सीमा अतिक्रमणविरुद्ध एक हुन प्राध्यापक र बौद्धिक वर्गको आह्वान
प्रकाशित २०७७ जेठ ८ बिहिबार
432
Shares
काठमाडौं । भारतद्वारा गरिएको सीमा अतिक्रमणसँगै विभिन्न पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन काठमाडौँमा रहेका प्राध्यापक र बौद्धिक वर्गले आह्वान गरेको छन् ।
सुदूरपश्चिम घर भइ काठमाडाँैमा विभिन्न क्षेत्रमा संलग्न ३९ व्यक्तिले बिहिबार जारी गरेको विज्ञप्तिमा सन् २०१५ मा भारत र चीनबीच नेपाली भूमि लिपुलेक नाकाबाट सीमा व्यापार, धार्मिकयात्रा तथा अन्य सीमा सहयोग बढाउनका लागि भएको सम्झौता खारेजीसँगै कालापानी क्षेत्रबाट भारतीय सुरक्षाकर्मी फिर्ता गर्न माग गरिएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा जयराज अवस्थीले जानकारी दिए ।
विज्ञप्तिमा उनहरूले वर्षौँदेखि भारतद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक, कालापानीसहित नेपालको नक्सा सार्वजनिक गरेकामा उक्त कदमको स्वागत गर्दै समाजले ऐतिहासिक तथ्य र सामग्रीका बाबजुद नेपालको सहमतिबिना चीन र भारतबीच कुनै पनि प्रकारको सन्धि, सम्झौता र सहमति हुनु अन्तर्राष्ट्रिय कानून तथा अभ्यासविपरीतको कदम भएको जनाएका छन् ।
सरकारले कुनै पनि परिस्थितिबाट प्रभावित नभइ सीमा अतिक्रमणको विषयलाई सम्मानजनकरूपमा द्विपक्षीय, बहुपक्षीय वा अन्य आवश्यक कूटनीतिक माध्यमबाट समस्याको समाधान पहिल्याउन सफल हुने विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा चीन र भारतबीच सम्पन्न सन् २०१५ को सम्झौता खारेजी र अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक, कालापानी क्षेत्रबाट भारतीय सीमा सुरक्षा बल यथाशीघ्र हट्ने वातावरण निर्माण गर्नसमेत माग गरिएको छ ।