मित्रराष्ट्रले सकारात्मकरुपमा लिनेछ भन्ने विश्वास लिएको मन्त्री अर्यालले बताइन्। उनका अनुसार अब उप्रान्त नेपालको नक्सा प्रयोग भएका सबै सरकारी दस्तावेज एवं पाठ्यपुस्तकमा नयाँ संस्करणबमोजिमका नक्सा प्रयोग गरिनेछ। सोहीअनुसार प्रयोग गर्नसमेत उनले आमसमुदायसँग अपिल गरिन्।
मन्त्री अर्यालले कोभिड–१९ को महामारीबाट जोगिन र त्यसविरुद्ध लड्न सामूहिक प्रयासको खाँचो रहेकोसमेत औँल्याइन्। नापी विभागका महानिर्देशक प्रकाश जोशीले अध्यावधिक नक्सामा ७५३ वटै स्थानीय तह र नेपालको अन्तर्राष्ट्रिय सिमाना समेटिएको जानकारी दिए।