गणेश खनाल, रुकुम । लामो समयसम्म जिल्लामा रहेका चारवटा तामाखानीहरुको उत्खनन नहुँदा लोप हुने अबस्थामा छन । परम्परागत उत्खनन रोकेको उन्नाई बर्षसम्म पनि सरकारले जिल्लाको उत्तरी क्षेत्रमा रहेका चारवटा तामाखानीहरुको उत्खनन कार्य सुरु गरेको छैन । जिल्लाको मोराबाङ – ९ स्थित झुम्लाबाङ,काँडा – ६ स्थित सेराबाङ, रुकुमकोट –७ को काल्चेखानी तथा कोल –१ विरगुममा रहेका तामाखानीहरु उत्खनन नहुँदा लोप हुन लागेको स्थानियहरुको भनाई छ । परम्परागत रुपमा गरिदै आएको उत्खनन कार्य ५३ सालदेखि रोकिएको थियो । सरकारी बेवास्ताका कारण खानी उत्खनन नहुँदा स्थानियहरुले बाहिरबाट आएको तामा प्रयोग गर्दै आईरहेका छन ।
झुम्लाबाङका भिमे बुढाका अनुसार लामो समयदेखि कोल,राङ्सी,महत,मोराबाङ,काक्रीलगायतका एकदर्जनबढि गाविसहरुमा परम्परागत तरिकाले खानी उत्खनन गर्दा स्थानियहरुले त्यहीको तामा प्रयोग गर्दै आईरहेका थिए । उनका अनुसार खानी बन्द भएपछि स्थानियहरुले बाहिरबाट तामा ल्याउनुपर्ने र व्यावसायीहरु पलायन हुने बाध्यता भएको छ । ‘खानी संचालन होउन्जेल तामाका भाडाकुडा बाहिर निर्यात हुन्थे ।’ स्थानिय खलबहादुर बिकले भने ‘खानी बन्द भएकोले दलितहरुलाई रोजिरोटीको समस्या भएपछि गाउँका आधाभन्दा बढि दलितहरु मजदुरीका लागि भारत जाने गरेका छन ।’ उनले खानी उत्खनन कार्य जारी राखे जिल्लामा बाहिरबाट तामा ल्याउन नपर्ने बताए । त्यस्तै काँडाको सेराबाङमा रहेको तामाखानी बन्द भएको उन्नाई बर्ष भैसकेको स्थानिय पदम बुढाले बताए । ‘खानी उत्खननकार्य सुरु गर्न माग गर्दै पटक पटक जिल्लाका सरकारी कार्यालयहरु र काठमाडौस्थित पुरातत्व बिभागमा पनि पुगियो ।’ उनले भने ‘हाम्रो मागको सुनुवाई नभएपछि खानी अलपत्र परेको छ ।’
पचाससालअघि सेराबाङको खानबाटै तामा निकाल्ने र वरपरका सातवटा गाविसका स्थानियहरुले तामाका मात्र भाडाकुडाहरु प्रयोग गर्ने गरेको बुढाको भनाई छ । स्थानिय कमल बुढाले खानी फेरी संचालनमा आए गाउँलेहरुले रोजगारी पाउने र तामाको मुल्य पनि सस्तो हुने बताए । बुढाका अनुसार खानीमाथीबाट बर्षेनी पहिरो आउने गरेकाले खानी पुरिदै गईरहेको छ ।
रुकुमका स्थानिय विकास अधिकारी भरतकुमार शर्माले तामाखानीहरु संचालनमा आए जिल्लाबाट तामा निर्यात हुने बताए । ‘जिविसबाट उत्खननबारे कुनै कार्य नहुने भएकाले पुरातत्व बिभागमा यसबारे जानकारी गराएका छौँ ।’ स्थानिय विकास अधिकारीले भने ‘उत्खनन कार्य सुरु गरेमा स्थानियहरुलाई रोजगारीको सहजता हुने र जिल्लाको आम्दानी बढ्ने थियो ।’ जिल्ला विकास समितिले खानीहरुबारे अध्ययन तथा अनुसन्धान गर्न पुरातत्व बिभागलाई अनुरोध गरेको उनीको भनाई छ । उत्खनन नभएपछि जिल्लाको सिस्ने हिमालको छेउछाउमा रहेका तिनवटा सिसा खानीहरु पनि बेकामे छन । जिल्लामा रहेका खानी सहि सदुपयोग भएमा अन्य मुलुसंग गुहार गर्नुपर्ने थिएन ।